पाल्पामा खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु भएको छ।
रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ जोगदमार बस्ने ३२ वर्षीय बिपिन पोखरेल र २३ वर्षीय प्रविन पुनको मृत्यु भएको हो।
गत सोमबार लु २१ प ९८७६ नम्बरको मोटरसाइकलमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ सत्यवतीतर्फ गएका उनीहरू सम्पर्कमा नआएपछि खोजी गर्दै जाँदा खोलामा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सम्पर्कमा नआएका दुबै जनाको खोजी गर्दै जाँदा बुधबार दिउँसो रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ डुम्रवासस्थित बाटोदेखि अन्दाजी ५ फिट तल ठाडो खोलामा मोटरसाइकल फेला परेको थियो।
खोलामा मोटरसाइकल फेला परेपछि सोही खोलाको तल्लो तटमा खोजी गर्दै जाँदा रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. १० मौवाघारीस्थित कञ्चन खोलामा दुबै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए।
शव पोष्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाई उक्त घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।