यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः
नीलमलाई एक दिन अचानक धरानको 'स्टार रेडियो' ले संवादका लागि बोलायो। उनले आफूले गोप्य राखेको कुरा त्यही दिन रेडियोमार्फत सार्वजनिक गरिन्।
रेडियोमा बोलेपछि उनलाई घर जान डर लाग्यो। एसएसली परीक्षापछि उनी प्रायः घरबाहिरै थिइन्। रेडियोमा बोलेको सातौं दिनमा मात्रै घर पुगिन्।
घरमा अपेक्षित र अनपेक्षित दुवै परिणाम देखा पर्यो। उनलाई सबभन्दा बढी डर बुबाको थियो तर भइदियो उल्टो। बुबा उनका पक्षमा उभिए, दाजुले गाली गरे।
नीलमले रेडियोमार्फत आफू ट्रान्सवुमन (पारलैंगिक) महिला अर्थात शरीर पुरुषको भए पनि महिला स्वभावको व्यक्ति रहेको र महिलाकै हुलियामा बाँच्न चाहेको सार्वजनिक गरेकी थिइन्।
यसपछि शृंगारसहित महिला हुलियामा घर गइन्। देख्नासाथ दाजुले गाली गरे। नीलम बेवास्ता गर्दै कोठामा पसिन्। साँझमा बुबा आइपुगे। बुबाले उनलाई हौसला दिए।
नीलमले आफ्ना बुबाको भनाइ उद्धृत गरिन्, 'तिमी आफ्नो कामले शिर ठाडो गरेर आफूलाई ऐनामा हेर्न सक्छौ भने मलाई गर्व हुनेछ। तिमी डराउनु पर्दैन, मलाई केही आपत्ति छैन।'
बुबाको कुराले नीलमको हिम्मत शिखरमा पुग्यो।
'मेरो हिम्मत बढ्यो, बुबाले नै स्वीकार गरेपछि मलाई खुल्न पनि सजिलो भयो। घरका अन्य सदस्यहरूले पनि स्वीकार गर्नु पर्ने भयो,' उनले भनिन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/manika/nilam%20%283%29.jpg)
आफ्नो लैंगिक पहिचान सार्वजनिक नहुँदासम्म नीलम पुरुषकै लुगा लगाउँथिन्। साह्रै सकस हुन्थ्यो। बुबाको हौसलापछि पूर्णरूपमा महिला हुलियामा रहन थालिन्।
'केटाको लुगा लगाएर हिँड्दा एकदम अप्ठ्यारो हुन्थ्यो। केटीको पोसाकमा हिँड्न धेरै सजिलो भयो, मन हलुका भयो। आजाद भएर उडेको पन्छी जस्तै लाग्न थाल्यो,' उनले सुनाइन्।
लैंगिक पहिचान सार्वजनिक गर्नुअघिको नीलमको जीवनबारे थोरै बुझौं।
नीलम पौडेल २०४८ सालमा छोराको शरीर लिएर ओखलढुंगामा जन्मेकी हुन्। उनी सानै हुँदा आमाबुबा आठ जना छोराछोरी लिएर धरान–धनकुटा सडकको तमोर किनारमा पर्ने उखुडाँडामा बसाइँ सरे। त्यो सानो ठाउँमा चलाएको चियानास्ता पसलले घरव्यवहार चलेन।
खेतीको ठाउँ खोज्दै आमाबुबा छोराछोरी अघिपछि लगाए फेरि मोरङको सुन्दरपुर पुगे। त्यहाँ उनीहरूले साहुको खेत कमाउन पाए। छोराछोरीलाई स्कुल पठाए। अर्काको खेत जोतेर त्यति ठूलो जहानको पेट पाल्न मुश्किल थियो।
पढ्न पाउने शर्तमा बुबाले नीलमलाई एक जना चिनारूका घरमा घरेलु कामदार बनाएर झापा पठाए। यसरी आमाबुबा छोड्दा नीलम तीन कक्षामा पढ्दै थिइन्। लजालु स्वभावकी नीलम बिहान–बेलुका घरको काम गर्थिन् र दिउँसो स्कुल जान्थिन्।
उनी छ कक्षामा पढ्दै गर्दा आफू छोरो भए पनि छोरी मान्छे बन्न मन लागेको थाहा पाइन्। उनलाई केटीको लुगा लगाउन र कक्षामा केटी साथीहरूसँग बस्न मन लाग्थ्यो। तर यसले उनको मनमा अन्योल उत्पन्न गराउँथ्यो।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/manika/nilam%20%284%29.jpg)
आठ कक्षामा पढ्दै थिइन्, पत्रपत्रिका पढ्नमा उनको रूचि थियो। हरेक शुक्रबार प्रकाशित हुने 'साप्ताहिक' पढ्थिन्। बिस्तारै उनले किनेरै पढ्न थालिन्। एक दिन त्यही पत्रिकाले जीवनको बाटो देखाइदियो।
