देशमा भिखारी छैनन् भनेर टिप्पणी गरेपछि क्युबाको कम्युनिष्ट सरकारले श्रम मन्त्रीलाई बर्खास्त गरेको छ।
श्रम तथा सामाजिक सुरक्षा मन्त्री मार्ता एलेना फेटो काब्रेराले क्युबामा भिखारी भन्ने कुनै चिज नभएको दाबी गरेकी थिइन्। त्यस्तै, फोहोरको डंगुरमा सामान बटुल्ने मानिसहरूले सजिलै पैसा कमाउनको लागि स्वेच्छाले त्यसो गरिरहेको जिकिर गरेकी थिइन्।
'हामीले भिखारीजस्ता देखिने मानिसहरू देखेका छौँ। तर जब तपाईं तिनीहरूको हात हेर्नुहुन्छ, जब तपाईं ती मानिसहरूले लगाउने लुगा हेर्नुहुन्छ, तिनीहरू भिखारीको भेषमा मात्रै छन्। क्युबामा कोही पनि भिखारी छैनन्,' सोमबार राष्ट्रिय सभाको एक सत्रमा उनले भनेकी थिइन्, 'उनीहरूले पैसा कमाउन र उचित रूपमा काम नगरी सजिलो जीवनशैली अपनाएका छन्।'
अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको कम्युनिष्ट क्युबामा गम्भीर आर्थिक सङ्कट भएकाले त्यहाँ गरिबीको स्तर र खाद्यान्न अभाव बढेको छ। यस्तो अवस्थामा संसदमा उनले दिएको टिप्पणीको व्यापक आलोचना भएको थियो।
त्यसपछि राष्ट्रपति मिगुएल डियाज-क्यानेल त्यसबारे प्रतिक्रिया दिन बाध्य भएका थिए। उनले श्रम मन्त्रीको टिप्पणीले समानुभूति र गरिबीको मूल कारणको सम्बोधन गर्ने सुझबुझको कमी देखाएको भनेका थिए।
'यी मानिसहरू, जसलाई हामी कहिलेकाहीँ घरबारविहीन भनेर वर्णन गर्छौं वा जो भिखारीसँग जोडिएका छन्, वास्तवमा सामाजिक असमानता र हामीले सामना गरिरहेका थुप्रिएका समस्याहरूको ठोस अभिव्यक्ति हुन्। यी निरिहहरू हाम्रा शत्रु होइनन्,' राष्ट्रपतिले डियाज-क्यानेल भनेका थिए।
यसरी सार्वजनिक रूपमा हप्काएपछि राष्ट्रपतिले उनलाई पदबाट बर्खास्त गरिएको भनेर समाचार संस्था रोएटर्सले जनाएको छ।
सरकारले मङ्गलबार साँझ एक संक्षिप्त विज्ञप्ति निकालेर श्रम तथा सामाजिक सुरक्षा मन्त्रीले 'हाल राजनीतिक तथा सरकारी नीतिको केन्द्रमा रहेका विषयहरूमा वस्तुनिष्ठता र संवेदनशीलता' को कमी देखाएको भनेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)