जाजरकोटमा एक समूहबाट कुटपिटमा परेका युवकको उपचार क्रममा मृत्यु भएपछि पाँच जना पक्राउ परेका छन् ।
दैलेख जिल्लाको नारायण नगरपालिका – २ स्थायी घर भइ जाजरकोटको भेरी नगरपालिका – ११ जगतिपुरमा औषधी पसल गर्दै आएका ३२ वर्षीय दीपककुमार थापामाथि युवाहरुको एक समूहले साउन २५ गते कुटपिट गरेको थियो।
जाजरकोटका प्रमुख डिएसपी बुद्धिसागर पुरीका अनुसार घाइते दीपकको उपचारका क्रममा बाँकेको नेपालगंजस्थित ‘केयर सिटी हस्पिटल’मा साउन २८ गते बिहान सवा १ बजेतिर मृत्यु भएको थियो।
त्यसपूर्व दीपकको रुकुम पश्चिमस्थित ‘मिसन अस्पताल चौरजहारी’मा उपचार भएको थियो।
उपचारका क्रममा मृत्यु दीपकको भएपछि प्रहरीले साउन २९ गते उनीमाथि कुटपिट गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रवक्ता प्रहरी निरीक्षक सुधिरकुमार खड्काका अनुसार दीपकमाथि कुटपिट गरेको आरोपीहरु भेरी –८ का ३३ वर्षीय वीरेन्द्र खत्री, भेरी – ९ का २९ वर्षीय निरज रोकाया, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाइ, २४ वर्षीय लक्ष्मण रोकाया र २८ वर्षीय बिनोद गोसाइलाई पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार त्यो दिन २१ वर्षीय निरज रोकायको आइफोन हराएको थियो।
सोही विषयमा उनीहरूले विभिन्न व्यक्तिहरूलाई मोबाइलबारे सोधखोज गरिरहेका थिए।
त्यो दिन सोही समूह स्थानीय स्तरमा भलिबेल खेलमा पराजित भएका थिए।
भलिबलमा बाजी पनि हारेको र मोबाइल पनि हराएका युवाहरुको त्यो समूह राति ९ बजेतिर भेरी नगरपालिका – १० स्थित नुवागाउँमा बसेर खाजा नास्ता खाइरहेका थिए ।
त्यही क्रममा दीपककुमार थापा मोटरसाइकलमा त्यहाँ आइपुगेका थिए।
थापा र वीरेन्द्र खत्रीबीचमा त्यहीँ चिनजान भएको थियो।
पछि मोबाइल हराएको विषयमा कुराकानी हुँदै गर्दा उनीहरूबीच विवाद भएको थियो। त्यतिबेला दीपकले उँचो स्वरमा कुरा गरेको कारण त्यहाँ भएका अरू युवाहरूले मुक्का र लात्ती प्रहार गरेका थिए।
वीरेन्द्रले भने छुटाउन प्रयास गरेका थिए। त्यसका बाबजुद केही बेर कुटपिटपछि उनीहरू त्यहाँबाट घर फर्केका थिए।
प्रहरी स्रोतका अनुसार दोस्रो दिन दुवै पक्षबीच स्थानीय प्रहरीमा मिलापत्र भइ अब उपरान्त थप झैझगडा नगर्ने र आपसमा रिसराग केही नराख्ने भन्ने सहमति भएको थियो।
तर, त्यही बीचमा युवाहरुको सामूहिक कुटपिटबाट घाइते थापाको स्वास्थ्यमा समस्या हुन थाल्छ। त्यसपछि उनी उपचारका लागि छिमेकी जिल्ला रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारीमा पुगेका थिए। तर, उनको अवस्थामा सुधार आउनुको साटो अझै बिग्रदै गएको थियो।
मिसन अस्पतालले थप उपचारका लागि नेपालगन्ज अस्पताल रिफर गरेको थियो।
थापाको नेपालगन्जस्थित ‘केयर सिटी हस्पिटल’मा साउन २८ गते बिहान सवा १ बजेतिर मृत्यु भएपछि प्रहरीले उनीमाथि भएको कुटपिट घटना र त्यसमा संलग्न पाँच जनालाई पक्राउ गरेको हो।
डिएसपी बुद्धिसागर पुरीका अनुसार थापा मृत्युको घटनाबारे अनुसन्धान भइ रहेको छ।
पुरीका अनुसार थापा मृत्यु बारे पोस्टमर्टम रिपोर्ट आउन बाँकी छ।
हाल प्रहरीले पक्राउ परेका पाँचै जना बिरुद्ध कर्तव्य ज्यान मुद्दा शीर्षकमा मुद्दा चलाउने गरी अनुसन्धान अघि बढाएको छ ।
जिल्ला अदालतले प्रहरी हिरासतमा रहेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा थप अनुसन्धान गर्न १० दिनको म्याद उपलब्ध गराएको प्रहरी निरीक्षक खड्काले बताए।