श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सात वर्षपछि एक महिलालाई पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाले मंगलबार दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० भट्टे घर भई घोराही उपमहानगरपालिका वडा नम्बर १६ बस्दै आएकी ५० वर्षीया दिलकुमारी सेनलाई पक्राउ गरेको हो।
उनीमाथि आफ्ना श्रीमान द्रोणबहादुर सेनको हत्यामा संलग्न रहेको आरोप छ।
२०७१ चैत ९ गते बिहान ६ बजे काठमाडौं महानगर-१० धोवीखोलास्थित सिम्रिक पुलमुनि उनको शव फेला परेको थियो। महाशाखाका अनुसार उनको टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको थियो।
सेनको टाउकोमा इँट्टाले प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले रामेछाप गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ काफ्ले टोलका ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको थियो।
उनलाई गत फागुन ५ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो। अदालतले उनलाई पुर्पक्षको लागि थुनामा पठाएको छ। तर मृतककी श्रीमती फरार थिइन्।
विशेष सूचनाको आधारमा महाशाखाबाट खटिएको टोलीले उनलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।
उनका अनुसार पक्राउ परेका भिमे र दिलकुमारीबीच अवैध सम्बन्ध थियो।
'उनीहरूबीच अवैध सम्बन्धका कारण हत्या भएको देखिन्छ। एक जना प्रतिवादी पक्राउ परी अदालतमा पेश भएपछि मृतककी श्रीमतीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको हो,' पंगेनीले भने, 'उनलाई हामीले समाएर बानेश्वर पठाएका छौं।'
थप अनुसन्धानको लागि उनलाई महाशाखाले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाएको छ।