भक्तपुर नगरपालिकाले बिस्का: (बिस्केट जात्रा) सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने भएको छ। नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको हो।.
भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले विगतका दिनदेखि नै भक्तपुरले बिस्का जात्रासँग सम्बन्धित दाफा, भजन, गुठी लगायत सरोकारवालासँग नियमित छलफल गरी निर्णय गर्दै आएको बताउँदै भने, 'यस वर्ष पनि जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्नेछौं।'
छिमेकी देश भारतमा कोरोनाको नयाँ प्रजातिले महामारीको रूप लिएको र केही स्थानमा कर्फ्यू समेत लगाइसकेको अवस्थामा नेपाल-भारतबीचको खुला सीमाका कारण संक्रमण जोखिम रहेकाले सबै सचेत रहनुपर्ने चर्चा भयो। जसकारण कोरोना जोखिमलाई ध्यानमा राखेर आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सभ्य र शान्तिपूर्ण तरिकाले जात्रा सञ्चालन गर्ने निर्णय भएको छ।
सोमबार जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जात्रा रोक्ने निर्णय गरेको थियो। उनले पनि जनभावना अनुरुप नगरपालिकाले निर्णय गरेकामा आफू सकारात्मक रहेको बताए।
बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख अनन्तप्रसाद कर्माचार्य र जात्रासँग सम्बन्धित सरोकारवालाहरूको पनि सहभागिता थियो।
बैठकले जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ.एम र सामाजिक सञ्जालमार्फत गर्ने र अनुशासित र मर्यादित रूपमा स्वास्थ्य मापदण्ड पालना गरी सम्पन्न गर्न माइकिङ गरी सबैसँग आग्रह गर्ने पनि निर्णय गरेको छ।