भक्तपुर, खौमामा बस्ने इन्द्रकाजी शिल्पकारको सपना थियो — आफ्नो घर परम्परागत शैलीमा बनाउने।
२०७२ सालको भुइँचालोमा उनको पुरानो घर जीर्ण भएको थियो। त्यो घर करिब तीन सय वर्ष पुरानो थियो, उनको पुर्ख्यौली सम्पत्ति। भूकम्पको धक्काले घर उकास्नै नमिल्ने गरी जीर्ण भएपछि उनी नयाँ बनाउने तरखरमा थिए।
इन्द्रकाजीको सपना उनका छोरा इन्द्रप्रसाद र छोरी रबीताको पनि सपना बनेको थियो। बाबु र छोराको अगाडिको नाम 'इन्द्र' एकअर्कासँग मिल्छ। नामझैं उनीहरूको काम पनि मिल्छ।
इन्द्रप्रसादले बुबाकै पेसा पछ्याउँदै काष्ठकलाको कामलाई निरन्तरता दिइरहेका छन्। छोरी रबीता वास्तुविद हुन्।
पेसागत हिसाबमा उनीहरूको काम एकअर्कासँग जोडिन्छ। घर कस्तो बनाउने भन्ने सोचाइ पनि मिल्यो। इन्द्रप्रसाद र रबीता त बुबाको सपना जसरी भए पनि पूरा गर्नुपर्छ भनेर लागि नै परे।
२०७८ सालमा उनीहरूले घर बनाउन थाले।
वरपरका छरछिमेकदेखि आफन्तहरूले भने, 'सबैले पक्की बनाइरहेका बेला किन परम्परागत घर बनाएको? घर भनेको बस्न पुग्ने भए भइहाल्यो नि! किन यति धेरै पैसा फालेको?'
शिल्पकार परिवार भने आफ्नो योजनामा अडिग थियो।
उनीहरू सोच्थे, 'जीवनमा एकपटक बनाउने घरमा किन गर्नु सम्झौता?'
अहिले यही घर हेर्न मान्छेको घुइँचो लाग्न थालेको छ। त्यसो हुनुको कारण हो, केही दिनअघि युनेस्कोले यो घरलाई अवार्ड दिने घोषणा गरेको छ।
'दिगो विकास' अन्तर्गत यो घरलाई 'एसिया प्यासिफिक अवार्ड' दिइएको बताउँदै युनेस्कोले लेखेको छ, 'यो घर परम्परागत शैली पछ्याएर बनाइएको छ, जुन इँटा र काठको वास्तुकलासहित बनेको छ। पुरानो घर भत्काएर बनेको यो नवनिर्मित घरले आधुनिक शिल्पकलालाई पनि समाहित गर्दै भक्तपुरको ऐतिहासिक वास्तुकला जोगाएको छ। आधुनिक संरचनाको तुलनामा सम्पदामैत्री संरचना पनि दिगो र सुरक्षित हुनसक्छ भन्ने राम्रो उदाहरण बनेको छ यो घर।'
चार आना क्षेत्रफलमा बनेको घरको नाम राखिएको छ – सिँ कःमि छेँ।
![Indra ko ghar (12).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (12).jpg)
![Indra ko ghar (1).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (1).jpg)
नेपाल भाषा (नेवाः) मा सिँ भनेको काठ हो। कःमि भनेको काम गर्ने मान्छे र छेँ भनेको घर। यही अपभ्रंस हुँदै हिजोआज सिकर्मी भन्न थालिएको इन्द्रकाजी बताउँछन्।
६१ वर्षे इन्द्रकाजी काष्ठकलामा काम गर्ने दक्ष मानिसमध्ये गनिन्छन्। भक्तपुर मात्र नभई काठमाडौं र ललितपुरका मन्दिर र सम्पदाका काम गर्नुपर्दा उनको नाम अग्रपंक्तिमा सम्झिइन्छ। उनले काठमा बुट्टा कुँद्ने काम आफ्नो पिता-पुर्खादेखि सिक्दै आएका हुन्।
