प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघे संक्रान्तिका दिन सिंहदरबारस्थित आफ्नो कार्यलय परिसरमा परम्परागत शैलीमा बनाइएको जस्तो देखिने ‘ढुंगेधारा’ खोलेर मेलम्ची खानेपानीको पुनःवितरण शुभारम्भ गरे।
पुनः वितरण सुरू गर्न प्रधानमन्त्री प्रचण्डका अतिरिक्त विभागीय मन्त्री महिन्द्रराय यादव, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र काठमाडौंबाट निर्वाचित सांसदसमेत सहभागी थिए।
प्रधानमन्त्री प्रचण्डले भ्रेमथाङको भेलबाढीका कारण क्षतिग्रस्त हेडवर्क्सबाट पथान्तरण गर्नुपर्ने र वर्षायाममा सुरूङसमेत जोगाउनुपर्ने भएकाले पानी आउन ढिला भएको बताए।
‘दीर्घकालीन रूपमा समस्या समाधान नहुञ्जेलसम्मका लागि हरेक वर्ष मनसुनबाट हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गर्दै अरबौं लगानीमा निर्मित मुख्य संरचनाको रूपमा रहेको २७ किलोमिटर लामो सुरूङलाई क्षति हुनबाट जोगाउन मनसुन अवधिभर सुरूङ सञ्चालन बन्द गर्नुपर्ने बाध्यताका कारण बाह्रै महिना पानी आपूर्ति गर्न नसकिएकोप्रति आम उपभोक्ताहरूमा जानकारी गराउँछु। यस वर्षको बाढीले मेलम्ची हेडवर्क्समा गत वर्षको तुलनामा धेरै क्षति पुर्याएकोले मेलम्ची पानी आपूर्तिमा केही विलम्ब हुन गएकोप्रति पनि हाम्रो दायित्ववोध भएको छ,’ प्रधानमन्त्रीले भने।
आयोजनालाई दीगो रूपमा सञ्चालन गर्ने विषय नेपाल सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बताए।
दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्ययोजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने उनको भनाइ छ।
आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई निर्देशनसमेत दिएको पनि उनले बताए।
मेलम्ची खानेपानी आयोजनाको सुरूङ निर्माणमा संलग्न इटालियन निर्माण कम्पनी सिएमसीसँग ठेक्का रद्द भएपश्चात उक्त कम्पनीसँग आवद्ध विभिन्न स्थानीय आपूर्तिकर्ता र गोदाम एवं भण्डारणका लागि घर भाडामा दिएका घर तथा जग्गाधनीहरूले भुक्तानी नपाएकाप्रति सरकारको ध्यानाकर्षण भएको प्रधानमन्त्रीले बताए।
‘मेलम्ची खानेपानी आयोजनाको सुरूङ निर्माणमा संलग्न इटालियन निर्माण कम्पनी सिएमसीसँग ठेक्का रद्द भएपश्चात उक्त कम्पनीसँग आवद्ध विभिन्न स्थानीय आपूर्तिकर्ता र गोदाम एवं भण्डारणका लागि घर भाडामा दिएका घर तथा जग्गाधनीहरूले भुक्तानी नपाएको समस्या लगायत विविध कारणले आयोजनाको काम पटकपटक अवरुद्ध हुन गएकोले सो समस्या समाधानका लागि सिएमसीबाट पछि सरकारी बाँकीसरह असुलउपर गर्ने गरी नेपाल सरकारले तत्काललाई राहत प्रदान गर्ने विषयमा राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य डा. दिल बहादुर गुरूङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिनेछ,’ उनले भने।
यसअघि कहिलेकहिले भयो उद्घाटन?
