गण्डकी प्रदेशमा पछिल्ला पाँच वर्षमा सडक दुर्घटनामा १ हजार ६३ जनाको मृत्यु भएको छ।
आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म प्रदेशमा १ हजार ९६४ सडक दुर्घटना अभिलेख भएका छन्। ती दुर्घटनामा २ हजार ५५८ सवारी साधन संलग्न थिए।
ट्राफिक प्रहरीको तथ्यांकअनुसार दुर्घटनामा १ हजार ७६३ जना गम्भीर र १ हजार २३५ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा संलग्न सवारीसाधनमध्ये करिब ४८ प्रतिशत दुईपांग्रे छन्।
दुर्घटनाको प्रमुख कारण चालकको तीव्र गति देखिएको छ। चालकको कारणबाट भएका दुर्घटनामध्ये ६३ प्रतिशत तीव्र गतिका कारण भएका हुन्। त्यस्तै ८ प्रतिशत दुर्घटनामा चालकले मादक पदार्थ सेवन गरेको र १५ प्रतिशत घटनामा चालकसँग अनुमतिपत्र नभएको तथ्यांकमा उल्लेख छ। ओभरटेक र ट्राफिक नियम उल्लंघन पनि दुर्घटनाका प्रमुख कारणमा छन्।
एसियाली विकास बैंक (एडिबी) का यातायात प्रोजेक्ट अफिसर हेमन्त तिवारीका अनुसार सडक दुर्घटना चालकको व्यवहारमा मात्र सीमित नभई सवारीसाधनको अवस्था र सडक पूर्वाधारसँग पनि जोडिएको छ।
'सडक दुर्घटनामा १० वर्षमा २४ हजार मानिसले ज्यान गुमाइसकेका छन्, सडक सुरक्षामा ध्यान दिनु सबैको कर्तव्य बनेको छ,' तिवारीले भने।
यात्रुसम्बन्धी कारणमध्ये सडक काट्ने क्रममा हुने दुर्घटना सबैभन्दा बढी, ४२ प्रतिशत, रहेको छ।
गाडीबाट ओर्लने क्रममा २२ प्रतिशत र गाडीमा चढ्ने क्रममा ८ प्रतिशत दुर्घटना भएका छन्। यात्राका क्रममा झुन्डिने, शरीर सवारी साधनबाहिर निकाल्ने र छतमा यात्रा गर्नेजस्ता जोखिमपूर्ण व्यवहार पनि दुर्घटनाका कारण रहेको तथ्यांकले देखाएको छ।
सवारी साधनको प्राविधिक अवस्थातर्फ ब्रेक फेल प्रमुख कारण देखिएको छ। सवारीसाधनको कारण भएका दुर्घटनामध्ये ६२ प्रतिशत ब्रेक फेलसँग सम्बन्धित छन्। अन्य यान्त्रिक गडबडी २२ प्रतिशत र ओभरलोड ७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ।
सडकको अवस्थासमेत दुर्घटनाको कारण बनेको छ। घुम्ती तथा मोड, कच्ची सडक, ओरालो, साँघुरो सडक, खाल्डाखुल्डी र चिप्लो सडकका कारण दुर्घटना हुने गरेको विश्लेषणमा उल्लेख छ।
'दुर्घटना न्यूनीकरणका लागि चालकको व्यवहार सुधारसँगै सडक पूर्वाधार र सवारीसाधनको प्राविधिक परीक्षणमा पनि ध्यान दिनुपर्छ,' तिवारीले भने।
जिल्लागत तथ्यांकमा नवलपरासीमा दुर्घटनाको संख्या सबैभन्दा बढी ५५८ रहेको छ। कास्कीमा ४६५ र तनहुँमा ३३६ दुर्घटना भएका छन्।
मृत्युको संख्या भने कास्कीमा सबैभन्दा बढी २४३ रहेको छ। नवलपरासीमा २०६ र तनहुँमा २०८ जनाको मृत्यु भएको छ।
पाँच वर्षमा दुर्घटनामा मृत्यु हुनेमा ७६७ पुरूष, २१५ महिला, ५० बालक र २२ बालिका छन्। दुर्घटनामा २२ जनावरसमेत मरेका छन्।
