रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित प्रहरी कर्मचारी, तिनका परिवार र बाढीपीडितका लागि नेपाल प्रहरीले विशेष आर्थिक सहयोग तथा राहतको घोषणा गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रहरी कर्मचारीहरूबाट संकलित रकमबाट तत्काल प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराइनेछ।
साथै, दिवंगत प्रहरीले प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गरिनेछ।
उनीहरूका परिवारका इच्छुक एक जना सदस्यलाई सीपमूलक तालिम दिएर रोजगारीका लागि पहल गरिनेछ भने उनीहरूका बालबालिकालाई आधारभूत तहसम्म नजिकैको प्रहरी विद्यालयमा र उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय साँगामा निःशुल्क अध्ययनको व्यवस्था मिलाइनेछ।
बाढीका कारण व्यक्तिगत सामग्री क्षति भएका टिमुरे, मैलुङ, रसुवागढी, स्याफ्रुवेशी र बेत्रावतीका प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत दिइने भएको छ।
बेपत्ता प्रहरीको खोजीलाई थप प्रभावकारी बनाउन विशेषज्ञसहितको टोली परिचालन गरिनेछ।
परिवारजनलाई खोजतलास, उपचार र सेवा सुविधामा सहजीकरणका लागि मानवस्रोत विकास विभागका एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकिएको छ।
यसैगरी, रसुवा बाढीले पुर्याएको क्षतिको राहत स्वरूप नेपाल प्रहरीका तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत भएको छ।