आफ्नै साथीकी आमालाई हैरानी दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं. ५ सनलाइट चोक बस्ने ३० वर्षीय रवि थापालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शंकर श्रेष्ठले सेतोपाटीलाई बताए।
थापाले करिब एक/डेढ वर्षदेखि अनलाइन सपिङ गरी छिमेकी एक महिलाको झ्यालमा भित्री वस्त्र टंगाएर मानसिक यातना दिने गरेका थिए।
पटक/पटक हैरानी दिएको सूचना आएपछि अनुसन्धान गर्दै जाँदा थापालाई पक्राउ गरिएको श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार थापा ती महिलाका छोराका साथी रहेको र अघि-पछि भेट्दा आन्टी भनेर सम्बोधन गर्ने गरे पनि रातिमा उनैले यो सबै हर्कत गरेको खुलेको हो।
आफूले मदिरा सेवनपछि गर्न नहुने हर्कतहरू गरेको कुरा उनले प्रहरीसमक्ष स्वीकार गरेका छन्।
पछिल्लो समय पक्राउ परेका थापाले ती महिलाकी छोरीको फेक फेसबुक आइडी बनाइ त्यसैमार्फत् विभिन्न अस्लिल भिडिओ तथा कुराहरू लेखेर पठाउने गरेको तथ्य पनि पत्ता लागेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
पीडित महिलाले आइतबार थापाविरूद्ध वडा प्रहरी कार्यालय लमहीमा उजुरी दिएकी थिइन्।
‘यो अनौठो प्रकृतिको घटना हो,’ श्रेष्ठले भने, ‘पीडितको आग्रहमा थापाविरूद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान भइरहेको छ।’
थापालाई एक साता थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप भइसकेको प्रहरीले बताएको छ।
‘आफ्नै छिमेकी र त्यो पनि आफ्नै साथीकी आमालाई यतिसम्म यातना दिनु अनौठो घटना मान्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने, ‘त्यही भएर हामीले अरू कोहीमाथि पनि यस्तै समस्या परेको भए खुलेर सार्वजनिक गर्नुपर्छ भनेर आरोपितलाई पक्राउपछि सार्वजनिक गरेका हौं।’
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९, १२:४८:१८