त्यस दिन पत्रिकाले पहिलो पृष्ठमा 'लिंग परिवर्तनको बाटोमा नेपाल पनि' शीर्षकमा पारलैंगिक महिला भूमिका श्रेष्ठ लगायतको समाचार छापेको थियो।
नीलमले भनिन्, 'उक्त कथा (समाचार) मा छोराबाट छोरी हुँदाको गुण, केटाबाट कसरी केटी भयो भन्ने कुराहरू समेटिएको थियो। त्यहाँबाट मैले पनि आफ्नो अलमलको उत्तर पाएँ।'
कक्षामा नीलमकी मिल्ने साथी थिइन् दीपशिखा। पहिलोपटक नीलमले दीपशिखालाई नै आफ्नो फरक लैंगिक पहिचानबारे बताइन्।
'मलाई केटा भएर पनि केटीजस्तै बन्न मन लाग्छ भन्ने कुरा दीपशिखालाई भनेँ। उनले त्यो केही होइन, सामान्य कुरा हो तिमीलाई जे सहज लाग्छ त्यही गर भनेपछि मेरो हिम्मत बढ्यो,' नीलमले भनिन्, 'दीपशिखाले नकारात्मक कुरा गरिदिएको भए आफ्नो पहिचानबारे खुल्न सक्दिनथेँ होला।'
साप्ताहिकमा पढेको भूमिकाको कथा र दीपशिखाको सकारात्मक सुझावले उनलाई आफ्नो मनको कुरा भन्ने र हुलिया पनि बदल्ने आँट आयो। उनी ओठमा हल्का लाली र आँखामा मेकअप लगाएर घरबाट निस्किन्थिन् तर स्कुल नपुग्दै पुछ्थिन्।
'म केटी नै हुँ भन्ने कुरा त मनमा भइसकेको थियो तर बाहिर देखाउन गाह्रो हुन्थ्यो। कसैले देख्ला र किन केटी जस्तो भएको भन्ला भन्ने कुराले पिरोल्थ्यो।'
घरेलु कामदारका रूपमा काम गरिरहेकाले उनले कहिलेकाहीँ सामान किन्न जानु पर्थ्यो। यस्तो समयमा उनी केटीजस्तो भएर सुटुक्क निस्किन्थिन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/manika/nilam%20%286%29.jpg)
नीलम कक्षामा केटीहरूसँग बस्थिन्। शिक्षकहरू भने केटीसँग बसेको भनेर गाली गर्दै केटातिर सारिदिन्थे। उता केटाहरू आपसमा खासखुस गर्थे र जिस्क्याएको नजरले हेर्थे।
उनी भन्छिन्, 'मेरो कुरा बुझ्ने कोही भएन। मलाई एकदमै गाह्रो हुन्थ्यो। शौचालय पनि जान सक्दिनथेँ।'
एक दिन एक साथीले आफ्ना काका पनि नीलमजस्तै जस्तै रहेको कुरा सुनाइन्। साथीले काकासँग भेट गराइन्। काकामार्फत कुमारीसँग भेट भयो। कुमारी पनि पुरुषको शरीर भएकी पारलैंगिक महिला थिइन्। यसपछि नीलम र कुमारीको भेट बाक्लो भयो। कुमारी होटलमा भाँडा माज्ने काम गर्थिन्।
'कुमारीसँग हिँड्दा बोल्दा मलाई आजाद भएको जस्तो हुन्थ्यो। मलाई बुझ्ने पनि कोही छ भन्ने हुन्थ्यो,' उनले भनिन्, 'कुमारी र दीपशिखा जस्ता साथीको सहयोगले मलाई अघि बढ्न सजिलो भयो।'
कुमारीले नै नीलमलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हकअधिकारका लागि काम गर्ने संस्था नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) बारे जानकारी गराइन्। धेरै मिल्ने थोरै साथीलाई मात्रै उनको लैंगिक पहिचान थाहा थियो।
यतिकैमा नीलमले एसएलसी परीक्षा दिइन्। त्यसपछि कुमारीमार्फत नै उनले ब्लु डाइमन्ड सोसाइटीमा सानो रोजगारी पाइन्। उनले घरेलु कामदारबाट मुक्ति लिइन्।
एसएलसीपछि परिवारिक जिम्मेवारी पनि बढ्दै गयो। सोसाइटीको रोजगारीले नपुग्ने भयो। नीलमले विदेश जाने निर्णय गरिन् तर महिला हुलिया बाधक हुने थाहा पाइन्। विदेश जान कपाल काटेर छोटो बनाउन र पुरुष हुलियामा फर्किन नीलम बाध्य भइन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/manika/nilam%20%281%29.jpg)
विदेश पुगे पनि हर्मोन प्रयोग गर्न थालिसकेकाले स्तन बढेका थिए। यही कारण उनको विदेशयात्रा सफल भएन, फर्किन बाध्य भइन्। फेरि उनको विकल्प ब्लु डाइमन्ड सोसाइटी नै भयो। त्यहीँ पूर्णकालीन रोजगार भइन्। आम्दानी बढ्यो। विदेश जाँदा लागेको ऋण तिर्न मद्दत भयो।
पछि उनले फेरि वैदेशिक रोजगारीमा जाने विचार गरिन्। यसपालि समयले साथ दियो। महिलाकै हुलियामा दुबई जान पाइन्। दुबईमा पारलैंगिक महिलाकै लागि कामदार खोजेका कारण उनलाई सजिलो भयो। पाँच वर्ष दुबई बसेर फर्किन्।
बुबाले समर्थन गरेकै कारण नीलमलाई आफ्नो पारलैंगिक पहिचानमा अघि बढ्न सजिलो भएको थियो। उनी विदेशमा रहेकै समयमा बुबाको मृत्यु भयो। अन्तिम समयमा बुबालाई भेट्न पाइनन्।
'बाबाको मृत्युले मलाई एकदमै सकस भयो। म बुबाकै अगाडि मेकअप गर्थेँ तर आज बुबासँगको एउटा फोटो पनि मसँग छैन,' उनले सुनाइन्।
नेपाल आएपछि नीलम आफ्नो पारलैंगिक पहिचानसहित एउटा होटलमा काम गर्न थालिन्। केही समयपछि सञ्चार माध्यममा काम गरिन्। यही समय उनले मेकअपको काम सिकिन्। थप तालिम लिएर मेकअप आर्टिस्ट भइन्। मोडलहरूदेखि कलाकर्मीसम्मका मेकअप गर्नु उनको पेसा हो।
मेकअपको काम गर्दागर्दै नीलमले मोडलिङको काम पाइन्। उनले वेबसिरिज 'तिम्रो ल्याङल्याङ' को पहिलो र दोस्रो शृंखलामा अभिनय गरेकी छन्।
भनिन्, 'मैले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकै एक हिस्सा भएर अभिनय गरेकी छु। आफ्नै कथामा अभिनय गर्न पाउँदा खुसी लागेको छ।'
![](https://www.setopati.com/uploads/editor/Photos/2020/Kinmel/CG/Stories/manika/nilam%20%287%29.jpg)
उनले दुई वटा म्युजिक भिडिओमा पनि मोडलिङ गरेकी छन्।
अब नीलमलाई पारलैंगिक पहिचानसहितको नागरिकता चाहिएको छ। उनका सरकारी प्रमाणमा पुरुष पहिचान छ। पुरुष पहिचानमा महिला हुलियाका कारण उनले धेरै ठाउँमा समस्या भोग्नु परेको छ।
उनले कोरोना भाइरसको खोप लगाउँदाको अनुभव सुनाइन्, 'मलाई देखेर स्वयंसेविका छक्क परिन्। मैले आफ्नो पारलैंगिक पहिचान जानकारी गराएँ। उनले पुरुष लेखेको ठाउँमा ट्रान्सजेन्डर लेखिदिइन्।'
नीलम लिंगको स्थानमा पारलैंगिक लेखिएको नागरिकता प्रमाणपत्र लिन चाहन्छिन्।
उनी भन्छिन्, 'मलाई अन्य वा महिला लेखिएको नागरिकता चाहिएको होइन। पारलैंगिक नै लेखेको चाहिन्छ।'
हरेक ठाउँमा आफ्नो पहिचानबारे स्पस्टीकरण दिनु परेको नीलमको भनाइ छ।
'शिक्षित मान्छे नै हाम्रो समस्या बुझ्दैनन् भने अरूले त झन् बुझ्दैनन्,' उनी भन्छिन्, 'बिरामी भएर अस्पताल जाँदा पनि दुर्व्यवहार भोग्नु परेको छ। चेकअपका लागि समातेको हात पनि डाक्टरले छोडिएको तीतो अनुभव छ।'
चिकित्सकको नकारात्मक नजरका कारणले पारलैंगिक व्यक्तिहरू रोग पालेर बस्न बाध्य भएको नीलमको भनाइ छ। यस्तो समस्या समाधान गर्न जनचेतना आवश्यक रहेको उनी बताउँछिन्। नीलम आफ्नो समुदायका व्यक्तिहरूलाई रोजगारी दिलाउने काममा पनि लागेकी छन्।'
यी पनि पढ्नुहोस्ः
पहिलाजस्तो नाच्न सक्दिनँ, अत्यास लाग्न थालेको छ'
'पुरुष लेखिएको मेरो नागरिकतामा महिला बनाउनु छ'
'कानुन आएपछि बिहे गरेर श्रीमती भित्र्याउने मन छ'
अनि उनको लाली-गाजल लाउने रहर पूरा भयो
'आमा बुहारी ल्याउनुपर्छ भन्नुहुन्थ्यो, म ज्वाइँ ल्याउँछु भन्थेँ'
उनले बरू घर छाडिदिइन्, आफ्नो पहिचान छाड्न सकिनन्
'दिनभरि काम गरेर राति सिँगार गर्दा अझै पनि आनन्द लाग्छ'