मर्स्याङ्दी र चेपे नदीको दोभानमा पुग्दा केही मानिस दाउरा बोकेर हिँडिरहेका थिए। कोही हरियो बाँस बोकेका थिए, कोही अन्य सामग्री।
मानिसहरू कुशबाट मानिसको सानो आकार बनाउन थाले। त्यसमा जौको पिठो लगाएर गुडियाजस्तो बनाए। त्यसपछि हरियो बाँसमा शव बोकेर हिँडेजस्तै गर्दै दोभानको पानी नजिकैको घाटमा दाउरामाथि शवजस्तै राखे।
मानिसहरूको त्यो भीडमा एक बालिका चुलबुल गर्दै थिइन्।
पाँच वर्षीया ती बालिकाले त्यहाँ के भइरहेको छ भन्ने थाहा पाएकी थिइनन्। परिवारले पनि यथार्थ बताउन चाहेका थिएनन्। कहिले उनी 'भोक लाग्यो' भन्दै थिइन्, कहिले फुपू दीपिका बजगाईंलाई 'बाबालाई फोन लगाइदिनू' भन्दै पिरोलिरहेकी थिइन्।
गोरखाको पालुङटार नगरपालिका–५ की परोक्षी देवकोटा युकेजी पढ्दै छिन्।
भोटेकोशी–त्रिशूली बाढीमा परेर उनका बुबा सागर देवकोटा बेपत्ता भएको धेरै दिन भइसक्यो। उनको शव अहिलेसम्म भेटिएको छैन। त्यसैले उनको दाहसंस्कार गर्न गाउँलेले कुशको शव बनाए। दाहसंस्कारका लागि परोक्षीलाई पनि त्यहाँ लगिएको थियो।
'नानीलाई पूजा गर्ने हो भनेर खाना नखुवाई ल्याएको। के भएको छ भनेर उनलाई थाहा नै छैन,' दीपाले भनिन्, 'बाबालाई फोन लगाइदिनू भनेर पिरोल्छे। के भनेर बुझाउने हो, थाहा छैन।'

दीपाका अनुसार सागर करिब दुई वर्ष साउदी अरब गएर गाडी चलाएका थिए। फर्किएपछि गाउँमै जिप चलाउन थाले। त्यसपछि डिलक्स बस किने र गोरखाबाट नारायणघाटसम्म बस चलाउन थाले।
सागरको बस कहाँ–कहाँ चल्थ्यो भनेर सोध्न नपाउँदै परोक्षीले फटाफट भनिन्, 'हर्मी, नागढुंगा, भरतपुर, चितवन, नारायणघाट।'
बुबाले चलाएको बसमा आफू १० पटक चढेको उनले बताइन्। उनलाई बोकेर यताउता घुमिरहेकी दीपाका आँखाबाट आँसुको बलिन्द्र धारा छुटिरहेका थिए।
पालुङटारको नौखोरमा देवकोटाहरूको बाहुल्य छ। यसपालि जनैपूर्णिमामा गोसाइँकुण्ड पुगेर स्नान गर्ने गाउँलेहरूले एक महिना अघिदेखि नै सल्लाह गरेका थिए। भदौ १० गते बिहान ४ बजे उनीहरू उठे। सागरको बस रिजर्भ गरेर तीर्थयात्रामा निस्किए।
गल्छी नजिकै पुगेर उनीहरूले खाजा खाए। त्यसपछि यात्रा अघि बढ्यो। रसुवाको भैंसे पुगेपछि अचानक बाढी आयो। बसबाट एक जना पिसाब फेर्न ओर्लिए। अर्का एक जना बाढी हेर्न बाहिर निस्किए।
बाढी आएको देखेपछि उनीहरू बसबाट हामफाले। ६ जना ज्यान जोगाउन सफल भए। बाँकी ३० जना बससँगै बगे।
गोसाइँकुण्ड गएका यात्रुमध्ये सागरकी आमा राममाया देवकोटा पनि थिइन्। बसमा यात्रा गर्ने अधिकांश यात्रु सागरका आफन्त र छिमेकी भएको स्थानीय युवा अञ्जन देवकोटाले बताए।
अहिलेसम्म पाँच जनाको मात्र शव फेला परेको छ। शव फेला नपरेकामध्ये पाँच जनाको बुधबार कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको अञ्जनले बताए।
बुधबार सागर र उनकी आमा राममायासँगै पद्माकुमारी देवकोटा, दुर्गा देवकोटा, नानुमाया थापा र सुश्मा न्यौपाने पोखरेलको कुशको शव बनाएर दाहसंस्कार गरियो।
कमला देवकोटा, केदार पण्डित, सुजाता कौडाल, सुमी कुमाल र तारा रानाभाटको शव भने भेटिएपछि दाहसंस्कार गरिएको छ।


