पोखरामा उच्च शिक्षाको सुरुआती सपनाले आकार लिइरहेको समय थियो।
एसइई (तत्कालीन मेट्रिक) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सहरमै कलेज पढ्ने अवसर थिएन। शिक्षाप्रेमी पोखरेलीहरू कलेज स्थापना गर्ने अभियानमा जुटिरहेका थिए।
तर त्यसका लागि आवश्यक जग्गा फेला परेको थिएन।
त्यही बेला पोखराबाट प्रकाशित हुने साप्ताहिक ‘हिमदूत’मा एउटा समाचार छापियो– ‘पराजुलीहरूले कलेजलाई जग्गा दिने!’
समाचारका लेखक थिए, पत्रकार केशवराज पराजुली।
वास्तवमा नदीपुरका सबै पराजुली परिवार कलेजलाई जग्गा दान गर्न तयार भइसकेका थिएनन्। समाचार प्रकाशित भएपछि केही असन्तुष्ट परिवारजन विरोध जनाउन पत्रिकाको कार्यालय पुगे।
केशवराजले उनीहरूलाई स्पष्ट जवाफ दिए— यदि कसैले जग्गा दिन नचाहेको हो भने आफ्नो नामसहित खण्डन लेखेर ल्याउनुस्, पत्रिकाले प्रकाशित गर्नेछ।
खण्डन कहिल्यै आएन।
केही समयपछि पोखराको बगरमा रहेको फराकिलो जमिन पृथ्वीनारायण कलेजका नाममा दान भयो। आज हजारौं विद्यार्थी उत्पादन गरिसकेको पृथ्वीनारायण क्याम्पस उभिएको त्यो जमिनसँग जोडिएको प्रसंगले केशवराज पराजुलीको पत्रकारिताको प्रभाव मात्र होइन, शिक्षाप्रतिको उनको प्रतिबद्धता पनि झल्काउँछ।
अहिले नेपालको सबैभन्दा ठूलो र धेरै विद्यार्थी अध्यन गर्ने क्याम्पसका रुपमा दरिएको छ पृथ्वीनारायण क्याम्पस।
पोखराका अग्रज पत्रकार, शिक्षक, पुस्तकालय अभियानी र लोकतन्त्रवादी आवाज केशवराज पराजुलीको मंगलबार राति ९१ वर्षको उमेरमा निधन भएको छ।
परिवारका अनुसार उनको निधन पोखरामै भएको हो। उनी केही वर्षयता अल्जाइमर रोगले ग्रस्त थिए।
उनको निधनसँगै पोखराले आफ्नो इतिहासको एक महत्वपूर्ण साक्षी गुमाएको छ। लामो सार्वजनिक जीवनमा पत्रकारिता, शिक्षा, पुस्तकालय आन्दोलन र लोकतान्त्रिक चेतनाका क्षेत्रमा पुर्याएको योगदानले उनलाई गण्डकी प्रदेशको सार्वजनिक जीवनका विशिष्ट व्यक्तित्वमध्ये एक बनाएको थियो।
वि.स १९९२ मंसिर १६ गते पोखरामा जन्मिएका पराजुली प्रख्यात पण्डित तुलसीप्रसाद पराजुलीका कान्छा छोरा थिए। औपचारिक शिक्षाका अवसर सीमित भएका बेला उनले स्वअध्ययनमार्फत आफ्नो शैक्षिक यात्रा अघि बढाए।
मेट्रिकदेखि आइए र बीएसम्मका परीक्षा उनले नियमित कलेज नगई निजी विद्यार्थीका रूपमा उत्तीर्ण गरेका थिए। उनका नातेदार छिमेकी तथा वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’का अनुसार पढ्ने तीव्र चाहना भएका पराजुलीले ज्ञानलाई विद्यालयको चार पर्खालभन्दा बाहिर पनि खोजिरहे।
पत्रकारितामा आउनुअघि उनले शिक्षण पेशाबाट सार्वजनिक जीवन सुरु गरेका थिए। पोखराको आर्वामा हालको रतन पाण्डे प्राथमिक विद्यालय स्थापना गर्न अग्रसर भएका उनी त्यही विद्यालयका शिक्षक पनि बने। त्यसपछि तत्कालीन मल्टिपर्पोज स्कुल, अहिलेको राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापन गर्न थाले।
त्यहाँ उनका विद्यार्थीमध्ये एक थिए, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा।
‘उहाँ अत्यन्त नैतिक र सिद्धान्तनिष्ठ गुरु हुनुहुन्थ्यो,’ शर्मा सम्झन्छन्, ‘प्रजातन्त्रको पक्षमा उभिने मेरो चेतनामा उहाँको शिक्षाको गहिरो प्रभाव छ।’
तर शिक्षणभन्दा धेरै लामो र प्रभावशाली यात्रा उनले पत्रकारितामा गरे।
२०१७ सालमा सगरमाथा संवाद समितिको संवाददाताका रूपमा सक्रिय रहेका पराजुली त्यही वर्ष पोखराबाट प्रकाशित ‘हिमदूत’ साप्ताहिकसँग जोडिए। त्यो समय नेपाली पत्रकारिताका लागि कठिन थियो। पञ्चायती शासनले अभिव्यक्ति स्वतन्त्रतालाई सीमित गरिरहेको थियो। तर पराजुलीले सत्ता र प्रशासनका अनियमिततामाथि प्रश्न उठाउन छाडेनन्।
