जिल्ला अदालत रूपन्देहीले नाबालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा एक जनालाई आजीवन कैद सजाय सुनाएको छ।
रूपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. १ खुरखुरियाका अकबर अलि भनिने अहमद अलि दर्जीलाई रूपन्देही जिल्ला अदालतले कैद हुने फैसला सुनाएको हो।
८ वर्षीय बालिकालाई जबरजस्तीकरणी पश्चात् हत्या गरेको अभियोगमा गत असार २९ गते जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले दर्जीलाई आजीवन कैद हुने फैसला सुनाएको हो।
जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार दर्जीले २०८० साल पुस १३ गते बालिकालाई जबरजस्ती करणीपश्चात् हत्या गरेर नालीमा फालेको अवस्था शव फेला परेको थियो।
घटना विवरण अनुसार विद्यालयबाट घर फर्किँदै गरेकी बालिकालाई बाटोमा एक्लै भेटेपछि दर्जीले बुवाले खेतमा पानी लगाउँदै गरेको र बुवा भएको खेतमा पुर्याइदिन्छु भनेर फकाएर एकान्त स्थानमा लगेर जबरजस्ती करणीपश्चात् हत्या गरेका थिए।
अदालतले गरेको फैसलामा पनि दर्जीले बालिकालाई फकाई फुलाई एकान्त स्थलमा लगेपछि मदिरा सेवन गरी जबरजस्ती करणी पश्चात् हत्या गरेर फालेको उल्लेख छ।
बालिकालाई साइकलमा चढाएर लगेको देखेका प्रत्यक्षदर्शीले केरकार गर्दा पनि दर्जीले केही खुलाएका थिएनन्। घटना जानकारी भएपछि पक्राउ परेका दर्जीले प्रहरीको केरकारपछि भने बालिकाको हत्या गरेर स्वीकार गरी उनलाई फालेको स्थान समेत देखाएको प्रहरी अनुसन्धानमा उल्लेख छ।
जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालका अनुसार प्रतिवादी अकबर अलि भनिने अहमद अलि दर्जीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) को कसुरमा यसैको दफा २१९ (३ क) बमोजिम जन्मकैद र दफा २१९ (३ क) को खण्ड (क) बमोजिम ७ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको हो।
त्यसैगरी दफा १७७ (१) को कसुरमा दफा १७७ (२) बमोजिम अन्य कैदको सजाय हुने तथा प्रतिवादीले ८ वर्ष ३ महिनाकी बालिकालाई जबरजस्ती करणी पश्चात् हत्या गरेकाले मुलुकी अपराध संहिता २०७४ को दफा ४१ (च) को कसुरमा दफा ४१ बमोजिम दर्जीलाई जीवित रहेसम्म कैद हुने फैसला सुनाइएको हो।
अदालतबाट भएको फैसलामा पीडित बालिकाको परिवारलाई अपराध पीडित संरक्षण कोषबाट ७ लाख रुपैयाँ, प्रतिवादीबाट थप एक लाख ५० हजार क्षतिपूर्ति भराउन भनिएको छ।