भारतीय क्रिकेटमा रेलवेको जागिर, कडा संघर्ष र त्यसपछिको सफलताका कथाहरू धेरै छन्। तर सनराइजर्स हैदरावादका युवा खेलाडी शिवाङ कुमारको कथा अलि फरक छ। उनको यो यात्रामा दुई पुस्ताको सपना र संघर्ष जोडिएको छ।
उत्तर प्रदेशको मुरादाबादका शिवाङ अहिले मध्य प्रदेशबाट घरेलु क्रिकेट खेल्छन्। उनी आफ्ना बुबा प्रवीण कुमारको त्यो अधुरो सपना पूरा गर्न चाहन्छन्, जुन कहिल्यै पूरा हुन सकेन। शिवाङका बुबा रेलवेमा सिनियर टिकट कलेक्टर हुन्, तर कुनै समय उनी आफैं क्रिकेटर बन्न चाहन्थे।
‘मेरा बुबाले बंगालबाट अन्डर-१९ क्रिकेट खेल्नुभएको थियो। तर पारिवारिक परिस्थितिका कारण उहाँले खेल छाड्नुपर्यो,’ शिवाङ भन्छन्, ‘हामी दुवैको एउटै सपना छ— मैले भारतका लागि खेलूँ। र, आइपिएल त्यो सपनासम्म पुग्ने एउटा ठूलो माध्यम हो।’
एउटा समय यस्तो थियो, जब हार मान्दै शिवाङले १३ वर्षको उमेरमै क्रिकेट खेल्न छाडिदिएका थिए। उनलाई लाग्थ्यो, अब केही हुँदैन। तर उनका दाइले उनलाई महेन्द्र सिंह धोनीको जीवनीमा आधारित फिल्म (बायोपिक) हेर्न सल्लाह दिए।
त्यो फिल्मले उनलाई फेरि मैदानमा फर्किन प्रेरित गर्यो। शिवाङ सम्झिन्छन्, ‘फिल्म हेरेको केही समयपछि मैले फेरि ब्याट समातेँ र एउटा स्थानीय खेलमा ९८ रन बनाएँ। त्यस दिन मलाई महसुस भयो— मैले क्रिकेटलाई छाड्न सक्छु, तर क्रिकेटले मलाई कहिल्यै छाड्ने छैन।’
शिवाङले मध्य प्रदेश लिगमा भोपाल लियोपार्ड्सबाट खेल्दै मात्र ४२ बलमा ९१ रन बनाएर सबैलाई चकित पारेका थिए। त्यसपछि घरेलु क्रिकेटको 'विजय हजारे ट्रफी'मा उनले कर्नाटकविरुद्ध ५ विकेट लिए भने झारखण्डविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरे।
सुरुमा ओपनिङ ब्याटिङ गर्ने शिवाङले पछि आफ्नो बलिङ शैली पनि बदले। उनी भन्छन्, ‘म अरूभन्दा फरक देखिन चाहन्थेँ, त्यसैले मैले बायाँहाते रिस्ट-स्पिन सिक्न थालेँ।’ अहिले उनी एक आक्रामक अलराउन्डरका रूपमा चिनिन्छन्।
आइपिएल २०२६ को अक्सनअघि उनले मुम्बई इन्डियन्स र राजस्थान रोयल्सका लागि ट्रायल दिएका थिए। तर, अचम्मको कुरा के छ भने, दुई पटक बोलाउँदा पनि उनी हैदरावादको ट्रायलमा जान सकेनन्। पहिलो पटक आँधीबेहरीका कारण र दोस्रो पटक विमान कम्पनीको हड्तालका कारण उनको यात्रा रोकियो।
तर उनको प्रतिभामाथि हैदरावादलाई विश्वास थियो। अक्सनमा हैदरावादले उनलाई ३० लाख भारुमा आफ्नो टिममा भित्र्यायो। अहिले उनी विश्वकै महान स्पिनर मुथैया मुरलीधरन र प्रशिक्षक डेनियल भिटोरीबाट सिक्न पाउँदा निकै उत्साहित छन्।
शिवाङका बुबा प्रवीण कुमार अहिले निकै भावुक र खुसी छन्। उनी भन्छन्, ‘जब उनी खेल्न कोलकाता गए, मलाई लाग्यो मेरो अधुरो यात्रा उनले फेरि सुरु गरे। आइपिएल त सुरुवात मात्र हो, मेरो वास्तविक सपना त उनले भारतको जर्सी लगाएर देशका लागि म्याच जिताएको हेर्नु हो।’