नाबालक छोरासहित उनकी आमालाई झुक्क्याएर छिमेकी देश भारतमा पुर्याई ३५ हजार भारतीय रूपैयाँमा बिक्री गर्ने दाङका एक दम्पतीलाई अदालतले जनही ३० वर्ष कैदको फैसला सुनाएको छ।
साथै उनीहरूलाई किन्ने भारतीय नागरिकलाई २७ वर्ष कैदको फैसला सुनाइएको छ।
४ वर्षीय बालक ‘५६ गढवा २०८१/०८२– ४७ (च)’ र उनकी आमा २३ वर्षीया ‘५६ गढवा २०८१/०८२ – ४७’ लाई घुम्न तथा सामान किनमेल गर्न जाऊँ भन्दै झुक्क्याएर उनीहरूले भारतको कृष्णनगर पुर्याई बेचेका थिए।
२ वर्षअघि आमा छोरा इण्डियामा पुर्याई बेचेर आफूहरू सुटुक्क भागेका उनीहरू विरूद्ध पीडितले स्वदेश फर्किएपछि मानव बेचबिखन सम्बन्धी मुद्दा दायर गरेकी थिइन्। सोही मानव बेचबिखन मुद्दामा दाङ जिल्ला अदालतले बिहीबार दम्पती सहित किन्ने व्यक्तिलाई दोषी ठहर गर्दै त्यस्तो सजाएको फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले दाङको तुलसीपुर उपमहानगरपालिका–१६ का ३० वर्षीय राजेश नेपाली र उनकी ३५ वर्षीया श्रीमती राधा पाण्डे नेपालीका विरूद्ध विभिन्न तथ्य र आधारमा टेकेर फैसला सुनाएको अदालतका सूचना अधिकारी गोकर्ण वलीले बताए।
राजेश र राधा दम्पतीलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण ऐन) २०६४ को दफा १५ (१) (क) बमोजिम दम्पती राजेश र राधालाई जनही २० वर्ष कैद, दुई लाख रूपैयाँ जरिवाना र दफा १५ (१) (ङ) को १ बमोजिम थप जनही १० वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना हुने ठहर सहितको फैसला अदालतले सुनाएको थियो।
साथै प्रतिवादी राजेश पटके कसुरदार देखिएको हुँदा उनको हकमा मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) बमोजिम थप ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना हुने फैसला न्यायाधीस थापाले सुनाएको अदालतका प्रवक्ता वलीले बताए।
अर्का प्रतिवादी तथा भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय राम निवास मौर्य जसले ४ वर्षीय बालक ‘५६ गढवा २०८१/०८२ – ४७ (च)’ र उनकी आमा २३ वर्षीया ‘५६ गढवा २०८१/०८२ – ४७’ लाई ३५ हजार भारूमा किनेका थिए उनको हकमा २७ वर्ष कैद, ३ लाख ५० हजार जरिवाना र १८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतले सुनाएको छ।
भारतीय नागरिक मौर्यलाई मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण ऐन) २०६४ को दफा १५ (१)को देहाय (क) बमोजिम २० वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाइएको छ।
साथै प्रतिवादी मौर्यको हकमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम ७ वर्ष कैद र दफा २१९ (३ क) को देहाय–ग) बमोजिम ३ लाख रूपैयाँ जरिवाना हुने फैसला सुनाएको अदालतका प्रवक्ता वलीले बताए। साथै दफा २२ बमोजिम नैतिक पतन हुने कसुर कायम हुने अदालतले ठहर गरेको छ।
त्यसका साथै यी प्रतिवादीहरूले गरेको कसुर मुलुकी अपराध संहिता २०७४ को दफा ४३ (१) बमोजिम एकीकृत कसुर देखिँदा भारतीय नागरिक मौर्यलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) (ङ) बमोजिम भएको सजायको आधा ३ वर्ष ६ महिना कैद र दफा २१९ (३ क) को देहाय (ग) बमोजिम भएको जरिवानाको आधा एक लाख ५० हजार थप सजाय हुने अदालतले फैसला सुनाएको छ।
राजेश उनकी श्रीमती राधा र भारतीय नागरिक रामबाट मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन २०६४ को दफा १७ बमोजिम र मुलुकी अपराध संहिता २०७४ को दफा २२८ बमोजिम जनही २५ हजारका दरले पीडितलाई क्षतिपूर्ति भराउन भनिएको छ।
भारतीय नागरिक मौर्यबाट पीडित राहात कोषमा ३ लाख बुझाएमा पीडितलाई दिलाउन भनिएको छ।
अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ (३) बमोजिम श्रीमान–श्रीमती राजेश र राधाबाट जनही ८ हजार र भारतीय नागरिक मौर्यबाट १८ हजार पीडित राहत कोषमा जम्मा गर्न फैसलामा भनिएको छ।
दुई वर्षअघि २०८१/१०/०४ गते ४ वर्षीय बालक ‘५६ गढवा २०८१/०८२–४७ (च)’ र उनकी आमा २३ वर्षीया ‘५६ गढवा २०८१/०८२ – ४७’ लाई घुम्न तथा सामान किनमेल गर्न जाने प्रलोभनमा पारी भारत पुर्याएर बेचिएको थियो। एक दिन आमा २३ वर्षीया ‘५६ गढवा २०८१/०८२ – ४७’ ले माइती घरकी आमालाई सुटुक्क फोन गरि आफूहरूलाई झुक्क्याएर इण्डियामा ल्याई बेचिएको भन्दै उद्धारका लागि याचना गरेकी थिइन्।
इण्डियाबाट एक पटक आएको सोही फोन नम्बर पछ्याउँदै जिल्लाबाट खटिएको प्रहरीले भारतीय प्रहरीको सहयोगमा भारतबाट २०८१/ माघ १७ गते आमा छोरालाई उद्धार गरी फिर्ता ल्याएको थियो।
२३ वर्षीया पीडित ‘५६ गढवा २०८१/०८२ – ४७’ ले २०८१ माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा तुलसीपुर–१६ का ३० वर्षीय राजेश नेपाली र उनकी ३५ वर्षीया श्रीमती राधा पाण्डे नेपालीका साथै भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय राम निवास मौर्य विरूद्ध मानव बेचबिखन सम्बन्धी किटानी जाहेरी सहित मुद्दा दायर गरेकी थिइन्।
यो पनि:
यसरी सम्भव भयो भारतमा ३५ हजार भारूमा बेचिएकी ‘५६ गढवा’ को उद्धार