नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुशील यादव मृत फेला परेका छन्।
संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव शुक्रबार मध्याह्न क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले पुष्टी गरे।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार यादव झुन्डिएको अवस्थामा देखिएपछि प्रहरी घटनास्थल गएको छ।
‘घटनास्थल सुरक्षित राखेर हामीले अनुसन्धान थालेका छौं,’ जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एक प्रहरी अधिकृतले भने।
शुक्रबार बिहान १० बजेसम्म निवासमा रहेका यादवले किन आत्महत्या गरे भन्ने खुल्न सकेको छैन।
गाडी चालकलाई गाडी मर्मतको लागि पठाएका यादव ढोका बन्द गरी कोठाभित्र पसेको र लामो समय सम्म नफर्किएपछि हेर्दा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
यादव कोठा भित्र झुन्डिएको अवस्थामा भेटिए पनि परिवारका सदस्य र लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारी आएपछि मात्रै ढोका खोल्ने तयारी रहेको स्रोतले जनाएको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले यादवको कोठाभित्र मृत भेटिए पनि के कस्तो अवस्थामा भेटिएको भन्ने मुचुल्का आएपछि मात्र भन्न सकिने सेतोपाटीले जानकारी दिए।
यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन्। ५५ वर्षे उमेर हदका कारण आगामी माघ १५ गते यादवले अवकाश पाउन लागेका थिए। यादवको घटनापछि अहिले संघीय प्रहरी इकाई कार्यालय भैरहवामा कसैलाई पनि प्रवेश दिइएको छैन।