लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक टिनु योहान्नान नियुक्त भएका छन्। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि दिनु योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो।
४६ वर्षीय टिनुसँग रणजी ट्रफीमा विभिन्न टिमको प्रशिक्षक भएको अनुभव छ। उनले सन् २०२० देखि २०२३ सम्म केरला क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए। उनको प्रशिक्षणमा केरला विजय हजारे ट्रफीमा दुई पटक क्वाटरफाइनल पुगेको थियो।
उनले सन् २०१७ मैं केरलाको बलिङ प्रशिक्षक र अन्तरिम प्रशिक्षकको रुपमा समेत काम गरेका थिए। यस्तै सन् २०२० मा केरला क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्नुअघि उनले केरला क्रिकेट एकेडेमीको हाई पर्फरमेन्स सेन्टरमा निर्देशकको भूमिकामा काम गरेका थिए।
यस्तै पछिल्ली पटक सन् २०२४-२५ सिजनमा उनले आन्ध्र क्रिकेट टिमको मुख्य प्रशिक्षकको भूमिकामा थिए। टिनुले यस वर्षको सुरुमा एमआरएफ पैस फाउण्डेसनमा काम गर्न थालेका थिए यस फाउण्डेसनले भारतका लागि विश्व स्तरीय पेस बलरहरू उत्पादन गर्ने काम गर्दै आएको छ।
भारतीय राष्ट्रिय टिमका पूर्व फास्ट बलरसमेत रहेका टिनुले भारतका लागि समान तीन टेष्ट र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टेष्ट र एकदिवसीय अन्तर्राष्ट्रिय दुवैमा समान ५ विकेट लिएका थिए।
एसियन गेम्स गोल्ड मेडलिस्ट टि सी योहान्नानका छोरा समेत रहेका टिनु केरला स्टेटबाट टेष्ट क्रिकेट खेल्ने पहिलो खेलाडी हुन् ।
उनले सन् २००९ मा इंगल्याण्ड विरुद्ध भारतका लागि टेष्टमा डेब्यु गरेका थिए । यस्तै सन् २००२ मा वैष्टइन्डिज विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए।
यसअघि नै लुम्बिनीले भारतका अनुभवी प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरिसकेको छ। उनीहरूलाई नेपालका शक्ति गौचन र सुबास खकुरेलले साथ दिनेछन्।
नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल लुम्बिनी लायन्सको मार्की खेलाडीको रुपमा छन्। यस्तै लुम्बिनीले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा अष्ट्रेलियन ब्याटर डार्शी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ।