ऐतिहासिक सम्पदाले परिपूर्ण परम्परागत शैलीमा निर्माण भएको मध्यपुरथिमिको दुई पोखरी अर्थात् निगु पुखुः बत्तीको झिलीमिली चम्किएको थियो। साँझ ढल्दै जाँदा दुई पोखरीको चौघेराभित्र चम्किएका बत्तीले थप आकर्षक बनाइरहेको थियो ।
पोखरीको पूर्वपट्टिको आली अर्थात् डिलमा बनेका मञ्चमा तबला, हारमुनियम, तानपुरा, इशराज, पखवाजलगायतका बाजा गुञ्जिरहेको थियो। चम्किएको बत्तीले दुई पोखरीभित्र मध्यपुरथिमिमै पहिलोपटक आयोजना गरिएको खुला सन्ध्याकालीन शास्त्रीय तथा भक्ति सङ्गीत कार्यक्रमले लाग्थ्यो सिङ्गो मध्यपुरथिमि गुञ्जयमान बनिरहेको छ।
मध्यपुरथिमि नगरपालिकाको सहकार्य तथा मध्यपुर सङ्गीतप्रेमी समाजले मध्यपुरथिमिका दुईपोखरीमा शनिबार साँझ आयोजना गरेको ‘सन्ध्याकालीन शास्त्रीय तथा भक्ति सङ्गीत कार्यक्रमले’ मा बजेका सङ्गीतको धुनलाई मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुरकै वरिष्ठ कलाकर्मी, सङ्गीतकर्मी, स्थानीयवासीले पोखरीको वरिपरि डिलमा बसेर मन्त्रमुग्ध भएर सुनिरहेका थिए।
![](https://scontent.fktm8-1.fna.fbcdn.net/v/t39.30808-6/265536549_1600337270317903_7217401022217526777_n.jpg?_nc_cat=102&ccb=1-5&_nc_sid=730e14&_nc_ohc=Gp4YmxAxEZUAX-FLfiw&_nc_ht=scontent.fktm8-1.fna&oh=e82494e1addd0f592d96e8eeacf1be1e&oe=61B96359)
शास्त्रीय तथा भक्ति सङ्गीतको संरक्षण एवं जगेर्ना गर्ने, यहाँका नयाँ पुस्तालाई यसप्रति जागरुक बनाउने, मध्यपुरथिमिभित्र रहेका विभिन्न लय र भावका दाफा भजनको संरक्षण गर्ने उद्देश्यका साथ ऐतिहासिक सम्पदामा आयोजना गरेको कार्यक्रमले मध्यपुरथिमि कला, संस्कृति, सम्पदाले मात्रै नभई सङ्गीतले पनि परिपूर्ण छ भन्ने पुष्टि गरेको नगर प्रमुख श्रेष्ठले बताए।
दुई पोखरीमात्रै नभई शङ्खधर चोकस्थित शङ्खधर पार्क, बालकुमारी, निगु पुखुः, नगदेश, बोडेबाट कुमारी पार्कसम्म अहिले गीत, सङ्गीतदेखि विभिन्न कार्यक्रम गर्ने आकर्षक थलो बनेको, विभिन्न फिल्म तथा म्युजिक भिडियो निर्माणको केन्द्र बनेको जनाउँदै उनले आन्तरिक पर्यटनको विकासमा यो चार वर्षका अवधिमा ठूलो फ्ड्को मार्न सफल भएको बताए।
‘यहाँका बासिन्दाले देखिरहनुभएको छ, चार वर्ष अगाडि मध्यपुर कस्तो थियो, यहाँका सम्पदा कहाँ र कस्ता थिए, आज कस्तो भएको छ, भित्री गल्ली–गल्ली र टोल–टोलमा रहेका मूर्त तथा अमूर्त कला संस्कृतिको संरक्षण, भित्री तथा बाहिरी सडक, ढल, खानेपानीका समस्या समाधान गर्दै मध्यपुरथिमिको पहिचान बदल्न सफल भएको छु, भन्ने लाग्छ,’ उनले भने।
‘पानी चुहिने जीर्ण २५ वटा पाटी आज सुन्दर स्वरुपमा परिणत मात्रै भएका छैनन्, हरेक साँझ दाफा भजनले गुञ्जयमान हुन थालेका छन्, पुरिएका जीर्ण इनार, झारले छोपिएका ऐतिहासिक ढुङ्गे धारा, पुररिएका र खेलमैदान भएका पोखरीले पुनःजीवन पाएका छन्, फोहर फाल्ने पाखो सुन्दर उद्यानमा परिणत भएका छन्, वर्षौं बन्द भएका ऐतिहासिक नाच एवं पर्व जीवित भएका छन्, मन्दिरबाट बिहारसम्म, पाटीबाट दरबारसम्म बलिया भएर उठेका छन्, जनप्रतिनिधि भएर आएपछि त्यहीँ नै हाम्रो सफलता हो’, उनले भने।
कार्यक्रममा शास्त्रीय गायनतर्फ निर्जल डङ्गोल, आर्जन डङ्गोल र निमेश कपालीको संयुक्त तबला बादन, श्री केसीको गायन, इशरान बाजामा सन्तोषभक्त श्रेष्ठ, परवाज बाजामा मिलेष तन्डुकार र तानपुरामा सुनिल शाहीले शास्त्रीय सङ्गीत प्रस्तुत गरेका थिए। त्यस्तै मध्यपुरथिमिका स्थानीय १२ वटा समूहले विभिन्न १२ वटा भक्तिसङ्गीत तथा तीनवटा शास्त्रीय सङ्गीत प्रस्तुत गरेका थिए।
मध्यपुर सङ्गीतप्रेमी समाजका अध्यक्ष हरिसुन्दर लाखे श्रेष्ठले यहाँको सङ्गीतलाई जगेर्ना गर्न र यहाँका गाउने तरिकाका बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरेको बताए। यहाँका दाफा भजनमा पुरानो पुस्ता, नयाँ पुस्तादेखि महिलासम्मको उत्तिकै लगाब र सहभागिता रहने गरेको बताउँदै उनले यसको विकास र संरक्षणका लागि पहिलोपटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताए। रासस