बाढीमा बेपत्ता बाँकी गाउँलेको पनि कुशको शव बनाएर दाहसंस्कार गर्ने तयारी भइरहेको अञ्जनले बताए।
'शव फेला पार्ने आशा मरेपछि पण्डितसँग सल्लाह गरेर दाहसंस्कार गर्यौं, अरूको पनि गर्न बाँकी छ,' उनले भने, 'केही परिवार बाहिरबाट आउँदै हुनुहुन्छ। त्यसपछि उहाँहरूको पनि कुशको शव बनाएर दाहसंस्कार गर्ने कुरा भएको छ।'
इन्जिनियरिङ पढेर निर्माण व्यवसाय गरिरहेका अञ्जन पनि गोसाइँकुण्ड जाने सोचमा थिए। तर सिट नपुगेपछि गएनन्।
उनका अनुसार अगाडिबाट बाढी आउँदै गर्दा सागर हामफालेर बाँच्न सक्थे। बसका सहचालक निरज भण्डारीले उनलाई भाग्न आग्रह गरेका थिए। तर सागरले बस ब्याक गरेर सबैलाई बचाउन चाहेका थिए।
सागर गाउँमा सामाजिक काममा पनि सक्रिय थिए। गाउँमा खुलेको युवा क्लबमा सागर उपाध्यक्ष थिए भने अञ्जन महासचिव छन्।
'सागर मेरो भतिज हो, तर लगौंटी साथी जस्तो थियौं,' उनले भने।
घटनाको खबर पाएपछि उनले गाउँलेलाई सम्झाइबुझाइ गरे। बस भेटिने आशा सबैलाई थियो। पछि शव भेटिने आशा रह्यो। लास पनि नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार गर्न उनले गाउँलेको नेतृत्व गरे।
एउटै गाउँका ३० जना मानिस बाढीमा परेपछि नौखोरका अधिकांश घरका कोही न कोही प्रभावित भएका छन्। बाढीमा ज्यान गुमाएका र बेपत्ता भएका परिवारलाई सम्झाइबुझाइ गर्न निकै मुस्किल भइरहेको अञ्जन बताउँछन्।
बुधबार सागरको अन्त्येष्टिमा उनकी छोरी परोक्षीले नजिकैको मन्दिरमा गएर एक्लै पूजा गरिन्। त्यो मन्दिर सागरका जिजुबुबाले नै बनाएका हुन्।
परोक्षीले पूजा गरेको अञ्जनले हेरिरहे। उनी बेला बेला घन्टी पनि बजाइरहन्थिन्।

अनि सोधे, 'के गरेकी नानी?'
परोक्षीको जबाफ थियो, 'बुबा छिटो आउनू भनेर पूजा गरेको।'
अञ्जन अर्कोतर्फ फर्किए र आँसु पुछे।
'भोटेकोशी बाढीले नौखोरका बासिन्दालाई दिएको क्षतिको पीडा आगामी १०० वर्षसम्म रहन्छ होला,' अञ्जनले भने, 'एकै घरका धेरै जना पर्नुभएको छ। गाउँका धेरै जनालाई बाढीले बगायो।'
परोक्षीजस्तै कतिपय बेपत्ता र मृतकका छोराछोरी सानै उमेरका छन्। कोही घटना बुझ्ने उमेरका छन्, कोही छैनन्।
बाढीमा अभिभावक गुमाएका बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारले विशेष प्याकेज ल्याउनुपर्ने अञ्जन बताउँछन्।
'अहिलेसम्म सरकारले देखिने गरी केही गरेको छैन। कम्तीमा यस्ता बालबालिकालाई सहयोग गरोस् भन्ने अपेक्षा छ,' उनले भने।