पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले भारतका कारण श्रीलंकाका केही खेलाडी पाकिस्तानमा क्रिकेट खेल्न नआएको आरोप लगाएका छन्।
यसको कारण इण्डियन प्रिमियर लिग(आईपिएल) भएको उनको भनाइ छ। आईपिएल फ्रेन्चाईजीले श्रीलंकाली खेलाडीमाथि दबाब बनाएको उनको आरोप छ।
श्रीलंकाका लसिथ मालिंगा, एन्जेलो म्याथ्यूज, दिनेश चंडीमल, सुरंगा लकमल, दिमुथ करूनारत्ने, थिसारा परेरा, अकिला धनंजय, धनंजय डि सिलवा, कुशल परेरा तथा निरोशन डिकवेलाजस्ता शीर्ष खेलाडीले सुरक्षाका कारण पाकिस्तानमा २७ सेप्टेम्बरबाट सुरू हुने पाकिस्तान भ्रमणमा जान अस्वीकार गरेका छन्। उनीहरू नजानेभएपछि श्रीलंकाले जान चाहने खेलाडीहरूलाई पाकिस्तान पठाउँदैछ।
'श्रीलंकाली खेलाडी आईपिएल फ्रेन्चाईजीको दबाबमा छन्। उनीहरू पाकिस्तान आएर खेल्ने चर्चा चलेका बखत मैले श्रीलंकाका खेलाडीसँग कुरा गरेको थिएं। त्यतिबेला उनीहरूले आफूहरू पाकिस्तान आउन इच्छुक रहेको तर आफूहरू खेल्न आए आईपिएलवालाहरूले उनीहरूसँगको करार नथप्ने भनेको बताएका थिए', उनले भने।
'पाकिस्तानले सँधै श्रीलंकाको समर्थन गरेको छ। हामी श्रीलंकाको भ्रमणमा जाने समयमा हाम्रा खेलाडीले कहिले पनि आराम गर्ने भएको छैन। श्रीलंकाको बोर्डले आफ्ना खेलाडीलाई पाकिस्तान जान दबाब दिनुपर्थ्यो। श्रीलंकाका जो खेलाडी पाकिस्तान आउनेछन्, उनीहरूलाई पाकिस्तानको इतिहासमा सँधै याद गरिनेछ', शाहिदले भने।
यसअघि पाकिस्तानका विज्ञान तथा प्रौद्योगिकी मन्त्री फवाद हुसैन चौधरीले पनि यस्तै आरोप लगाएका थिए।
तर उनको यस आरोपमा श्रीलंकाका खेल मन्त्री हरीन फर्नाडोले आपत्ति प्रकट गरेका थिए।
उनले सन् २००९ मा पाकिस्तानमा क्रिकेट खेल्न गएको श्रीलंकाली टोलीमाथि आतंकवादी हमला भएको र खेलाडीहरूले सुरक्षाको खतरा रहेको भन्दै खेल्न अस्वीकार गरेको बताएका थिए।
त्यो घटनामा ८ व्यक्तिको निधन हुनुकासाथै कयौं व्यक्ति घाइते भएका थिए।
टोलीका प्रमुख १० खेलाडी पाकिस्तान नगएपनि पाकिस्तानसँग श्रीलंकाले कराची र लाहोरमा ३-३ वान डे र टि-२० क्रिकेट खेल्दैछ।