प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो मन्त्रिपरिषद विस्तार क्रममा उत्पन्न विवादबारे पनि प्रश्न उठेको थियो।
सुरूमा आफ्नो कुरा राख्ने क्रममै प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रूपमा सिफारिस गरिएका खगेन्द्र सुनारको प्रसंग झिकेकी थिइन्।
सुनारलाई दलित अभियानीका रूपमा गरेका कामका आधारमा मन्त्री बनाउन लागिएको प्रसंग उठाउँदै प्रधानमन्त्री कार्कीले भनिन्, 'खगेन्द्रजीको सन्दर्भमा हामीबाट गल्ती भयो। उहाँलाई दलित अभियानीका रूपमा मन्त्रिपरिषदमा ल्याउन खोजेका थियौं, तर उहाँविरूद्ध धेरै मुद्दा चलिरहेको देखियो।'
सुनारविरूद्ध अदालतको मानहानिदेखि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा चलिरहेको छ। यही कारणले शपथग्रहणअघि नै उनको नाम मन्त्री सूचीबाट हटाइएको प्रधानमन्त्री कार्कीले बताइन्।
त्यही बेला मन्त्रीमा सिफारिस गरिएका गणपतिलाल श्रेष्ठको नाम पनि अन्तिम समय सूचीबाट हटाइएको थियो।
गणपतिलालले यसबारे प्रतिक्रिया दिँदै आफूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिने भनिएकोमा पछि भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रस्ताव गरिएपछि अस्वीकार गरेको बताएका थिए।
यसबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री कार्कीले पत्रकारहरूसमक्ष स्पष्टीकरण दिएकी छन्।
'गणपतिजीले काठमाडौं उपत्यकाको मन्दिर, संस्कृति र गुठी संरक्षणमा काम गर्दै आउनुभएकाले उहाँलाई भूमि मन्त्रालय दिने कुरा भएको थियो। गुठी पनि भूमि मन्त्रालय मातहत पर्ने भएकाले त्यो जिम्मेवारी उहाँलाई उपयुक्त होला भन्ठानेका थियौं। सँगसँगै, मेरो भागमा परेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि दिने कि भन्ने कुरा भएको हो,' प्रधानमन्त्री कार्कीले भनिन्, 'तर नेपाल वायुसेवा निगमको सुधारका लागि नागरिक उड्डयन क्षेत्र राम्ररी बुझेको कोही पुरानो जिम्मेवार पाइलटलाई ल्याउनुपर्छ भन्ने निष्कर्षमा हामी पुग्यौं।'
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत पर्छ। यो सरकारी संस्थानभित्र अत्यन्त धेरै बेथिति रहेकाले यसको सञ्चालनमा सुधार ल्याउन यही क्षेत्रको विज्ञ र अनुभवी व्यक्ति ल्याउने सरकारको मनसाय रहेको प्रधानमन्त्री कार्कीले बताइन्।
'नेपाल वायुसेवा निगम भ्रष्टाचारमा डुबेको छ। त्यहाँका थुप्रै कर्मचारीविरूद्ध मुद्दा परेका छन्। यो संस्था देशका लागि घाँडो भएको छ,' उनले भनिन्, 'त्यसैले यो संस्था सम्हाल्न र त्यसमा रहेका बेथिति अन्त्य गर्दै राम्ररी सञ्चालनमा ल्याउन परिपक्व, अनुभवी र जिम्मेवार विज्ञ व्यक्ति नै नगई हुँदैन भन्ने हामीलाई लाग्यो।'
यसको निम्ति नागरिक उड्डयन क्षेत्रको अनुभव भएको र वायुसेवा निगम राम्ररी बुझेको अनुभवी पाइलट ल्याउने कुरा भएको प्रधानमन्त्री कार्कीले खुलाइन्।
यही कारण गणपतिलाल श्रेष्ठलाई भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय मात्र सम्हाल्न प्रस्ताव गरिएकोमा उनले अस्वीकार गरेको प्रधानमन्त्री कार्कीले बताइन्।