सिजन २०२० आइपिएल क्रिकेटका लागि दिल्ली क्यापिटल्सले अनुभवी स्पिनर रविचन्द्रन आश्विनलाई आबद्ध गरेको छ।
गत भदौमा नै प्रक्रिया थालेको दिल्लीले बिहीबार आश्विनलाई किंग्स ११ पञ्जावबाट भित्र्याउन सफल भएको हो।
अक्सनअघि भएको 'ट्रेड डिल' मा दिल्लीले आश्विनसँग कम्तिमा ७.६ करोड भारुमा सम्झौता भएको हो।
आश्विनको सन् २०१८ को अक्सन मूल्य ७.६ करोड थियो। २ वर्षपछि दिल्लीले थप रकम तिरेको भएपनि सार्वजनिक गरिएको छैन।
दिल्लीले आश्विनलाई भित्र्याएसँगै आफ्ना अर्का स्पिनर जे सुचिथलाई पञ्जाव पठाएको छ। 'ट्रेड डिल' मा पञ्चावबाट आश्विन ल्याउदा सुचिथलाई पञ्जावबाट पठाउने प्रावधान छ।
यसअघि आश्विनलाई पञ्जावले कप्तानको जिम्मेवारी दिएको थियो।
आश्विन दिल्लीमा आबद्ध भएसँगै उनी चौथो आइपिएल टिमबाट खेल्ने भएका छन्। यसअघि उनले पञ्जावसँगै चेन्नइसुपर किंग्स र राइजिङ पुने सुपरजाइन्टबाट खेलेका थिए।
३२ वर्षीय आश्विन आइपिएलका सफल स्पिनरमा पर्छन्।
पावर प्लेमा र डेथ ओभरमा आश्विन प्रभावशाली देखिदै आएका छन्। उनले आइपिएलका १३९ खेलमा १२५ विकेट लिइसकेका छन्।
आश्विन भित्रिएसँगै दिल्लीमा ७ जना स्पिनर भएका छन्।
जसमा अक्षर पटेल, अमित मिश्रा, राहुल टेवाटिया, जलाज सक्सेना, मायंक मार्कण्डे र नेपालका युवा स्पिनर सन्दीप लामिछाने छन्।
यद्यपी १४ नोभेम्बरसम्म टिमले आफ्ना खेलाडी रिलिज गर्न सक्नेछ।
दिल्लीमा स्पिनरको संख्या बढ्दै जाँदा नेपालका लेगस्पिनर सन्दीपलाई पहिलो रोजाइको टिममा पर्न कठिन बन्ने देखिएको छ।
यसअघि २०२० कै सिजनका लागि मुम्बई इन्डियन्सका २१ वर्षीय लेगस्पिनर मार्कण्डे दिल्लीमा आबद्ध भएका थिए। जससँगै तीन वर्षे सम्झौताको अन्तिम सिजनमा रहेका सन्दीपलाई पहिलो रोजाइमा पर्न झन् गाह्रो हुने देखिएको थियो।
मार्कण्डेले २०१८ को सिजनमा मुम्बईका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए। गत सिजन भने उनले ३ म्याच मात्र खेलेका थिए।
यो अवस्थामा दिल्लीमा आएका मार्कण्डेको मुख्य प्रतिस्पर्धा सन्दीपसँग हुनेछ। अझ अनुभवी स्पिनर आश्विन आउँदा स्पिनरको कोटामा झन् प्रतिस्पर्धा हुने देखिएको छ।
दुई वर्ष अघिको सिजनमा उत्कृष्ट खेलेका मार्कण्डे भारतीय भएकाले उसैपनि गत सिजनमा आधा भन्दा बढी खेल्न नपाएका सन्दीपले टिममा पर्न कडा प्रतिस्पर्धा गर्नु पर्नेछ।
विदेशी खेलाडीको रुपमा दिल्लीको पहिलो रोजाइमा पर्न सन्दीपले प्रदर्शनमा थप सुधार गर्ने पर्नेछ। यस्तै सन्दीपले अर्को टिम खोज्नु पर्ने विकल्प रोज्नु पर्ने अवस्थामा पनि हुन सक्छ।
सन्दीपले गत सिजन दिल्लीबाट ६ खेल खेल्दै ८ विकेट लिएका थिए।