सिरहा प्रहरीले आफ्नै दुई वर्षीय भतिजलाई अपहरण गर्ने काकालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा सिरहा नगरपालिका वडा नं. १ डुम्बाखाताका कुलदिप यादव र वडा नं. १५ सुखचैनाका २३ वर्षीय भरोसी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।
गत माघ २० गते सिरहाको सिरहा नगरपालिका वडा नं. १ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपत्ता भएका थिए।
बालक घरबाटै बेपत्ता भएको सूचना प्रहरीमा दिएपछि नेपाल प्रहरीले इन्डियन काउन्टर पार्ट्ससँगको समन्वयमा भारतको खाजेडिह भन्ने स्थानबाट माघ २२ गते उद्दार गरेको थियो।
अनुसन्धानको क्रममा उक्त अपहरणमा बालककै काका संलग्नता देखिएको र उनकै योजना अनुसार भरोसी यादवले बच्चा उठाई भारतको पचहर भन्ने स्थानमा लगि राखेका थिए।
प्रहरीले दुवै जनालाई पक्राउ गरी आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।