गत साताको बुधबार साँझको कुरा। साढे पाँच बजिसकेको थियो। ठन्डी महिना झमक्कै अँध्यारो। सिंहदरबारको पश्चिम गेटअगाडिको सडकमा ६-७ जोडी आँखा टल्किए।
खैरा, सेता, काला र टाटेपाटे रङ मिसिएको ज्यान भएका कुकुरहरू थिए। सडकमा गुडेका गाडीहरू हेर्दै यताउता डुल्थे।
अनुमान लाउन सकिन्थ्यो- उनीहरू कसैको पर्खाइमा छन्!
एकैछिनमा खरानी रङको टल्किने एउटा कार आइपुग्यो।
कुकुरहरूका आँखा झन् बले। खुसीले चम्किएजस्ता देखिए। दौडिँदै गाडी वरपर झुम्मिन थाले। भौभौ, स्वाँस्वाँ गर्दै गाडीको ढोकानजिक चलमलाए।
गाडीबाट रातो क्याप लगाएका एक जना मानिस उत्रिए। अधवैंसे उमेरका उनले ती कुकुरहरूलाई मुसारे। कुकुरहरू लुटुरपुटुर हुन खोजे। तिनलाई पन्छाउँदै ती व्यक्ति पछाडि गएर आफ्नो कारको डिक्की खोले। एउटा हातमा पहेँलो पन्जा उने। नाकमुख छोपिने गरी सर्जिकल मास्क लगाए। अनि भरिएको सेतो बाल्टिन निकाले।
कुकुरहरू झन् स्वाँस्वाँ र क्वार्र क्वार्र गर्न थाले।
बाल्टिनबाट उनले हड्डीमासुका टुक्रा निकाले। तिनीहरूका अगाडि राखिदिए। कुकुरको झुन्ड कुखुराको हड्डी खान झुम्मिइहाल्यो।
उनीहरूको प्रतीक्षा सकियो!
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/manish%20%289%29.jpg)
सिंहदरबारको पर्खालमै टाँसिएर एउटा खैरो कुकुर उभिइरहेको थियो। त्यहीँ पुगेर उनले त्यसलाई पनि खुवाए। अनि पर्खालनजिकै केही हड्डी फाले।
त्यता कुकुर थियो कि थिएन!
उनले भने, 'यहाँ पनि कुकुर बस्छन् नि! अहिले नदेखिएका मात्र हुन्। भोकाएर भौंतारिएका हुन्छन्। पछि आएर खान्छन्!'
हामीले उनीसँग कुराकानी गर्यौं। उनी रहेछन् ५८ वर्षीय मनिष राई।
उनी सधैंजसो यसरी गाडीमा कुखुराको हाडमासु बोकेर आउने रहेछन्। सिंहदरबार आसपासका सडकका कुकुरलाई खुवाउने रहेछन्।
आफ्नाबारेमा यति भनेर उनी सर्वोच्च अदालततिर लागे। त्यता भेटिने कुकुरहरूलाई खुवाउन!
हामी पनि कुराकानी गर्दै उनीसँगै गयौं।
मनिषले यहाँका कुकुरहरूलाई खुवाउन थालेको तीन वर्ष भइसकेछ। सुरू कोरोना महामारीदेखि गरेका थिए।
कोरोना लकडाउनपछि सडक चकमन्न भयो। मान्छेहरू घरघरै बस्न बाध्य भए। सडकका कुकुरहरूको खाने बाटो ठप्पै भयो।
मनिषलाई कुकुर मनपर्छ। आफ्नो घरमै पनि तीन वटा पालेका थिए। लकडाउनमा बिजोग भएका एकाध कुकुर सडकबाट ल्याएर घरमा राखे।
अलपत्र र खान नपाएका कति धेरै कुकुर छन्। कतिलाई ल्याएर घरमा राख्ने? यसरी पाल्न सम्भवै भएन।
उनको बसाइ काठमाडौंको बसुन्धरा हो। आफ्नो घरअगाडि र टोलका कुकुरलाई खुवाउन थालेको त बीस वर्ष बितिसक्यो।
एक दिन उनले सम्झे- अरू टोलका कुकुरहरूलाई मजस्तै कसैले खुवाउँछ कि! सिंहदरबार आसपास सडकमा बस्ने कुकुरले के खाए होलान्? त्यहाँ कार्यालयहरू मात्र छन्, सबै बन्द भइसके। कसरी बाँचिरहेका होलान् ती कुकुर?
