राजश्व अनुसन्धान विभागले विदेशी मुद्दा अपचलन गरेको आरोपमा चार जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ सम्बन्धी कसुरमा चार जनाविरूद्ध सोमबार मुद्दा दायर गरेको विभागका उपनिर्देशक तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए।
एक महिनाअघि विभागले कैलालीको लम्कीचुहा नगरपालिका-१० घर भई काठमाडौंको कालोपुल गुरूङटोल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती, बुवा नरबहादुर र दिनेशकी केटी साथी अनिता धिताललाई पक्राउ गरेको थियो।
उनीहरूमाथि सोधपुछ तथा अनुसन्धान गर्दा क्रिप्टोकरेन्सीको मोबाइल एप्स इ-स्क्रिल तथा बाइनान्स प्रयोग गरेको खुलेको प्रवक्ता पाण्डेयले बताए।
‘उनीहरूको बयान, विभिन्न बैंकका बैंक स्टेटमेन्टहरू, बरामद मोबाइलका डाटा, कल डिटेलका प्रमाणबाट दिनेश खड्का लगायतले सामूहिक रूपमा मिलेमतो गरी मोबाइल एप इ-स्क्रिल तथा बाइनान्सको प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कसुर गरेको खुलेको हो,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
दिनेशले दिदी भगवती, बुबा नरबहादुर र दिनेशकी केटी साथी अनिता समेत संलग्न भई डलरको अनलाइनमार्फत् अवैध रूपमा कारोबार गरेको कसुर गरेको प्रवक्ता पाण्डेयले बताए।
विभागको अनुसन्धानमा खुलेअनुसार दिनेशले इ-स्क्रिल तथा बाइनान्समार्फत् रकम लोड तथा अनलोड गरी अमेरिकी डलर साट्ने गर्थे। उनले ग्लोबल बैंकको खाताबाट ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँको कारोबार गरेको खुलेको विभागले जानकारी दिएको छ।
यस्तै, अनिताको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ६ हजार ८२६ रुपैयाँ, भगवतीको एनआइसी एशिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ र नरबहादुरको ग्लोबल आइएमई बैंकबाट एक करोड ६४ लाख ११ हजार १६६ रुपैयाँको कारोबार गरेको खुलेको हो।
उनीहरूले जम्मा ३७ करोड ६४ लाख ११ हजार एक सय बराबरको कारोबार गरेको विभागको अनुसन्धानबाट देखिएको प्रवक्ता पाण्डेयले बताए।
उनीहरूले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ को उपदफा (१), दफा ४ को उपदफा (१), दफा ५ को उपदफा (१) र दफा १२ बमोजिम नेपाल राष्ट्र बैंकको सूचनाले निषेधित कसूर पुष्टि भएको भन्दै विभागले अदालतमा मुद्दा हालेको हो।
विभागले सोही दफाको १७ को उपदफा १ बमोजिम बिगो जफत गरी सोही दफाको उपदफा ९ बमोजिम तीन वर्षसम्मको कैद सजायको मागदाबी लिएको हो।
यो पनि पढ्नुस्: