मुटुको अपरेसन विभिन्न किसिमका बिरामीको गर्नुपर्ने हुन्छ। केहीले जन्मजात नै मुटुको समस्या लिएर आएका हुन्छन्। उनीहरू जन्मदै मुटुमा कुनै समस्या हुन्छ। जसमध्ये कतिपयको जन्मिएलगत्तै अपरेसन गर्नुपर्ने हुन्छ, केहीको अल्ली पछि गर्दा पनि हुन्छ। कतिपय जन्मजात रोगको त सुरूमा थाहै हुँदैन, धेरै ठूलो उमेर भइसकेपछि अर्थात ४०-५० वर्षको उमेरमा पनि जन्मजात भएका रोगको अपरेसन गर्नुपर्ने हुन्छ।
हाम्रो जस्तो विकासशील देशमा मुटुको रोग निम्त्याउने अर्को कारण भनेको बाथ रोग हो। धेरै पहिला देखिएको बाथ रोगले गर्दा पछि मुटुमा समस्या गर्छ। त्यसले मुटुका भल्भ बिगार्छ। साँघुरो बनाउने वा लीक बनाउने गर्छ। त्यस्ता रोगमा मुटुको भल्भ मर्मत गर्ने वा भल्भ फेर्ने अपरेसन गर्नुपर्ने हुन्छ।
त्यसपछि मुटुको अर्को अपरेसन भनेको मुटुको बाइपास अपरेसन हो। यो मुटुको अपरेसनमा संसारभरि सबैभन्दा बढी गरिने अपरेसन हो। यो मुटु आफैँलाई रगत सप्लाई गर्ने नलीहरू साँघुरा भएर हर्टअट्याक भइसकेपछि वा त्यो भन्दा अगाडि नै काम गर्दा मुटु दुखेर अपरेसन गर्नुपर्ने हुन्छ। त्यसमा साँघुरो भएका नलीलाई बाइपास गरेर मुटुमा रगत पुर्याउन अपरेसन गर्छौं यसलाई हामी ‘सिएबीजी’ भन्छौं।
त्यो बाहेक मुटुका अरु रोगहरू पनि हुन्छन्। मुटुबाट बाहिर निस्कने मुख्य नलीहरू ठूला भएका, फुटेका, छातिमा पुगेर, पेटमा पुगेर नली ठूला भएका फुटेका पनि हुन्छन्, यसमा पनि अपरेसन गर्नुपर्ने हुन्छ। मुटुको चालसम्बन्धी गडबडका कारण पनि अपरेसन गर्नुपर्ने हुन्छ।
जन्मजात मुटुको रोग भयो कि त जन्मँदै निलो भएर जन्मन्छन् कि केही दिन, महिनापछि निलो हुने पनि हुन्छ। जन्मँदै स्वास फेर्न गाह्रो हुने स्याँ स्याँ हुने हुन्छ। त्यो बेलामा हामीले जाँच गरेर मुटुको समस्या छ कि भनेर थाहा पाउँछौं। ठूलो भएपछि अरू सरह हिँड्न, दौडन नसक्दा पनि मुटुको समस्या छ कि भन्ने अनुमान गरिन्छ। साना प्वालहरु रहेछन् भने धेरै ठूलो भइसकेपछि जाँच गर्दा थाहा हुने पनि हुनसक्छ।
मुटुको बाथ रोगले गर्दा भल्भ बिग्रिने मान्छेको बाथ ज्वरो हुनसक्छ, कसैलाई ज्वरो थाहा नहुन पनि सक्छ तर बिस्तारै उनीहरुलाई हिँड्न गाह्रो हुने, उत्तानो परेर सुत्न गाह्रो हुने, भारी काम गाह्रो हुने, मुटु भ्याट–भ्याट गरेर चल्ने, जीउ, पेट सुन्निने हुन्छ। त्यसपछि मुटुको समस्या रहेछ भन्ने थाहा हुन्छ। पछि मुटुका रक्तनली साँघुरो हुने रोगमा अलिकति गाह्रो काम गर्दा छाति भारी हुने, छातिमा ढुंगा राखेजस्तो हुने, छटपटी नै हुनेगरी छाति दुखेको अवस्थामा मुटुका नली साँघुरा भएछन् भनेर थाहा हुन्छ।
अभिभावकले बच्चा हिँड्दा, दूध चुस्दा, रूँदा ओठ, हातका आँलाका टुप्पाहरु बढी निलो हुन्छन् कि हिँड्न थालेपछि अरू जति हिँड्न नसक्ने, खेल्न नसक्ने, शारीरिक विकास राम्रो भएन, फोक्सोको इन्फेक्सन बारम्बार भएमा मुटुको समस्या छ कि भनेर शंका गर्नुपर्छ। ठूला भएपछि चाहि बच्चाले मुटु ढुकढुक भयो, मलाई गाह्रो भयो भन्न सक्छ।
नेपालमा सबैभन्दा बढी समस्या बाथ रोगपछि मुटुको भल्भ बिग्रएर अपरेसन गर्नुपर्ने हुन्छ। यो किशोर अवस्थादेखि ६० वर्षसम्म पनि यो देखिन्छ। लगभग ३०–३५ प्रतिशत मुटुको अपरेसन यस्तै हुन्छ। जन्मजात रोगको पनि जन्मेको एक हप्तादेखि ४०–५० वर्ष पुगेपछि पनि अपरेसन गर्छौं। त्यसपछि बढी हुने भनेको मुटुका रक्तनलीहरु साँघुरो भएर बाइपास अपरेसन हो। यो बुढेसकालमा बढी हुन्छ।
