प्रहरीले कञ्चनपुरबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-८ का ३० वर्षीय हरिकृष्ण राना र भीमदत्त नगरपालिका-४ सुन्दरा टोलस्थित बाह्रसिंगा होटल एण्ड लजका सञ्चालक भुवन साहू छन्।
पैदल हिँड्दै गरेका रानालाई १३.०३ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।
रानालाई लागुऔषध नियन्त्रण ऐनअनुसार हिरासतमा राखेर अनुसन्धान थालिएको उनले बताए।
यसैगरी, कञ्चनपुर भीमदत्त नगरपालिका-४ सुन्दरा टोलस्थित बाह्रसिंगा होटल एण्ड लजमा लागुऔषधको कारोबार गरिरहेका लज सञ्चालक भुवन साहूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनको साथबाट १.४२ ग्राम ब्राउनसुगर बरामद भएको एसपी चतुर्वेदीले बताए। कञ्चनपुरमा गएपछि एसपी चतुर्वेदीले लागुऔषध नियन्त्रणमा आक्रामक कारबाही गरिरहेका छन्।