उनले लेखेका समाचारहरूले स्थानीय प्रशासनलाई पटक–पटक असहज बनायो। २०१८ सालमा महेन्द्रपुलमा सेती नदीमाथि निर्माण गरिएको काठेपुलको डिजाइनमा गरिएको त्रुटि र त्यससँग जोडिएको घुस प्रकरणबारे प्रकाशित समाचारले स्थानीय प्रशासनलाई जवाफदेही बन्न बाध्य पारेको थियो।
अर्को समाचार ‘घुस कि के ?’ विरुद्ध तत्कालीन मालपोत कार्यालयका प्रमुख अदालत पुगे। तर समाचारको स्रोत खुलाउन अस्वीकार गर्दै सम्पादकले पत्रकारिताको आधारभूत सिद्धान्तको रक्षा गरे र अन्ततः मुद्दा खारेज भयो।
यी घटनाहरूले पराजुलीलाई केवल समाचार लेख्ने पत्रकार होइन, सार्वजनिक जवाफदेहिताको पक्षमा उभिने पत्रकारका रूपमा स्थापित गर्यो।
उनका समकालीनहरूका अनुसार उनी व्यवहारभन्दा सिद्धान्तलाई महत्व दिने मानिस थिए।
‘उहाँले जीवनभर सिद्धान्तसँग सम्झौता गर्नुभएन,’ वात्सायन भन्छन्, ‘सिद्धान्त नमिल्ने काम गर्नुभएन, नमिल्ने कुराको समर्थन पनि गर्नुभएन।’
पत्रकारितासँगै पराजुली पुस्तकालय आन्दोलनमा पनि सक्रिय रहे। पोखराको पहिलो आदर्श पुस्तकालय बन्द हुने अवस्थामा पुगेपछि त्यसलाई पुनर्जीवित बनाउन उनले महत्वपूर्ण भूमिका खेले। पुस्तकालयमा नियमित जाने, पढ्ने र अरूलाई पनि पढ्न प्रेरित गर्ने उनको बानी थियो। तर पञ्चायती शासनका लागि स्वतन्त्र विचार र अध्ययन पनि शंकाको विषय थियो। अन्ततः स्थानीय प्रशासनले पुस्तकालय बन्द गर्न आदेश दियो।
तर ज्ञान, पढाइ र स्वतन्त्र चिन्तनप्रतिको उनको विश्वास कहिल्यै बन्द भएन।
२०३६ सालको जनमत संग्रहपछि उनले ‘जनमत’ पत्रिका प्रकाशनको अनुमति मागे। अनेक प्रशासनिक अवरोधपछि २०३९ सालदेखि उनी आफैं प्रकाशक र सम्पादक बनेर ‘जनमत’ दैनिक निकाल्न थाले। पत्रिका छाप्न आफ्नै छापाखाना किने। तर उनले त्यसलाई व्यवसायभन्दा सार्वजनिक दायित्वका रूपमा हेरे।
सरकारी कार्यालय र व्यापारीलाई रिझाएर काम लिने संस्कृतिसँग आफू कहिल्यै घुलमिल हुन नसकेको उनले पछि लेखेका संस्मरणहरूमा उल्लेख गरेका छन्। परिणामस्वरूप पत्रिका चलाउन आर्थिक कठिनाइ बढ्दै गयो। एक समय पत्रिकाका कारण लागेको ऋण तिर्न उनले आफ्नो पैतृक सम्पत्तिसमेत बेच्नुपरेको थियो।
तर उनले पत्रकारितालाई पेशाभन्दा बढी नागरिक कर्तव्यका रूपमा हेरे।
राजनीतिक रूपमा उनी जीवनभर प्रजातन्त्रका पक्षमा उभिए। नेपाली कांग्रेससँग निकट सम्बन्ध रहे पनि उनले पत्रकारिताको भूमिकालाई राजनीतिक निष्ठाभन्दा माथि राखे । २०४२ सालमा प्रजातन्त्र माग्दै आह्वान भएको सत्याग्रहमा सहभागी हुँदा उनी पक्राउ परे र करिब चार महिना जेल बसे।
२०४३ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले पोखरा नगर पञ्चायतको प्रधानपञ्च पदका लागि उम्मेदवार खोज्दा अन्ततः पराजुलीकै नाम अघि सारियो। उनी चुनाव हारे। तर सार्वजनिक जीवनमा उनको प्रभाव मतपरिणामले निर्धारण गर्ने खालको थिएन।
पोखरामा उनलाई धेरैले ‘केशव गुरु’ भनेर सम्बोधन गर्थे। त्यो सम्बोधन केवल शिक्षकका कारण होइन, पत्रकारिता, सार्वजनिक जीवन र नैतिक आचरणमार्फत उनले निर्माण गरेको विश्वासका कारण थियो।
उनका श्रीमती लक्ष्मी, छोरा लोकरञ्जन (रमेश) तथा छोरीहरू रमा, ईश्वरी, क्षमा र सीमा छन्। छोरा लोकरञ्जन लेखक तथा अनुसन्धानकर्ता हुन् भने छोरी रमा बिबिसी नेपाली सेवामा आबद्ध छिन्।
उनको निधनसँगै पोखराले एउटा पत्रकार मात्र गुमाएको छैन। उसले शिक्षा, पुस्तकालय, लोकतन्त्र र पत्रकारितालाई एउटै सार्वजनिक दायित्वका रूपमा हेर्ने एउटा पुस्ताको प्रतिनिधि गुमाएको छ।
केशवराज पराजुलीले छोडेको विरासत समाचार र सम्पादकीयका पाना वा पुस्तकालयमा मात्र सीमित छैन। त्यो विरासत पोखराको नागरिक चेतनामा जीवित छ । जहाँ पत्रकारिता अझै पनि सार्वजनिक हितको पक्षमा बोल्नुपर्छ भन्ने विश्वास बाँकी छ।