जनआस्था साप्ताहिकका अध्यक्ष एवं पत्रकार किशोर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार उनलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले बताए।
उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो।
प्रहरीले बुधबार राति नख्खुबाट श्रेष्ठलाई पक्राउ गरेको हो।
पत्रकार श्रेष्ठ पक्राउ परे पछि बिहीबार बिहानैदेखि परिसर अगाडि पत्रकार महासंघले विरोध प्रदर्शन गरेको थियो। त्यस्तै उनलाई कानुनी सल्लाह दिनका लागि पुगेका वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले भेट्न परिसर पुगेका थिए।
तर उनलाई पनि भेट्न नदिई फर्काइएको थियो।
श्रेष्ठका वकिललाई परिसरमै भेट्न नदिएकोबारे जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेलाई सोधेका छौं।
घिमिरेले नियमित भेटघाटको समय र प्रशासनिक कामका कारण तत्काल भेट्न नदिइएको बताएका छन्।
एसएसपी घिमिरेका अनुसार प्रहरी परिसरमा बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्म भेटघाटको नियमित समय तोकिएको छ। तर बिहीबार परिसरमा श्रेष्ठलाई भेट्न चाहने व्यक्तिहरूको संख्या धेरै भएपछि प्रहरीको नियमित काम प्रभावित हुने अवस्था आएको उनले बताए।
‘आज धेरै मानिसहरू भेट्नका लागि आउनुभयो। सबैलाई भेट्न दिँदा हाम्रो काम नै प्रभावित हुने अवस्था भयो,’ घिमिरेले भने।
उनका अनुसार दिउँसोको समयमा पक्राउ परेका व्यक्तिलाई अदालतमा उपस्थित गराउने, म्याद थपका लागि आवश्यक कागजात तयार गर्ने लगायतका प्रशासनिक कामसमेत गर्नुपर्ने भएकाले परिसरमा भेटघाट सीमित गरिएको हो।
वकिललाई परिसरमा भेट्न नदिइएको विषयमा घिमिरेले अदालतमा भेट्न सकिने र त्यहाँ भेट्न सम्भव नभए म्याद थप भएर व्यक्ति पुनः ल्याएपछि भेट्न सकिने जानकारी दिएको बताए।
यसैबीच, प्रहरीले बिहीबार बिहानै ललितपुरको ठाडो ढुंगास्थित जनआस्था साप्ताहिकको कार्यालयबाट ६ वटा सिपियू र श्रेष्ठको घरबाट दुई वटा ल्यापटप ल्याइएको एसएसपी घिमिरेले बताए।
‘अफिसबाट ६ वटा सिपियू ल्याइएको हो। घरबाट दुई वटा ल्यापटप ल्याएका छौं,’ उनले भने।
घिमिरेका अनुसार ती विद्युतीय उपकरण अनुसन्धानका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
यति धेरै डिभाइस नियन्त्रणमा लिन आवश्यक थियो त भन्ने प्रश्नमा उनले भने, ‘उहाँले चलाउने डिभाइस कुन हो भन्नुभएन। त्यसकारण अन्य पनि नियन्त्रणमा लिनुपर्ने अवस्था सिर्जना भयो।’