हिउँदयाममा मात्र पथान्तरण गर्न मिल्ने गरी काठमाडौं ल्याइएको पानी प्रधानमन्त्रीले आठौंपटक सुभारम्भ गरेका हुन्।
हेडवर्क्स पुन:निर्माण सीधै खोला छिराएर पानी पथान्तरण गरिएकाले वर्षा सुरू हुनेबित्तिकै सुरूङ बन्द गर्नुपर्ने आयोजनाले जानकारी दिएको छ।
यद्यपि बाह्रै महिना पथान्तरण गर्न मिल्ने व्यवस्था मिलाउन निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डले बताए।
मेलम्ची खानेपानी आयोजनाको पहिलो उद्घाटन तत्कालीन खानेपानी मन्त्री बिना मगरले गरेकी थिइन्।
मगरले २०७७ असार २१ गते उद्घाटन गर्दै पानी पठाउन सुरू गरेकी थिइन्।
राम्ररी सुरूङ परीक्षण नगरी पानी पथान्तरण गर्दा अम्बाथानस्थित अडिट टनेल भत्कियो। दुई जनाको मृत्यु भयो।
असार ३० गते ‘अडिट टनेल’ भत्किएर २७ वर्षीय इन्जिनीयर सतीश गोइत र ५६ वर्षका चालक राधाकृष्ण थापाले ज्यान गुमाए। इन्जिनीयर शेखर खनाल र पेमादोर्जे तामाङ घाइते भएका थिए।
२०७८ फागुनको पहिलो हप्ता मेलम्चीको हेडवर्क्स अम्बाथानमा पुगेर तत्कालीन खानेपानी मन्त्री मणिचन्द्र थापा र सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले दोस्रो पटक पानी पथान्तरण गरेका थिए। त्यतिबेला पनि काठमाडौं पानी पठाउने कार्यको उद्घाटन भएको थियो।
झन्डै १० दिन लगाएर पानी काठमाडौं आइपुग्यो। काठमाडौं आइपुगेको पानीलाई २०७७ फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लसिङ टनेलको हाइड्रोलिक मेकानिकल गेटको बटम थिचेर प्रशोधन केन्द्रमा झारेका थिए।
आयोजना सुरू भएको २२ वर्षपछि मेलम्चीको पानी काठमाडौं आइपुगेको खुसीयालीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ चैत २० गते काठमाडौंको भृकृटीमण्डपमा निर्माण गरिएको ढुंगेधारा खोलेर औपचारिक उद्घाटन गरेकी थिइन्।
भृकुटीमण्डको त्यो धारामा २४ सै घन्टा पानी खस्ने बताइएको थियो।अढाइ महिनापछि आएको बाढीले भृकुटीमण्डको धारामात्रै सुकाएन, मेलम्ची खानेपानी आयोनाको भविष्य नै अनिश्चित बनाइदियो।
बाढीले पुरेको हेडवर्क्स क्षेत्रको गेग्रान पूरै नपन्छाइ २०७८ चैत्रमा अस्थायी तवरले पानी काठमाडौं ल्याइएको थियो। २०७८ चैत १९ मा तत्कालीन खानेपानी मन्त्री उमाकान्त चौधरी मेलम्चीको मुहानमा पुगेर डाइभर्सन सुरूङमा पानी भर्न सुरु गरेका थिए।
वैशाख ११ गते खानेपानी मन्त्री चौधरीले नै बानेश्वरस्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को ट्याङ्कीबाट स्टेरिङ घुमाएर मेलम्चीको पानी वितरणको पुनः उद्घाटन गरे।
तर, तीन महिना पनि पानी आएन। वर्षा लागेपछि खोलामा भल बढ्न थाल्यो। सुरूङको मुख बन्द गर्नुपर्यो।
उनै मन्त्री चौधरीले २०७९ मंसिर २३ गते पनि मेलम्चीको पानीको शुभारम्भ गरेका थिए।
बाढीले तहस नहस बनाएको बाँध क्षेत्र, २२ किलोमिटर पहुँचमार्ग नबनाइँदा मेलम्चीको पानी दिगो रूपमा कहिले आउँछ भन्ने प्रश्न अनुत्तरित छ।
मेलम्चीको पानी दिगो रूपमा पानी ल्याउन अहिले पुरिएकै स्थानमा पुनः बाँध क्षेत्र बनाउन नहुने दातृ निकाय एशियाली विकास बैंकले जानकारी दिएको छ।
उसले अम्बाथान (अहिले हेडवर्क्स भइरहेको स्थान) बाट झन्डै एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्न सुझाव दिएको छ।
वारिपारि दुवैतिर पहिराको जोखिम रहेकाले अम्बाथानमा बाँध क्षेत्र कायम गर्न नहुने उसको सुझाव छ।
एसियाली विकास बैंकले गत सेप्टेम्बरमा बुझाएको विस्तृत प्रतिवेदन अध्ययन भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।
अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २६.९ किलोमिटर लामो सुरूङ निर्माण गरिएको छ। त्यसका लागि झन्डै ३२ अर्ब रूपैयाँ खर्च भएको छ। त्यसमा एसियाली विकास बैंकको २० अर्बभन्दा बढी ऋण र नेपाल सरकारको १२ अर्ब रूपैयाँ खर्च भइसकेको छ।
यता काठमाडौं उपत्यकामा पानी वितरणका लागि पाइप सञ्जाल विस्तार गर्नका लागि ३२ अर्बभन्दा बढी रूपैयाँ खर्च भइसकेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनलाय (पिआइडी)ले यो काम गरिरहेको छ।
सर्कथली क्षेत्रमा बाँध सार्दा ४ अर्बभन्दा बढी लागत थपिने आयोजनाको आकलन छ।
