मैले इन्टरनल मेडिसिनमा एमडी पढ्ने अवसर पाएको थिएँ। चिकित्सा शिक्षा आयोगको परीक्षामा मैले उत्कृष्ट अंक समेत ल्याएको थिएँ। तर पनि मैले यो विषय पढिनँ।
उच्च शिक्षामा चरम श्रम शोषण र मानसिक उत्पीडन छ। यस्तो अवस्थामा कि त मानसिक र शारीरिक दबाब सहनुपर्ने, कि त विदेशिनुपर्ने देखिएको छ।
झन्डै दुई वर्षअघि एक आवासीय चिकित्सकको ३६ घण्टे ड्युटीका क्रममा निधन भयो। उहाँको हृदयघातका कारण मृत्यु भएको थियो। ३६ घण्टासम्म लगातार ड्युटीमा लगाउनु भनेको श्रम ऐन विपरीत हो। त्यो बीचमा चिकित्सकले आराम गर्न पाउने भए पनि अस्पतालमै गरिने आराम पर्याप्त हुँदैन। सधैं आरामका लागि समय पाइन्छ भन्ने पनि हुँदैन।
एक हप्तामा एक दिन पनि बिदा हुँदैन। अन्य देशहरूमा एक दिन बिदा दिइन्छ। वर्षमा १४ दिन बिदा दिइने भनिए पनि त्यो अस्पतालको इच्छामा भर पर्छ। त्यसैले तीन वर्षसम्म बिदा पाउने सम्भावना निकै कम हुन्छ। कतिपय अवस्थामा बिहेका लागि समेत बिदा पाउन कठिन हुन्छ, अनि किरियापुत्री बिदामा समेत कडाइ हुन्छ।
सबैभन्दा धेरै अन्यायमा महिला चिकित्सक परेजस्तो लाग्छ। बिहे नगरेको भए बिहे नगर्न र बिहे गरेको भए तीन वर्षसम्म बच्चा नजन्माउन दबाब दिइन्छ।
यस्तो भइरहँदा किन आवाज उठ्दैन त? यस्तो अन्यायमा परेको भए आवाज उठ्नुपर्ने होइन भन्ने प्रश्न आउन सक्छ। यसको कारण हो—डर।
केको डर भन्दा परीक्षामा फेल हुने डर। एउटै विभागमा बसेर तीन वर्ष काम गर्दा समस्या हुन सक्छ अनि फेल गराइदिन सक्छन् भन्ने डर आवासीय चिकित्सकलाई हुन्छ। निजी मेडिकल कलेजमा त २४ लाख बुझाइएको हुन्छ। मध्यम वर्गीय परिवारका लागि यो ठूलो रकम हो। त्यसैले उनीहरू बोल्न डराउँछन्।
सरकारी छात्रवृत्तिमा पढेकाहरू झन् बढी डराउँछन्, किनकि उसले छोड्यो, सिट खाली भयो भनेर दोब्बर जरिवाना लगाइन्छ। यस्तो अवस्थामा आवासीय चिकित्सक निल्नु न ओकल्नु भएका छन्।
यति हुँदा पनि आवाज भने नउठेको होइन। आवासीय चिकित्सकहरूले आवाज उठाएर स्वास्थ्य मन्त्रालयलाई आवासीय चिकित्सकले कति घण्टा ड्युटी गर्ने भनेर तोक्न छानबिन समिति गठन गर्न बाध्य बनाएका थिए। तर त्यसको प्रतिवेदन दराजमै थन्क्याइएको छ।
कतिपयले भन्न सक्छन्, विज्ञ चिकित्सक बन्नका लागि आवासीय हुनैपर्छ भनेर। धेरै अनुसन्धानहरूले के भनेका छन् भने लामो समय आराम नगरी काम गर्दा हृदयघात हुन सक्छ। तपाईं आफै कल्पना गर्नुस् त, तपाईंको चिकित्सक रातभर सुतेको छैन भने कसरी अपरेसन गर्न सक्छ अनि कसरी उपचार गर्न सक्छ?
गत वर्ष मात्र एउटा शिक्षण अस्पतालको मानसिक रोग विभागमा एक आवासीय चिकित्सकले मानसिक उत्पीडन खप्न नसकेर आत्महत्याको प्रयास गर्नुभयो। धन्य, उहाँलाई जोगाउन भने सकियो। ती महिला चिकित्सक गर्भवती समेत हुनुहुँदो रहेछ।
यस्तो किन भइरहेको छ भने शिक्षण अस्पतालहरूको मुनाफा हो। मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सक भएकाले उनीहरूले सबै काम गर्न सक्छन्। तर पैसा निकै थोरै दिए पुग्छ। आवासीय चिकित्सकलाई जति पेल्न पनि पाइने भएकाले उनीहरूभन्दा तलका एमबिबिएस मात्र पास गरेका र माथिका विज्ञहरू कम राख्न पाइन्छ। अर्को, हाम्रै सिनियरहरूले गर्दा पनि हो। कतिपय सेलिब्रेटी बनेका चिकित्सकहरूले आफ्ना मातहतका आवासीय चिकित्सकबारे ध्यान दिँदैनन्।
अर्को कुरा, भन्ने बेला आवासीय चिकित्सक भनिन्छ, तर आवासीय चिकित्सकलाई नै आवास दिइँदैन। जसले गर्दा लामो समय ड्युटी गरेर आफै मोटरसाइकल वा गाडी चलाएर जाँदा दुर्घटना हुने खतरा रहन्छ।
आवास उपलब्ध नगराउँदा अतिरिक्त खर्च समेत बढ्ने भयो। अस्पतालहरूले दिने निर्वाह भत्ता अपुग छ। आवासीय चिकित्सकले काम गरेको ज्याला दिइएको हुनाले यो पढेबापत दुई वर्ष सरकारले खटाएको ठाउँमा जानैपर्ने नियम वैज्ञानिक छैन। त्यति मात्र होइन, एक वर्ष त लोक सेवाको तयारी समेत गर्न पाइँदैन। जसले गर्दा सक्रिय जनशक्तिलाई प्रतिस्पर्धा गर्नबाट वञ्चित गरिएको छ।
आवासीय चिकित्सकको हकमा पनि श्रम ऐन आकर्षित हुन्छ। नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले पनि कुनै यस्तो नियम बनाएका छैनन्, जसले आवासीय चिकित्सकलाई फरक तरिकाले हेरोस्।
आवासीय चिकित्सकमाथि भएको अन्यायको छानबिन गर्नका लागि ध्यानाकर्षण समेत गराएका छौँ।
स्वास्थ्य क्षेत्रमा नर्ससहित अन्य स्वास्थ्यकर्मीका समस्या पनि छन्। तर केही सेलिब्रेटी चिकित्सक देखेर हामीलाई सम्भ्रान्त वर्ग हो भनेर हेरिन्छ। यही भएर हामीलाई समाजले पनि फरक तरिकाले हेरेको छ।
हामी तपाईंकै छोरा–छोरी, दाजुभाइ–दिदीबहिनी जस्तै हौँ।
हामी साह्रै अन्यायमा परेका छौँ।
हामीलाई साथ दिनुहोला।