मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्धको तीनदिवसीय खेलमा नेपाली राष्ट्रिय टिम २०८ रनले पराजित भयो।
पहिलो इनिङमा एमसिसी ३६४ रनमा अलआउट भएको थियो। नेपाल भने पहिलो इनिङमा १५३ रनमै अलआउट भयो। दोस्रो इनिङमा एमसिसीले १८१-६ मा इनिङ समाप्तीको घोषणा गरेपछि नेपालले ३९३ रनको लक्ष्य पाएको थियो। तर नेपाल दोस्रो इनिङमा १८४ रनमै अलआउट भयो।
१४ वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा फर्किएको नेपाली टिममा अनुभव कमी देखियो।
खेलमा सोमपाल कामीले नेपालका लागि सबैभन्दा बढी ७७ रन जोडे। सोमपालले पहिलो इनिङमा २६ रन र दोस्रो इनिङमा नटआउट ५१ रन जोडेका थिए। बलिङमा करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिए।
दोस्रो बढी रन भने सन्दीप लामिछानेको नाममा रह्यो। सन्दीपले पहिलो इनिङमा नटआउट ३९ रन जोडेका थिए भने दोस्रो इनिङमा २५ रनको योगदान गरेका थिए।
दशौं नम्बरमा ब्याटिङ गरेका सन्दीपले पहिलो इनिङमा २१ बल खेलेर २ चौका र ४ छक्का हिर्काएका थिए। दोस्रो इनिङमा उनले १९ बलमा १ चौका र २ छक्का प्रहार गरेका थिए।
सन्दीप खेलमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बने। उनले ६ छक्का प्रहार गरे। सन्दीप बाहेक सोमपालले दोस्रो इनिङमा एक छक्का हिर्काएका थिए।
एमसिसीको तर्फबाट ३ छक्का मात्र प्रहार भएको थियो।
खेलपछि कुरा गर्दै सन्दीपले नेपाली टिममा अनुभवको कमी देखिएको बताए।
'शरद र सोमपालबाहेक अन्यले पहिलो श्रेणीको क्रिकेट खेलेका थिएनन्। सबैलाई धेरै सिक्ने अवसर थियो,' सन्दीपले भने, 'अनुभव नभएकाले राम्रो गर्न सकेनौ।'
नेपालले तीनदिवसीय खेलका लागि बनाएको योजना लागू हुन नसकेको उनको भनाइ छ।
उनले त्रिवी मैदानको विकेट ब्याटिङका लागि राम्रो भएको बताए।
पहिलो इनिङमा सन्दीप मैदान छिर्दा नेपालले ८ विकेट गुमाएर १११ रन थियो। जसका कारण नेपाल फलोअनको दबाबमा थियो। सन्दीपको ब्याटिङले नेपाल फलोअनबाट जोडिएको थियो।
'टिमका लागि जसरी फाइदा हुन्छ त्यसरि ब्याटिङ गरे,' उनले भने, 'पहिलो इनिङमा फलोअनमा नपर्नका लागि ब्याटिङ गरेको थिए। विकेट गइरहेको थियो त्यो बेलमा जति हुनसक्छ स्कोरलाई गति दिउ भन्ने थियो। क्रिजमा रहेका ललितलाई इनिङ होल्ड गरेर बस्न भनेको थिएँ।'
दोस्रो इनिङमा पनि टिमलाई योगदान गर्न ब्याटिङ गरेको भन्दै उनले भने, 'जुन बेल आफ्नो क्षेत्रमा बल पाउछौ त्यसमा बाउन्ड्री हान्ने अनि स्ट्राइङ रोटेड गरिराख्ने योजना थियो।'
सन्दीपले पहिलो इनिङमा ३ विकेट लिए पनि दोस्रो इनिङमा भने विकेट लिन सकेनन्। उनले पहिलो इनिङमा २७ ओभरमा ३ मेडन राखेर ८४ रन खर्चिएका थिए। दोस्रो इनिङमा भने उनले ६ ओभरमा २९ रन खर्चिए।
'पहिलो इनिङमा राम्रो फिल्ड सेट गरेर सिंगलमै रोक्ने योजना थियो। दोस्रो इनिङमा भने हामी सफल हुन सकेनौ। जसले गर्दा चाहिएको बेला विकेट लिन सकिएन,' उनले भने।