म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ गाडपारमा बुधबार दिउँसो पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ।
गाडपार गाउँमाथिको पाखोबाट खसेको ढुंगामाटो सहितको सुख्खा पहिरोले पुरिएर ७२ वर्षीया सीता फगामीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घरभित्रै बसिरहेकी सीताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए।
प्रहरी र स्थानीयवासीले मृतकको शव पहिरो पन्छाएर निकालेका थिए।
पहिरोले सीताको घरसमेत भत्किएको छ। उननका श्रीमान ७२ वर्षीय टुकबहादुर फगामीले भागेर ज्यान जोगाएका छन्।
पहिरोको जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले बताए।