अस्पतालमा रगतको कमी हुनुको पहिलो कारक अस्पताल नै हुन्।
अस्पताल खोलेका छन्, तर ब्लड बैंक छैन। दुई सय बेडसम्मका अस्पताल छन् तर ब्लड बैंक छैन। अस्पतालले ब्लड बैंक किन राखेका छैनन् भने यसबाट नाफा छैन। अनि सञ्चालनका लागि खर्च समेत लाग्छ।
सरकारले त पच्चीस/पचास बेडसम्मका अस्पतालमा समेत ब्लड बैंक स्थापना गरेको छ।
हामीकहाँ रक्तदान पनि कम छ। तर त्योभन्दा ठूलो समस्या व्यवस्थापनकै कमजोरी हो। किनकि एउटा रगतले तीन जना बिरामीका लागि रगत निकाल्न सकिन्छ। एउटै रगतबाट प्लेट्लेट्स, प्लाज्मा अनि आरबिसी समेत निस्किन्छ। तर धेरैजसो ठाउँमा एउटाबाट एउटै मात्र रगत निकालिन्छ। धेरै चिकित्सकहरू यसबारे जानकार छैनन्। अनि अर्को कुरा, यो प्रक्रिया जान्ने खालको जनशक्ति समेत छैन।
अस्पतालले आफ्नो दायित्व र व्यवस्थापन बुझेको छैन। चाहिएको रगत जसरी पनि अस्पतालले दिनुपर्ने हो। बिरामीका आफन्तलाई कुदाउने होइन। बिरामीलाई भनियो भने एकले अर्कालाई भन्दै जाँदा रगत अभाव भएको देखिने हो। यो अस्पतालले गर्ने काम हो तर बिरामीलाई खोज्न लगाइएको छ। रगत खोज्ने जिम्मेवारी बिरामीका आफन्तलाई दिन हुँदैन।
नेपालमा रक्तदाताको कमी छैन। नेपालमा तीन लाख जनालाई वर्षमा रगतको जरूरी पर्छ। साढे दुई लाखले हरेक वर्ष रक्तदान गर्छन्
सही व्यवस्थापन गर्ने हो भने साढे दुई लाखले दिएको रगतले आठ लाखलाई पुग्छ। तर हामीकहाँ त्यस्तो गरिएको छैन।
विश्व स्वास्थ्य संगठनले पनि १ देखि २ प्रतिशतले रक्तदान गरे पुग्छ भनेको छ। अपरेसनका लागि एउटा रगत चाहिन्छ तर पाँचवटा मगाउन लगाइन्छ। अनि चारवटा यसै खेर जान्छ।
रक्तदान गर्छु भन्ने व्यक्तिलाई सबभन्दा पहिला मनमा आउनुपर्छ। हरेक दिन हाम्रा वरपर रक्तदान भइरहेका हुन्छन्। म रक्तदान गर्न तयार छु भन्ने मनमा आएपछि धेरै कुरा मिल्छ। रगत दान गर्न ४५ केजी भन्दा धेरै तौल हुनुपर्छ। १८ वर्ष पुगेको र स्वस्थ हुनुपर्छ।
एकपटक रगत दान गरेपछि नेपालको सन्दर्भमा तीन महिनापछि फेरि गर्न मिल्छ।
रगत दान गर्दा म कमजोर हुन्छु कि भन्ने एउटा गलत बुझाइ छ। कहिलेकाहीँ पहिलोपटक रक्तदान गर्दा झुम्म हुने, खाना खानासाथ वान्ता हुन सक्छ। तर स्वस्थ व्यक्तिले रक्तदान गर्दा कुनै असर गर्दैन। झन् धेरै फाइदा हुन्छ। पुरानो रगत खेर गएर नयाँ रगत बन्छ। रक्तदान गर्दा फूर्तिलो र मुटु स्वस्थ हुने हुन्छ।
१८ वर्ष नपुगेका, ४५ किलो तौल नभएका, दीर्घ रोग भएका, रूघाखोकी लागिरहेका अनि एन्टिबायोटिक्स औषधि खाएकाले रक्तदान गर्न मिल्दैन।
बिरामीलाई ताजा रगत चाहिन्छ भन्ने गरिन्छ। यो पनि गलत मान्यता हो। केही विशेष अवस्थामा बाहेक ताजा रगत चाहिने भन्ने हुँदैन। त्यसैले ताजा रगत भनेर चिकित्सकले भन्नु पर्दैन र बिरामी पनि कुद्न जरूरी छैन।
जस्तो आरबिसीको क्षमता ३५ दिनको हुन्छ। प्लाज्मा एक वर्षसम्म काम लाग्छ। अर्थात् निश्चित मापदण्ड पूरा गरेर ब्लड बैंकमा राखिएको रगत सबै ताजा हो।
(टियु लायन्स रक्तसञ्चार केन्द्रका मेडिकल डाइरेक्टर रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपाल ग्रान्डी अस्पताल र विराट मेडिकल कलेजमा कार्यरत छन्।)