गण्डकी प्रदेश सरकारले बाढीपहिरोमा मृत्यु भएका तथा बेपत्ता भएका प्रदेशका नागरिकका परिवारलाई राहतस्वरूप १ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विपद्मा घाइते भएका गण्डकीका नागरिकलाई उपचार खर्चबापत ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदेश सरकारका तर्फबाट ४ करोड रुपैयाँ जम्मा गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, भदौ १० गते रसुवामा आएको बाढीमा परी मृत्यु भएका गण्डकी प्रदेशका नागरिकका परिवारलाई काजकिरिया खर्चबापत २५ हजार रुपैयाँ दिने निर्णय गरिएको छ।
रसुवा बाढीमा परी घाइते तथा बिरामी भएका गण्डकीका नागरिक पोखरा आइसकेपछि उनीहरूलाई घरसम्म पुर्याउन प्रदेश सरकारले सवारीसाधनको व्यवस्था गर्ने निर्णय पनि गरेको गण्डकी सरकारका आर्थिक मामिला मन्त्री एवं प्रवक्ता जीत शेरचनले जानकारी दिए।
प्रदेश सरकारले पछिल्लो समय बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि यी निर्णय गरेको जनाएको छ।