नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले निगमका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको पुष्टि गरे।
ल्याउन पाउनेभन्दा धेरै विदेशी मुद्रा ल्याएको देखिएको उनले बताए।
पक्राउ पर्नेमा ५४ वर्षीया जननी बज्राचार्य र गोरखाकी ३५ वर्षीया ममता पाण्डे छन्।
बज्राचार्यबाट ४ हजार ३०० अमेरिकी डलर र १२ हजार ३७२ मलेसियन रिंगिट बरामद गरेको छ। पाण्डेबाट ४ हजार २०० अमेरिकी डलर र १२ हजार ३२८ मलेसियन रिंगिट बरामद गरेको छ।
उनीहरूमाथि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुल्चोकमा पठाइएको छ।