भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेन नेपाली भूमिलाई 'लक्की' ठान्छन्। किनभने उनले पहिलो अन्तर्राष्ट्रिय गोल नेपालविरूद्ध नै गरेका थिए।
सन् २०११ मा पोखरामा नेपालसँग मैत्रीपूर्ण खेल खेल्दा चेन्चोले १६ वर्षका थिए। त्यही खेलमा उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। खेल भने नेपाल २–१ ले जितेको थियो।
८ वर्षपछि उनै चेन्चोकै कप्तानीमा भुटानले दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबल फाइनलमा स्थान पक्का गरेको छ। पहिलो पटक सागको फाइनलमा स्थान बनाउँदा २३ वर्षीय चेन्चोले नेपाली भूमीलाई 'लक' को रूपमा लिएका छन्।
'साग इतिहासमा हामीले नेपालमै पहिलो पदक जित्ने पक्का गरेर इतिहास बनाएका छौं, नेपाल मेरा लागि लकजस्तै भएको छ,' चेन्चोले सेतोपाटीसँगको भेटमा भने।
भुटानलाई ऐतिहासिक उपलब्धि दिलाउन नेतृत्व गरेका किसानका छोरा चेन्चोको फुटबल करिअर स्थापित गर्न थुप्रै संघर्षसँग जुध्नुपर्यो।
![](/uploads/shares/2019/0-0/IMG_0009 copy.jpg)
एकेडेमीमा भर्ना भए पनि भुटानमा फुटबललाई करिअर मानिदैन थियो। किनकी भुटानमा त्यतिबेलासम्म कुनै पनि खेलाडी खेलेरै बाँच्न सक्ने स्थिति थिएन। चेन्चोको बुवाको चाहाना थियो- छोरो सैनिक बनोस्।
१० कक्षा पास गरेपछि उनका बुबाले खेल छाडेर पढाइमा केन्द्रित हुन भने। तर चेन्चो मानेनन् जसरी पनि खेललाई करिअर बनाउने अड्डी कसे।
उमेर समूहको टिममा सहज स्थान बनाएका उनले सन् २०११ मा राष्ट्रिय टिममा डेब्यू गरे। डेब्यू गरेपछि उनलाई भुटानका पहिलो श्रेणीका क्लबले सम्झौताका लागि प्रस्ताव गर्यो। तर उनले याजडिनबाट खेले। उनले सो क्लबबाट २०१४ सम्म खेलेका थिए।
'मैले पनि रोनाल्डोजस्तै परिश्रम गरेर यहाँसम्म आइपुगेको हो। उनको सबै फुट स्टेप फलो गर्छु,' उनले भने।
श्रीलंकाविरूद्धको जितसँगै चेन्चोको करिअरले पनि गति लिन थाल्यो। उनले सन् २०१५ मा थाइल्यान्डको बुरिराम युनाटेडको एकेडेमीमा एक महिना प्रशिक्षण लिने मौका पाए।
प्रशिक्षण सकिनु अन्तिम दिन उनले बुरिरामका अफिसियललाई एक खेलमा मौका दिन अनुरोध गरे।
'मौका पाएको खेलमा ८० मिनेटमा मैदान छिरेँ। ८५ मिनेटमा गोल गरेर टिमलाई जिताएँ,' उनले भने।
टिमका लागि निर्णायक गोल गरेपछि आफूले दिएको अन्तर्वार्ता उनले अहिले पनि बिर्सेका छैनन्।
पञ्जावबाट खेल्ने क्रममा उनको भेट नेपालका पहिलो रोजाइका गोलकिपर किरण चेमजोङसँग भयो। सिजनको अन्त्यतिर सम्झौता गरेका किरण र चेन्चो रूम पार्टनर बनेका थिए।
'किरण र म दाजुभाइजस्तै लाग्छ। त्यसैले हामीले रूम पनि सेयर गर्यौं,' उनी भन्छन्, 'खेल हुने बेला खेलकै कुरा हुन्थ्यो। फुर्सदको समयमा उ नेपालको बारेमा र म भुटानको बारेमा भन्थे।'
त्यहीँ आइएसलको अनुभवले १३औं सागमा काम गरेको चेन्चेको भनाइ छ।
'आइएसल र आइ लिगबाट निकै अनुभव बटुल्ने मौका पाए, त्यसको फाइदा राष्ट्रिय टिमलाई पुगेको छ, त्यहाँ सिकेका अनुभव राष्ट्रिय टिमका खेलाडीसँग सेयर गरेको छु' उनले भने, 'अर्कोतर्फ भुटानमा पनि अहिले फुटबलरका लागि सुविधा बढेको छ। लिग पनि राम्रो हुँदैछ। प्रतिस्पर्धा पनि बढीरहेको छ। जसले खेलाडीलाई म्याच एक्पोजर र अनुभव दुवै भइरहेको छ।'
हुन त चेन्चोले सन् २०१६ कै सागमा भुटानलाई कम्तिमा सेमिफाइनल पुर्याउन चाहेका थिए। तर सागअघि उनी थाइल्यान्डको क्लबबाट खेलिरहेकाले घरेलु टिमका खेलाडीसँग राम्रो तयारी गर्न पाएका थिएनन्।
![](/uploads/shares/2019/0-0/IMG_0036 copy.jpg)
यसपटक भने उनले सागका लागि भनेरै राम्रो तयारी गरेका छन्। उनी अहिले कुनै पनि क्लबमा आवद्ध छैनन्।
'बेंगलुरूसँग सम्झौता सकिएपछि अरु टिमबाट अफर आएको थियो। तर सागका लागि तयारी गर्न मैले सम्झौता गरिनँ,' उनले भने, 'टिमलाई राम्रो नजिता दिऊँ भनेर राष्ट्रिय टिमका लागि त्याग गरेको हुँ।'
दशरथ रंगशालामा हुने १३औं सागको फाइनलमा नेपाल भन्दा बंगलादेशसँग खेल्न सजिलो हुने उनले बताए।
'भुटानलाई सबैले होच्याउने अनुभव गरेको छु,' उनले भने, 'खेल तालिका सार्वजनिक गर्दा अरू देशले भुटान आफ्नो समूहमा परे ३ अंक पक्का हुन्छ भनेर हामीलाई कमजोर आँक्छन्। यस्तो एटिट्युड मन पर्दैन। यसकै बदला लिन्छु भनेर सोचिरहन्छु।'