'अनि एकदिन म बिस्कुट बोकेर सडकमा आएँ,' उनले भने, 'सुरूमा मैले यिनीहरूलाई बिस्कुट खुवाउँथे। तर बिस्कुट यिनीहरूको स्वास्थ्यका निम्ति राम्रो नमानिने भएकाले हड्डी दिन थालेँ।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/manish%20%281%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/manish%20%288%29.jpg)
यति भन्दै गर्दा हामी सर्वोच्चको गेटनिर पुगिसकेका थियौं। त्यहाँ एउटै कुकुर थिएन। हातमा खानेकुरा बोकेका उनले निराश हुँदै भने, 'यहाँ पहिला कुकुरहरू मलाई कुरिरहेका हुन्थे। सायद आज खेदिसके होलान्।'
उनी अघि बढे र स्वास्थ्य मन्त्रालयको गेट पुगे। नभन्दै एक दर्जनजति कुकुर भेला भएका रहेछन्। मनिषलाई देखेपछि सुँघ्दै नजिकै आइपुगी हाले। त्यहाँ पनि पहिलेजसरी नै भाग लगाएर हड्डी बाडेँ।
एक जना भारी बोकेका युवक सडकमा कुकुरको झुन्ड देखेर डराउँदै आइरहेका थिए।
मनिषले उनको डर हटाउँदै भने, 'जानुस्, जानुस्। यिनीहरूले केही पनि गर्दैनन्।'
एकछिन कुकुरहरूले खाएको हेरेर फेरि भने, 'यहाँका कुकुर इमानदार छन्। आफ्नो भागको मात्र खान्छन्। अर्काको भाग खाँदैनन्। त्यसैले हड्डी दिँदा पनि सजिलो हुन्छ।'
मनिषलाई सानैदेखि कुकुरप्रति माया थियो। भोजपुरमा जन्मिएका उनले सानो छँदा बाटामा अलपत्र कुकुरका छाउरा बोकेर घर ल्याउँथे। आमाले भने उनलाई गाली गर्थिन्।
अहिले पनि उनको बानी फेरिएको छैन। कुकुरलाई यति धेरै खर्च गरेको भन्दै परिवारको गाली पनि खान्छन्। जे भए पनि कुकुरप्रतिको मनिषको मोह घटेन।
भन्छन्, 'छोराछोरीले कुकुर खासै मन पराउँदैनन्। उनीहरू यस्तो नगर भन्छन्। तर मेरो मनले मान्दैन, के गर्ने?'
मनिष घरजग्गा सम्बन्धी कारोबार गर्छन्। त्यही कामबाट कमाएको पैसाले प्रत्येक दिन मासु पसलबाट हड्डी किन्छन् र कुकुरहरू खोज्दै हिँड्छन्।
कहिलेकाहीँ केही काम परेर उनी आउन पाउँदैनन्। त्यस्तो बेला पनि उनलाई यी कुकुर भोकै परे होलान् भन्ने चिन्ता भइरहन्छ। सिंहदरबार आसपासका यी कुकुरलाई कहिलेसम्म यसरी नै धाएर खुवाउने भन्ने उनलाई थाहा छैन।
'लकडाउनमा खान पाएनन् भनेर दिन थालेको, यति समय बितिसक्यो। अब हेरम् कहिलेसम्म दिन सक्छु,' उमेरले छ दशक नजिक पुगेका उनले भने, 'मैले सकिनँ भने कसले देला भनेर कहिलेकाहीँ सुर्ता लाग्छ।'
कुकुरलाई कुटेको वा दुःख दिएको उनलाई पटक्कै मनपर्दैन। कुकुरलाई तातोपानी हालिदिने, विष खुवाएर मारिदिने जस्ता व्यक्तिलाई कारबाही हुनुपर्ने उनी बताउँछन्। सडक जति मान्छेको हो, त्यति जनावरहरूको पनि हो भन्ने धारणा छ उनको।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/manish%20%284%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/manish%20%287%29.jpg)
'कतिपय ठाउँमा त कुकुरलाई कुटेको निहुँमा मेरो झगडा पनि परिरहेको हुन्छ,' उनले भने, 'कुकुरलाई दुःख दिएको देख्दा मेरो मन एकदम दुख्छ।'
उनले आग्रह पनि गरे, 'कुकुर मन नपरे उनीहरूबाट टाढै बसे हुन्छ। दुःख चाहिँ नदिनू होला।'
यी कुरा हामी भ्रदकालीमा बसेर गरिरहेका थियौं। हाम्रोअगाडि बसेका कुकुर पनि सुनिरहेझैं देखिन्थे।
छिरबिरे कालो–सेतो रङ मिसिएको कुकुर मनिषको नजिकै आयो।
उनले त्यसको टाउको मुसार्दै भने, 'यिनीहरूले मलाई धेरै माया गर्छन्। मलाई पनि यिनीहरूको धेरै माया लाग्छ। यिनीहरूले हामीले बोलेको नबुझ्ने मात्र हुन्। तर मान्छेभन्दा धेरै असल र विश्वासिला हुन्छन्।'
यति भनेर उनी सहिदगेटतिर अगाडि बढे।
हड्डी झिकेर त्यहाँ भेला भएका कुकुरलाई दिए। त्यो दिनका अन्तिम पाहुनाले खाएको एकछिन हेरिरहे।
अनि खाली बाल्टिन डिक्कीमा हाल्दै उनले भने, 'तपाईंलाई थाहा छ, यी कुकुरले यस्तो गुन कहिल्यै बिर्सिँदैनन्। एउटा बिस्कुट दियो भने पनि सधैं याद गरिराख्छन्। मान्छेलाई सय दिन गुन लगाउँदा पनि भुल्छन् तर कुकुरले कहिल्यै भुल्दैन। त्यसैले मलाई कुकुर मनपर्छ।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/manish%20%282%29.jpg)