अम्बाथान क्षेत्रमा हेडवर्क्स बनाउन मात्रै १ अर्बभन्दा बढी खर्च भएको पन्तले बताए।
‘हेडवर्क्ससम्म पुग्ने पहुँच मार्ग, सर्कथलीदेखि अम्बाथानसम्म सुरूङ, हेडवर्क्सको सर्भे, डिजाइन, निर्माण, सुपरिवेक्षण आदिका हिसाबले बाँध सार्न ३ देखि ४ अर्ब लागत थपिने अनुमान गर्न सकिन्छ,’ उनले भने।
२० करोडभन्दा बढी लागत खर्चिएर दुई हिउँद काठमाडौंमा अस्थायी तवरले पानी ल्याइएको थियो। यस वर्ष गेग्रान नछिरोस् भनेर १ नम्बर र ९ नम्बर गेटमा हाइड्रोलिक उपकरणसमेत राखिएको थियो।
साउन २८ र २९ गते आएको बाढीले ती संरचना पुरेको थियो।
बाँध क्षेत्र सार्दा थप तीन वर्ष अस्थायी तवरले नै पानी काठमाडौं पथान्तरण गर्नुपर्ने पन्तले बताए।
‘पर्याप्त भौगर्भिक, वातावरणीय अध्ययन भएर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुन नै ६–७ महिना लाग्छ। त्यसपछि ठेक्का लाग्न ६ देखि ९ महिनासम्म लाग्छ,’ उनले भने, ‘यसअघि हेडवर्क्स तयार गर्न लागेको समयलाई आधार मान्दा पनि कम्तीमा तीन वर्ष लाग्ने देखिन्छ,’ पन्तले भने।
पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउने, दोस्रो चरणमा याङ्ग्री र लार्केबाट १७–१७ करोड लिटर पानी थपेर दैनिक ५१ करोड लिटर पानी पुर्याउने आयोजनाको लक्ष्य थियो।
त्यसका लागि लार्केसम्म पुग्ने पहुँच मार्गका लागि मुआब्जा वितरण भएर ट्र्याकसम्म खोलिसकेको अवस्थामा बाढी, पहिरोले त्यहाँ पनि क्षति पुर्याएको आयोजनाले बताएको छ।
मेलम्चीको हेडवर्क्स सार्दा याङ्ग्री र लार्के परियोजनाको समेत डिजाइन बदल्नुपर्ने अवस्था आउने पन्तले बताए।
‘लार्केको पानी याङ्ग्रीमा मिसाउने गरी आयोजना अघि बढेको थियो। हामीले अहिले अपनाउन खोजेको प्रविधिअनुसार खोलाको पानी थिग्य्राएरमात्रै खोलामा सुरूङमा हाल्नुपर्छ। थिग्य्राएको पानी पुनः खोलामा मिसाउन मिल्दैन। त्यसकारण मेलम्चीको हेडवर्क्स सार्दा यी सबैमा विचार पुर्याउनुपर्ने हुन्छ,’ उनले भने।
अम्बाथानको हेडवर्क्स सार्दा लार्के र याङ्ग्रीको पानी प्राविधिक हिसाबले खसाल्न मिल्ने/नमिल्ने अध्ययन हुन बाँकी रहेको पनि पन्तले बताए।
यसैबीच खानेपानी मन्त्रालयले एसियाली विकास बैंकले दिएको अल्प, मध्य र दीर्घकालीन विकल्पहरूमा इन्जिनियरिङ अध्ययन संस्थानबाट एक महिनाभित्र पुनरवलोकन गर्ने निर्णय गरेको थियो।
संस्थानबाट राय आउन बाँकी रहेको र त्यसपछि दीर्घकालीन समाधानका लागि काम गरिने कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।
समय रेखामा मेलम्ची
–२०४१ सालमा साविक हेलम्बु गाविसको मेलम्ची नदीसहित २२ विकल्प पहिचान
–२०४९ सालमा हेलम्बुपूर्वको याङ्ग्री र लार्केसमेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने निष्कर्ष
–२०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन
–२०६४ सालमा नेपाल सरकार र प्रमुख दाता एसियाली विकास बैंकबीच ६ वर्षभित्र सम्पन्न गर्ने सहमति
–२०६५ सालमा सुरुङ निर्माण गर्न चाइना रेलवे कम्पनीसँग ठेक्का
–२०६६ साल वैशाखमा सुन्दरीजलमा पहिलो ब्लास्ट गरी काम सुरूङको काम अघि बढाइयो
–२०६९ सालमा ६ किलोमिटर निर्माण गरिसकेपछि चाइना रेलवे कम्पनीसँगको ठेक्का रद्द
–२०७० सालमा बाँकी सुरुङ निर्माण गर्न इटलीको सिएमसीलाई ठेक्का सम्झौता
–२०७५ सालमा २५ किलोमिटरभन्दा बढी सुरूङ खनिसकेको अवस्थामा फेरि विवाद, सिएमसीसँगको ठेक्का पनि रद्द
–२०७६ सालमा सुरूङ र हेडवर्क्सका बाँकी काम गर्न सिनो हाइड्रोसँग ठेक्का सम्झौता
–२०७७ असार २१ सुरुङको पहिलो परीक्षण
–२०७७ असार ३० गते अडिट टनेल भत्कँदा दुई जनाको मृत्यु, दुई जना घाइते
–विसं २०७७ फागुन १० मा सुरूङमा पानी परीक्षण सुरू
–२०७७ फागुन २२ मेलम्चीको पानी सुन्दरीजल पहिलोपटक काठमाडौं आइपुग्यो
–२०७७ चैत १५ मेलम्चीको वितरणस्वरूप उपत्यकावासीको धारामा पठाइयो
–२०७७ चैत २० राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन गरियो
–२०७८ असार १, साउन १६ र १७ गतेको भ्रेमाथाङको बाढीले हेडवर्क्स तहसनसह
–२०८० साउन २८ र २९ को बाढीले मुहान क्षेत्रमा पुनः क्षति