उनले यो काम १२ वर्ष उमेरका हुँदादेखि थालेका हुन्। त्यतिबेला उनी कक्षा दुईमा पढ्दै थिए। भक्तपुरको दत्तात्रय क्षेत्रका सम्पदा संरक्षण निम्ति जर्मन परियोजना आएको थियो। आर्थिक अवस्था कमजोर भएकाले बुबाले स्कुल पढ्दै गरेका इन्द्रकाजीको पढाइ छुटाए। अनि हातमा काष्ठकलाको बुट्टा कुँद्ने ज्याबल थमाइदिए।
'पढ्न पाइनँ भन्ने थकथकी सधैं लाग्छ। तर घरको आर्थिक अवस्था उकास्न यो काम गर्न जरूरी थियो,' इन्द्रकाजीले भने, 'बुबा र ठूलो बुबासँग सिक्दै यो पेसामा लागेको थिएँ।'
लामो अनुभवबाट इन्द्रकाजीले बुझेका थिए — काठको काम एकदम गाह्रो हुन्छ तर कमाइ धेरै हुँदैन।
त्यसैले उनी आफ्नो छोरा इन्द्रप्रसादलाई कुनै हालतमा यो काम गराउन चाहँदैन थिए।
तर स्कुले विद्यार्थी छँदै इन्द्रप्रसाद बुबाको काम नियालेर बस्थे। छुट्टी हुँदा ज्याबल समाएर बुट्टा कुँद्न थालिहाल्थे। बुबा रोक्न खोज्थे, उनी मान्दैन थिए। हुँदाहुँदा इन्द्रप्रसाद पोख्त बन्दै गए। आफूले जानेको कामलाई नै पढाइको विषय बनाए र ललितकला क्याम्पसमा भर्ना भए। त्यहाँ स्नातक र त्रिभुवन विश्वविद्यालयमा मूर्तिकलामा स्नातकोत्तर गरेपछि उनी बुबाकै पेसालाई निरन्तरता दिइरहेका छन्।
अहिले शिल्पकार परिवार पाटनको भाइदेगः मन्दिरको पुनर्निर्माणमा काष्ठकलाको काम गरिरहेको छ। भूकम्पपछि पाटन दरबार क्षेत्रका प्रायः मन्दिरमा यही परिवारले काष्ठकलाको काम गरेको हो।
इन्द्रकाजीका दुई छोरीको बिहे भइसक्यो। कान्छी रबीता वास्तुविदका रूपमा सम्पदाकै काममा सक्रिय छिन्। आफ्नो परिवार मन्दिर र सम्पदा निर्माणमा लागेको देख्दै हुर्किएकी उनले परिवारलाई सहयोग पुग्ला भनेरै वास्तुशास्त्र पढेकी थिइन्।
नभन्दै काम लाग्यो। उनैले यो घर कस्तो बनाउने भनेर नक्सा बनाएकी थिइन्।
रबीताले बनाएको यो घरको डिजाइन परम्परागत नेवाः घरसँग मिल्छ जुन साढे तीन तलाको छ। हरेक तलामा एउटा मात्र कोठा छ। बाँकी खुला बरन्डा।
नेवाः घरको ढाँचा अनुसार तल्लो तलालाई 'छेँदि' भनिन्छ। यहीबाट नेपाली शब्द छिँडी आएको हो भन्ने विश्वास गरिन्छ। यो तलामा भएको खुला बरन्डामा शिल्पकार परिवारले काष्ठकलाको काम गर्छ। त्यहीँको भित्तामा इन्द्रप्रसादले राष्ट्रिय ललितकला प्रदर्शनीमा पुरस्कार पाएको काष्ठकलाको काम पनि राखेका छन्।
नेवाः घरको दोस्रो तलालाई 'मातं' भनिन्छ। यस तल्लालाई नेवाःहरू मूल तला पनि मान्छन्। यो तलामा धुकू क्वथा (भण्डार कोठा) देखि द्यनेगु क्वथा (सुत्ने कोठा) हुन्छ। यो तलामा शिल्पकार परिवारको एउटा सुत्ने कोठा र खाली बरन्डाजस्तो भाग छ। बरन्डालाई उनीहरूले पाहुना आउँदा कुराकानी गर्ने र भोज गर्ने ठाउँ बनाएका छन्। तलको छेँदि पनि कहिलेकाहीँ भोजका लागि प्रयोग हुन्छ। दोस्रो तलामा उनीहरूले आफ्नो काम गर्ने ज्याबल पनि सजाएर राखेका छन्।
