बलात्कारपछि किशोरीको हत्या गर्ने एक जना शिक्षकलाई जिल्ला अदालत गुल्मीले बुधबार आजीवन काराबासको सजाय सुनाएको छ।
गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले बाँकेको खजुरा गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय रहिस खाँलाई आजीवन कैद, पाँच लाख रुपैयाँ जरिवाना र तीन लाख क्षतिपूर्तिको फैसला सुनाएको सूचना अधिकारी कमल पन्थीले सेतोपाटीलाई बताए।
सूचना अधिकारी पन्थीका अनुसार अदालतले पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने आदेश गरेको छ।
बाँके खजुरा गाउँपालिका – ७ का ३२ वर्षीय रहिस खाँलले गुल्मीको चन्द्रकोटमा मदरसामा पढाउँदै आएका थिए।
उनै खाँमाथि २०८० कात्तिक १६ गते बाग्लुङको बरेङ गाउँपालिका भई पछिल्लो समय गुल्मीको चन्द्रकोट गाउँपालिका –४ शान्तिपुरमा अभिभावकसँगै बस्दै आएकी १५ वर्षीया एक किशोरीको बलात्कारपछि हत्या गरेको अभियोग थियो।
त्यो दिन अभिभावकले पठाएपछि खेतमा धान काट्दै गर्दा सुर्ती किन्न भनेर गएकी किशोरी फर्किएकी थिइनन्। खोजी गर्ने क्रममा किशोरीको शव स्थानीय हुग्दी खोलामा फेला परेको थियो। त्यो घटनापछि अनुसन्धानका क्रममा शिक्षक खाँ पक्राउ परेका थिए।
पीडितको तर्फबाट किशोरीकी आमाले त्यसपछि खाँका विरूद्ध करणी र कतर्व्य ज्यानसम्बन्धी मुद्दा दायर गरेकी थिइन्।
अदालतले खाँलाई यसअघि पूर्पक्षका लागि कारागार पठाएको थियो।
१८ महिनापछि फैसला सुनाउँदै जिल्ला अदालतले खाँलाई आजीवन काराबास, पाँच लाख रुपैयाँ जरिवाना र पीडित परिवारलाई ३ लाख क्षतिपूर्ति दिलाउने फैसला सुनाएको हो।