गण्डकीमा साँझदेखि मध्यरातसम्म सडक दुर्घटनाको जोखिम बढी देखिएको छ। पाँच वर्षमा साँझ ६ बजेदेखि मध्यरातसम्म ६५९ दुर्घटना भएका छन्।
त्यस्तै बिहान ६ देखि दिउँसो १२ बजेसम्म ४०८, दिउँसो १२ देखि साँझ ६ बजेसम्म ६४९ र मध्यरातदेखि बिहान ६ बजेसम्म १५५ दुर्घटना अभिलेख भएका छन्।
महिनागत तथ्यांकमा असारमा दुर्घटना सबैभन्दा बढी १८२ पुगेको छ। अन्य महिनामा दुर्घटनाको संख्या करिब १४० देखि १७० को बीचमा रहेको छ।
तिवारीका अनुसार नेपालमा पछिल्लो दशकमा सडक दुर्घटनाको संख्या पनि बढ्दो क्रममा छ। आर्थिक वर्ष २०७२/७३ देखि २०८१/८२ सम्मको तथ्यांकले सडक दुर्घटना निरन्तर बढेको देखाएको उनले बताए।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका प्रमुख एसपी गोविन्दराज काफ्लेले सडक सुरक्षा सुधारका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताए।
तीनै तहका सरकारले सडक सुरक्षाका लागि बजेट विनियोजन गरेर विभिन्न कार्यक्रम सञ्चालन गरे पनि त्यसबारे ट्राफिक प्रहरीलाई जानकारी नदिने गरेको उनले बताए।
काफ्लेका अनुसार आर्थिक वर्ष २०८२/८३ मा गण्डकीमा १ लाख ६० हजार ७९४ वटा सवारीसाधनलाई कारबाही गरिएको थियो। त्यसबाट १४ करोड ३ लाख ५७ हजार रुपैयाँ राजस्व संकलन भएको उनले बताए।
ट्राफिक प्रहरीले विद्यालयदेखि समुदायसम्म सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरिरहेको उनले बताए। पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने चालकको अनुमतिपत्र ६ महिनासम्म निलम्बन गर्ने व्यवस्था कार्यान्वयनमा रहेको भन्दै उनले कारबाहीभन्दा सचेतनालाई प्राथमिकता दिइएको बताए।
पोखरामा बिहीबार आयोजित सडक सुरक्षा सम्बन्धी प्रदेशस्तरीय कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडकसम्बन्धी कानुन निर्माणदेखि सवारीसाधनको रुट निर्धारणसम्म महानगरलाई बेवास्ता गरिएको बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लापरबाहीका कारण दुर्घटना बढेको देखिएको भन्दै तीनै तहका सरकारले निर्माण गर्ने सडकको मापदण्ड स्पष्ट हुनुपर्ने बताए। सडक सुरक्षाका लागि सबै तहका सरकारबीच सहकार्य आवश्यक रहेको भन्दै उनले नागरिक सचेतना र शिक्षा महत्वपूर्ण हुने बताए।
तथ्यांकले गण्डकीमा सडक दुर्घटना चालकको व्यवहार, सवारीसाधनको प्राविधिक अवस्था, सडक पूर्वाधार र यात्रुको व्यवहारसँग एकसाथ जोडिएको देखाएको छ। दुर्घटना घटाउन तीव्र गति नियन्त्रण, अनुमतिपत्रबिनाका चालकविरुद्ध कडाइ, मादक पदार्थ सेवनको निगरानी, दुईपांग्रे सवारीको सुरक्षा र सडकको नियमित मर्मतलाई प्राथमिकता दिनुपर्ने तिवारीले बताए।