![Indra ko ghar (4).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (4).jpg)
![Indra ko ghar (2).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (2).jpg)
त्यसमाथिको तलालाई 'च्वतँ' भनिन्छ। नेवाः समुदायमा यसलाई पाहुना राख्ने कोठाको रूपमा पनि प्रयोग गरिन्छ। माथिल्लो तलालाई बैंगः (बुइगः) भनिन्छ। नेपालीमा प्रयोग हुने बुइगल भन्ने शब्द यसैबाट आएको मानिन्छ। यस तलामा शिल्पकार परिवारको भान्सा कोठा छ।
हरेक तलामा उनीहरूले आफ्नो शिल्प देखिने गरी काठहरू कुँदेका छन्। प्रायः जसो काम ब्यासीस्थित उनीहरूकै कारखानामा बनाइएको हो। कतिपय राम्रा थाम, झ्याल र ढोकाहरू उनीहरूले पुरानो घरको समेत हालेका छन्।
इन्द्रप्रसादका अनुसार यो घर बनाउँदा उनीहरूलाई सबैभन्दा ठूलो समस्या नक्सा पास गर्न भएको थियो। उनीहरू यो घरलाई ढलान र पिलर हालेर नभई 'वाल सिस्टम' मा बनाउन चाहन्थे। त्यसमाथि उनीहरूले सिमेन्ट नभई माटो प्रयोग गरेर बनाउन खोजेका थिए।
भूकम्पपछि बनेको नयाँ नियमले उनीहरूलाई समस्या गरायो। त्यस्तो घर बनाउने भए उनीहरूले दुई तला मात्र बनाउन पाउँथे। तर उनीहरूलाई साढे तीन तलाकै बनाउनु थियो। सम्पदा क्षेत्र भएकाले ३५ फिट उचाइको मात्र बनाउन पाउने अर्को नियम थियो।
समस्याको हलका रूपमा उनीहरुले माटोको साटो सिमेन्ट नै प्रयोग गरेर बनाउने भए। त्यसमा पुरानो शैलीको पनि समायोजन हुँदै 'हाइब्रिड' घर बन्यो। बाहिरबाट हेर्दा पुरानै देखियोस् भनेर बज्र र सुर्खी प्रयोग गरे।
'हामीलाई पूरै ढलान गरेर नभई मोटो मोटो गारो राखेर घर बनाउनु थियो। त्यो पनि साढे तीन तलाको। हामीले सिमेन्ट प्रयोग गरे पनि काठकै थाम राखेर वाल सिस्टमको घर बनायौं। केही पुरानो र केही नयाँ प्रविधिमा सम्झौता गरेर नक्सा पास गर्दा करिब दस महिना लागेको थियो,' इन्द्रप्रसादले भने।
घर बनाउँदा अर्को समस्या उनीहरूलाई काठ पाउन थियो। आफूले पुर्खौंदेखि जानेको काठको सीपलाई उनीहरू घर बनाउँदा देखाउन चाहन्थे। तर भनेको आकारको काठ पाउनै गाह्रो भयो। त्यसमाथि महँगो पनि।
'हामीले प्रायः नयाँ काठ प्रयोग गरेका छौं। जग खन्दा नै एक तलालाई चाहिने झ्याल-ढोका बनाइसकेका थियौं। बाँकी बिस्तारै बनाउँदै गयौं,' इन्द्रप्रसादले भने।
उनीहरूले घरलाई टेको दिने थामहरू अग्राख प्रयोग गरेका छन्। यसलाई काठमध्ये सबैभन्दा बलियो र राम्रो मानिन्छ। बीचका सहायक काठ भने सल्लाका हुन्। इँटाहरू प्रायः स्थानीय नै छन्, भुइँमा बिच्छ्याउन केही तेलिया इँटा प्रयोग गरिएको छ।
