रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सिसीटिभी क्यामरा जडान गरिएको छ।
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन क्यामरा जडान गरिएको हो।
जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको अगुवाइमा टिमुरेमा जडान गरिएको क्यामराबाट टिमुरे–रसुवागढी क्षेत्रको नदीको बहाव, पानीको अवस्था तथा बाढीसम्बन्धी गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।
यसअघि मन्त्री श्रेष्ठले केन्द्र र जल तथा मौसम विज्ञान विभागका अधिकारी तथा सम्बन्धित विज्ञसँग रसुवा, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्रमा मौसम र सम्भावित बाढी जोखिमबारे छलफल गरेका थिए।
छलफलमा नदीको निरन्तर निगरानी, पूर्वसूचना प्रणाली सुदृढीकरण र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीलाई तीव्रता दिने विषयमा जोड दिइएको थियो।
सोही छलफलपछि टिमुरेमा निगरानी प्रणाली विस्तारको काम अघि बढाइएको सचिवालयको भनाइ छ।
क्यामरा जडान भइसकेको छ। तर प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउन भिस्याट तथा सञ्चार प्रणाली व्यवस्थापनको काम भइरहेको छ। आवश्यक प्राविधिक काम पूरा भएपछि प्रणाली सञ्चालनमा आउने सचिवालयले जनाएको छ।
क्यामराबाट प्राप्त दृश्य तथा सूचनालाई २४ घण्टे बाढी पूर्वानुमान र पूर्वसूचना सेवासँग एकीकृत गरिनेछ। यसबाट नदीको अवस्था निरन्तर निगरानी गर्दै बाढीको प्रारम्भिक संकेत पहिचान गर्न सहज हुने विश्वास लिइएको छ।
विशेषगरी चीनसँगको सीमावर्ती क्षेत्रसमेत रहेको टिमुरे–रसुवागढी क्षेत्रमा बाढीको सम्भावित जोखिमबारे तत्काल जानकारी प्राप्त गर्न नयाँ प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।
समयमै सूचना प्रवाह र पूर्वसूचना जारी गर्न सकिने भएकाले यसले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।