आईपीएल २०२६ को क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु जित निकाल्दै फाइनलमा पुगेको छ।
धर्मशालामा मंगलबार भएको पहिलो क्वालिफायर खेलमा बेंगलुरुले गुजरात टाइटन्सविरुद्ध ९२ रनको जितसहित ऐतिहासिक प्रदर्शन गरेको हो।
आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रन बनायो, जुन आईपीएलको कुनै पनि प्लेअफ वा नकआउट खेलमा बनेको अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो।
यस्ता छन् खेलका मुख्य कीर्तिमान:
• प्लेअफको सबैभन्दा ठूलो स्कोर: आरसीबीको २५४ रनको योगफल आईपीएल प्लेअफ इतिहासकै उच्च हो। यसअघि यो रेकर्ड गुजरात टाइटन्सकै नाममा (२३३ रन) थियो, जुन उसले ३ वर्षअघि मुम्बई इन्डियन्स विरुद्ध बनाएको थियो।
• आरसीबीको विष्फोटक ब्याटिङ: आईपीएलमा आरसीबीले २५० भन्दा बढी रन बनाएको यो चौथो पटक हो। यो सूचीमा सनराइजर्स हैदराबाद (६ पटक) मात्र आरसीबी भन्दा अगाडि छ।
• अन्तिम ६ ओभरको ताण्डव: आरसीबीले खेलको अन्तिम ६ ओभरमा मात्र ११४ रन जोड्यो। यो आईपीएलको अन्तिम ६ ओभरमा बनेको दोस्रो ठूलो स्कोर हो।
कप्तान रजत पाटीदारको जादुमयी पारी
आरसीबीका कप्तान रजत पाटीदारले मैदानमा चौका र छक्काको वर्षा गरे। उनले मात्र ३३ बलमा अविजित ९३ रन बनाए।
• उनको स्ट्राइक रेट २८१.८१ रह्यो, जुन आईपीएलमा ५० भन्दा बढी रन बनाउने कुनै पनि कप्तानको अहिलेसम्मकै उच्च स्ट्राइक रेट हो।
• उनको ९३ रनको पारीमा मात्र एउटा बल 'डट' (रन नबनेको) भएको थियो।
• उनले आफ्नो पारीमा ९ वटा विशाल छक्का प्रहार गरे। प्लेअफ खेलमा यो दोस्रो धेरै छक्काको रेकर्ड हो।
गुजरातका बलर राबाडाको 'मिठो-नमिठो' रेकर्ड
गुजरात टाइटन्सका बलर कागिसो राबाडाले यो सिजनको पावरप्ले (सुरुवाती ओभर) मा १८ विकेट लिएर नयाँ कीर्तिमान बनाए।
तर, अर्कोतिर उनी निकै महँगो पनि सावित भए। उनले यो सिजनभरि ३५ वटा छक्का खाए, जुन आईपीएलको एकै सिजनमा कुनै पनि बलरले खाएको सबैभन्दा धेरै छक्का हो।
सिजनकै सफल टोली
आरसीबीले यो सिजन (२०२६) मा मात्रै ९ पटक २०० भन्दा बढी रन बनाइसकेको छ। यो कुनै पनि एउटै टुर्नामेन्टमा कुनै टोलीले बनाएको सबैभन्दा धेरै २००+ स्कोरको कीर्तिमान (हैदराबाद र पञ्जाबको बराबर) हो।
यस जितसँगै आरसीबीले फाइनलका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ भने गुजरात टाइटन्स पहिलो पटक २५० भन्दा बढी रन खाएर दबाबमा परेको छ।