नेपाली पर्वतारोहण गाइड एवं उच्च हिमाली क्षेत्रका चलचित्र निर्माता तथा प्रवर्द्धक पासाङ काजी शेर्पाले गत मे २३ मा सगरमाथाको सफल आरोहण गरी विश्वको सर्वोच्च शिखरमा पोखरा एभेन्जर्सको झण्डा फहराएका छन्।
११ अप्रिल २०२६ बाट सुरु भएको अभियान पूरा गर्दै उनले आठौँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरे।
विगतका वर्षहरूमा उनले केटु, चो ओयु, मनास्लु लगायत सात हजार मिटर र छ हजार मिटरका थुप्रै अन्य चुचुराहरूको समेत सफल आरोहण गरिसकेका छन्
उनको यो सफल सगरमाथा आरोहण पोखरा एभेन्जर्स परिवार र देशभरका समर्थकहरूका लागि निकै गर्वको क्षण भएको पोखराको भनाइ छ।
जलवायु परिवर्तन र हिमाली हिमनदीहरूको संरक्षणबारे चेतना जगाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा सगरमाथाको शिखरमा पोखरा एभेन्जर्सको झण्डा फहराइएको थियो।
स्थापना कालदेखि नै नेपाल प्रिमियर लिगमा यो सबैभन्दा बढी मूल्य लागेको फ्रेन्चाइजले नेपाली खेलकुदको भावना र ग्रनसरुट क्रिकेटको विकासलाई प्रवर्द्धन गर्नुका साथै जलवायु परिवर्तन र हिमनदी संरक्षणसँग सम्बन्धित मुद्दाहरूलाई निरन्तर सहयोग गर्दै आएको छ।
‘हामी यो अभियानलाई केवल शिखरमा पुग्ने कुरामा मात्र सीमित नराखी कुनै ठुलो उद्देश्यका लागि समर्पित गर्न चाहन्थ्यौँ। यो हाम्रो हिमनदी संरक्षणको महत्त्व बुझाउन र जलवायु परिवर्तनबारे चेतना जगाउनुका साथै क्रिकेटको विकासलाई प्रोत्साहन गर्ने एउटा आह्वान हो,’ अध्यक्ष सुबोध त्रिपाठीले भने।