जिल्ला प्रहरी कार्यालय, मोरङले मृतक प्रविण बास्तोलाको मृत्यु प्रकरण सम्बन्धी छानविनको निष्कर्ष पेश गरेको छ। प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईको संयोजकत्वमा गठन भएको तीन सदस्यीय छानविन समितिले आइतबार अनुसन्धानको निष्कर्ष सार्वजनिक गरेको हो।
छानविन समितिले मिसिलमा अर्कै व्यक्तिको फोटो किर्ते गरी बदनियतपूर्वक राखेको नदेखिएको जनाएको छ।
अनुसन्धानका लागि गत साउन ३ गते करेन्ट लागेर ज्यान गुमाएका उर्लाबारी नगरपालिका-७ का २६ वर्षीय नविनराज घिमिरे गहतराजको फोटो प्रहरी जवान योगिन सार्कीले फागुन ९ गते प्रिन्ट गरी राखेको समितिले जानकारी दिएको छ। यद्यपी त्यो बदनियतपूर्वक नभएको डिएसपी मानबहादुर राईले बताए।
'आरोप लगाएजस्तो नदेखिएको भनेर हामीले संक्षिप्त रूपमा विवरणहरू सार्वजनिक गरेका छौं। त्यसमा केही सुझाव पनि दिएका हौं,' डिएसपी राईले भने, 'सामान्य प्राविधिक समस्याहरू देखिएको छ।'
त्यस्तै बास्तोलाले लगाएको कपडाको इसिजी गर्दा गोदावरी अस्पतालका कर्मचारीले नै माथि छातीतर्फ सारेको समितिले बताएको छ।
'मृतक बास्तोलाले लगाएको कपडा इसिजी गर्दा गोदावरी अस्पतालका कर्मचारीले नै माथि छातीतर्फ सारेको हो, च्यातिएको अवस्था देखिँदैन। सो कुरा मृतकको वास्तविक फोटो, लास जाँच मुचुल्का तथा गोदावरी अस्पतालको आकस्मिक कक्षमा हेल्थ असिस्टेन्ट ध्रुवप्रसाद चौहानको कागजबाट समेत प्रष्ट छ,' समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
'जाहेरवाला पक्षसँग प्रभावकारी एवम् नियमित समन्वय र सम्पर्क गर्ने कार्यमा कमजोरी देखिएकोमा विभागीय कारबाही अनुसार सचेत गराइ जवाफदेही बनाउनुपर्ने देखिन्छ,' विज्ञप्तीमा उल्लेख छ।
उर्लाबारी नगरपालिका-५ बस्ने ३२ वर्षीय प्रविण बास्तोलाको गत पुस ५ गते रमेश गिरीको कोठामा हत्या भएको थियो। पीडितपक्षले कर्तव्य ज्यान कसुरमा अनुसन्धानको क्रममा मिसिलमा बनावटी फोटो राखी बदनियतपूर्वक अनुसन्धान गरेको तथा मृतकको कपडासमेत च्यातिएको कुरा मुचुल्कामा उल्लेख नगरेको भन्दै आरोप लगाएका थिए। त्यसै गुनासोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
पीडित पक्षसँग अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरूले पारदर्शीरूपमा र नियमित रूपमा मैत्रीपूर्ण व्यवहार गरी आवश्यक समन्वय, सम्पर्क, सहकार्य तथा परामर्श गर्नुपर्ने देखिएको समितिले जनाएको छ।
त्यस्तै, लास जाँच मुचुल्का तथा पोष्टमार्टम प्रतिवेदनमा मृतकको बाहिरी शारीरिक अवस्था र चोटपटक-घाउखत, शरीरमा लगाएका कपडाको अवस्था सम्बन्धमा सम्बन्धित अधिकारीहरूसँग समन्वय गरी विवरण समान अवस्थाको बनाउनुपर्ने भनिएको छ। साथै, अविलम्व पोष्टमार्टम गरी तुरुन्त भिसेरा परीक्षणका लागि पठाई प्रतिवेदन प्राप्त गर्न सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने जनाएको छ।
अभद्र व्यवहारमा अनुसन्धान भइरहेका प्रतिवादीहरूको अनुसन्धान प्रतिवेदन सम्पन्न गरेपछि मात्रै कर्तव्य ज्यान कसुरमा पक्राउ अनुमति लिई पर्याप्त रणनीति लिनुपर्ने भनिएको छ। त्यसका लागि न्यायाधिवक्तासँग समन्वय गर्न सुझाव दिइएको छ।
मिसिल तयार पार्दा लेखन तथा अनुसन्धानमा खटिएका अनुसन्धानका सहयोगी कर्मचारीहरूले पंजिका बनाउँदा गम्भीरतापूर्वक हेरी अधिकृतबाट नियमित रूजु तथा प्रमाणित गराउन भनिएको छ। लासजाँच प्रकृति मुचुल्का गर्दा सबै प्रकृतिका घटनास्थल तथा लासको पर्याप्त फोटो अनिवार्य लिनुपर्ने समितिले जनाएको छ।
यस घटनामा संलग्न रतुवामाई नगरपालिका-१० का २९ वर्षीय मेहरमान दर्जीलाई फागुन ११ गते उर्लाबारीबाट पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको कार्यालयले जनाएको छ।
उर्लाबारी नगरपालिका-९ का ३४ वर्षीय कुमार राईलाई पनि फागुन ११ गते पक्राउ गरेको थियो। उनी तीन लाख धरौटी बुझाएर छुटेका थिए।
उर्लाबारी-६ का ६० वर्षीय रमेश गिरीलाई फागुन १७ गते पक्राउ गरेको र एक लाख धरौटी बुझाएर छुटेको कार्यालयले जनाएको छ। १९ वर्षीय सुदीप परियारलाई फागुन १८ गते पक्राउ गरेको र पुर्पक्षका लागि कारागार चलान भएका छन्।
त्यसैगरी ३२ वर्षीय राजेश रणपहेलीलाई फागुन २० गते पक्राउ गरी प्रहरीले जिल्ला अदालतमा पेस गर्ने तयारी थालेको छ। झापाका ३१ वर्षीय दिपेश पौडेललाई पनि प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।