यो घर बनाउँदा अर्को ठूलो समस्या वा घटना भनेको इन्द्रकाजीको औंलामा ठूलो चोट लाग्नु हो। मेसिनमा काठको काम गर्दैगर्दा उनको एउटा हातका केही औंला काटिए। शल्यक्रिया गरेर औंला जोडिए तर राम्ररी चल्दैनन्। यसले गर्दा उनले आफूले जानेको पुर्ख्यौली सीपबाट टाढा हुनुपरेको छ।
'छोरासँग काठको सीप नभएको भए यो घर उकास्न गाह्रै पर्थ्यो होला,' इन्द्रकाजीले भने, 'आफूले जानेको काम गर्न नपाउँदा दुःख लाग्छ। तर अहिले छोराले यो काम सम्हालेको छ भनेर खुसी पनि हुन्छु।'
![Indra ko ghar (3).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (3).jpg)
![Indra ko ghar (5).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (5).jpg)
विभिन्न समस्याका बाबजुद यो 'सिँ कःमि छेँ' २०८० सालसम्म तयार भयो। अहिले त युनेस्को अवार्ड नै पाइसक्यो। छोरी रबीताले यो घरको नक्सा मात्र होइन, युनेस्को अवार्डमा पुर्याउन पनि ठूलो भूमिका खेलेकी छन्।
एक दिन उनलाई एक जना साथीले एउटा अनलाइन लिंक पठाएका थिए जसमा युनेस्को अवार्डबारे लेखिएको थियो।
'सुरूमा त प्रक्रिया हेरेरै झ्याउ लागिसकेको थियो। त्यसमा कति पाना त प्रश्नहरूको उत्तर नै लेख्नुपर्ने थियो। अनि फोटो लगायत विभिन्न कागजात पनि बुझाउनुपर्ने थियो। त्यसमा आवेदन दिएर काम छैन भन्ने लागेको थियो,' आवेदन भर्दाको दिन सम्झिँदै रबीताले भनिन्, 'फेरि बुझ्दा हरेक वर्ष युनेस्कोले अवार्ड दिएको रहेछ। नेपालले पहिला पनि अवार्ड पाएको देखेपछि आवेदन दिई हेरौं न त भन्ने भयो।'
करिब दस दिनमा सबै प्रक्रिया पुर्याएर रबीताले आवेदन भरेकी थिइन्।
'परिवारको साथ र सहयोग नभएको भए मैले हिम्मत नै गर्न सक्दिनँ थिए होला,' उनले भनिन्, 'निकै झन्झट भयो तर अहिले मेहनतको मीठो फल चाख्न पाइरहेका छौं।'
भक्तपुर नगरपालिकाले परम्परागत शैलीमा घर बनाउनेलाई ३३ प्रतिशत सहुलियत रकम दिन्छ। नगरपालिकाको मापदण्डमा परम्परागतसँग आधुनिक शैलीको पनि हाबी छ। त्यसले गर्दा यो घरको आंशिक भागले मात्र सहुलियत रकम पाएको थियो। सरकारी निकायले यस्ता घरलाई पनि सहुलियत दिने हो भने भक्तपुर यस्ता घरहरूको सहर बन्न सक्ने रबीताको धारणा छ।
'नगरपालिकाले बाहिर परम्परागत इँटा राखेर बनाइने आधुनिक घर र हाम्रोलाई उस्तै नजरले हेर्यो। परम्परागत प्रविधिलाई विश्वास नगरी कंक्रिटको घर नै बलियो हुन्छ भन्ने धारणा राख्यो। उनीहरूले सबै घरलाई एउटै नभई फरक मापदण्ड राख्दै आफ्नो नियम परिमार्जन गर्नुपर्छ,' उनले भनिन्, 'अहिले युनेस्को अवार्ड पाएकाले यस्ता घरलाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने ज्ञान अब सरकारलाई हुन्छ कि!'