साधारणतया ५० वर्ष कटेपछि बढी हुने हो तर अहिले संसारभरी नै रहनसहन, खानपिन, जीवनशैलीमा आएका परिवर्तनका कारण कम उमेरमै पनि समस्या देखिन थालेको छ। विकासशील देशहरुमा रक्तचाप, मधुमेह, खानपीनको समस्याले थप बढ्दै जाने अवस्था देखिन्छ। हामीले २७–२८ वर्षका युवाको पनि बाइपास अपरेसन गर्ने गरेका छौं।
पहिले मान्छेहरु प्रायः खेतबारीमा काम गर्थे अहिले कम छ, हामी व्यायाम पनि कम गर्छौ। अफिस जाने बसेर काम गर्ने फर्कने खाने, सुत्ने बढी गर्छौं। यसले पनि मुटुको समस्या बढाइरहेको छ।
मुटुको अपरेसन खर्चिलो हुन्छ। अपरेसनमा प्रयोगहरु सामान महँगा हुन्छन्। त्यसैले सबैले यो खर्च धान्न सक्दैनन्। संसारभरको कुरा गर्ने हो भने नेपाल सस्तोमा मुटुको अपरेसन गर्ने देशमा पर्छ।
मैले काम गर्ने चितवन मेडिकल कलेजले मुटुको अपरेसनमा विपन्न वर्गका मान्छेको एक लाख रूपैयाँसम्मको उपचार निःशुल्क गर्ने गरेको छ। यो सुविधा दिएर कलेजले डेढ महिनादेखि ७० वर्षसम्मकाको मुटुको शल्यक्रिया गरिसकेको छ। तर यतीमात्रै पैसाले मुटुको अपरेसन गर्न पुग्दैन। हामीकहाँ आउने बिरामी प्रायः गरिब नै हुन्छन्।
यस अस्पतालमा गत साउनबाट मुटुको शल्यक्रिया सुरू भएको थियो। यो अवधिमा १९ जनाको ओपन हार्ट सर्जरी र १७ जनाको क्लोज हार्ट सर्जरी गरिएको छ। मुटु, फोक्सो, रक्तनलीको समस्या भएका बिरामी १८० जनाको शल्यक्रिया गरिसकेको छ।
मुटुको शल्यक्रिया काठमाडौंका मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा हुन्छ। यी अस्पतालबाहेक काठमाडौं बाहिरका केही अस्पतालले मात्रै मुटुको शल्यक्रिया गर्ने गरेका छन्।
काठमाडौंका दुई सरकारी अस्पतालहरूले १४ वर्ष मुनिका, ७५ वर्ष माथिका र मुटुको बाथ रोग भएका बिरामीहरूको उपचार निःशुल्क गर्छन्। यी बाहेकका अस्पतालहरुले भने शुल्क लिएर उपचार गर्छन्।
सरकारले काठमाडौंका अस्पताललाई जस्तै सुविधा मेडिकल कलेजलाई पनि दिए धेरै बिरामीले राहत पाउने थिए। देशभरका बिरामीले सहज र सुलभ रूपमा उपचारका लागि काठमाडौंका दुई अस्पतालको भर पर्नुपरेको छ। तर हाम्रो जस्तो उपचारका लागि योग्य अस्पतालबाट पनि त्यस्ता सुविधा उपलब्ध गराउन सके धेरै बिरामी लाभान्वित हुने थिए।
यस अस्पतालमा दैनिक एक जना बिरामीको मुटुको शल्यक्रिया गर्नसक्ने क्षमता रहेको छ।
हामी जुनसुकै उमेर समूहका बिरामीको मुटुको अपरेसन गर्न सक्षम छौं। सरकारले दिने सुविधाहरू यहाँ पनि उपलब्ध भए बिरामीलाई सहज हुन्थ्यो भन्ने लाग्छ।
चितवन मेडिकल कलेजमा पूर्वी, पश्चिम तराई तथा पहाडी जिल्लाका धेरै बिरामीहरु मुटुको समस्या लिएर उपचारका लागि आउँछन्।
कतिपय रोगमा हामीले नियन्त्रण सकिँदैन। तर कतिपयमा कम गर्न सकिन्छ। बाथ रोग नै लाग्न नदिने हो भने समस्या धेरै कम हुन्छ। राज्यले गाउँ गाउँमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने, सामान्य समस्या हुने बितिक्कै डाक्टरलाई देखाउने हो भने समस्याको समाधान बेलैमा सामान्य तरिकाबाटै हुन्छ।
अर्को कुरा मुटुको समस्या हुन नदिन स्वास्थ्य जीवनशैली अपनाउन म सबैलाई आग्रह गर्छु। यसका लागि नियमित व्यायाम गर्न म सल्लाह दिन्छु। कम्तीमा हप्तामा पाँच दिन, दिनमा आधा घण्टा व्यायाम गर्नुस्। अनि हरियो सागसब्जी बढी खाने, फास्टफूड, तेलमा तारेका खानेकुरा कम खाने गर्नुपर्यो। यसले मुटुको रक्तनली साँघुरो भएर हुने समस्या कम गर्छ।
चितवन मेडिकल कलेज भरतपुरका मुटु, फोक्सो र रक्तनली सर्जन डा.अनिल आचार्यसँग सेतोपाटीका लागि राजेश घिमिरेले गरेको भिडिओ कुराकानी।