इन्द्रकाजीका अनुसार परम्परागत शैलीमा बनेका यस्ता घरमा जाडो महिनामा चिसो कम हुन्छ। गर्मीमा पनि त्यति गर्मी हुँदैन। यस्ता घरले आफैं तापक्रम सन्तुलित बनाउने भएकाले 'एसी' जोडिरहनुपर्दैन। सिमेन्टको भुइँले जस्तो चिसोले खुट्टा सुन्निने समस्या पनि कम हुन्छ।
'यसको समस्या भनेको चाहिँ समय समयमा छाना मिलाउनुपर्छ र काठहरू नबिग्रिउन् भनेर औषधि हाल्नुपर्छ। वर्षमा एकपटक घर व्यवस्थित गर्नु खासै ठूलो समस्या भने होइन,' उनले भने।
युनेस्को अवार्ड पाएको यो घरको आडैमा अर्को नेवाः शैलीकै घर छ जुन शिल्पकार परिवारकै हो। यो घर करिब बीस वर्षअघि बनाइएको थियो। यो घर भने माटो नै प्रयोग गरेर पूरै परम्परात नेवाः शैलीमा बनाइएको छ। अहिलेको नयाँ घरमा भन्दा यो घरमा काठ प्रयोग पनि धेरै छ।
'यो घरका सबै काठ कवाडीमा किनेका हौं। दलिन, झ्याल हामीले एकदम सस्तो मूल्यमा पाएकाले धेरै प्रयोग गरेका छौं,' छोरा इन्द्रप्रसादले भने।
त्यही घरको तलको तलामा बाबु–छोराको काष्ठकलाको काम संग्रहित गरेर संग्रहालयजस्तै बनाइएको छ। केही कला बिक्रीका लागि छन्। तर इन्द्रकाजीको हातले अब त्यस्तै मिहिन काम गर्न नसक्ने भएकाले उनले बनाएका कलाकृति बिक्री नहुने इन्द्रप्रसादले बताए।
![Indra ko ghar (13).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (13).jpg)
![Indra ko ghar (6).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (6).jpg)
केही समयअघि यो घरलाई होमस्टेका रूपमा पनि सञ्चालन गरिएको थियो। अहिले दुवै घरमा उनीहरूको सात जनाको परिवार बस्छ। यहाँ बस्नेहरूमा इन्द्रकाजी र उनका दुई छोराछोरीसहित उनकी श्रीमती, बुहारी र उनका दुई बालबच्चा छन्।
इन्द्रप्रसादका अनुसार बीस वर्षअघि बनेको यही घरलाई युनेस्कोमा पठाउने सोच उनीहरूलाई वर्षौंअघि आएको थियो। तर आवश्यक जानकारी नहुँदा आवेदन भरेनन्। योपटक भने इन्टरनेटको सहज पहुँच र आवश्यक जानकारीले उनीहरूलाई सहज बनायो। युनेस्कोको मापदण्डअनुसार उनीहरूको नवनिर्मित घरलाई नै अवार्डका लागि आवेदन भरेका थिए।
भक्तपुरबाट सन् २००४ मा सम्पदाकर्मी रवीन्द्र पुरीले बनाएको 'नमूना घर' ले युनेस्को एसिया प्यासिफिक अवार्ड पाएको थियो। त्यसको दुई दशकपछि सिँ कःमि छेँले सोही अवार्ड पाउँदा मानिसहरूले यसलाई अर्को नमूना घरका रूपमा सम्झिन थालेका छन्।
कतिलाई यो घर आफ्नै आखाँले हेर्न मन छ भने भ्रमण पनि गराउन सक्ने शिल्पकार परिवारले बताएको छ।
'हामीलाई घर हेर्न आउँदैछौं भनेर पूर्वसूचना भने दिनुहोस् है!' उनीहरूको आग्रह छ।
सबै तस्बिरहरूः नवीनबाबु गुरूङ/सेतोपाटी
![Indra ko ghar (8).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (8).jpg)
![Indra ko ghar (9).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (9).jpg)
![Indra ko ghar (10).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (10).jpg)
![Indra ko ghar (11).jpg](https://www.setopati.com/uploads/editor/2023 chetana G/indrako ghar/Indra ko ghar (11).jpg)