एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।
बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको हो।
नेपालले दिएको १२६ रनकव लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेटको क्षतिमा १०६ रन बनायो।
चीनका लागि कप्तान जु मिंगेले ३० रन बनाइन्। बलिङमा नेपालकी रिया शर्माले २ विकेट हात पार्दा मनिषा उपाध्याय, कविता कुँवर र पूजा महतोले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनायो।
नेपालका लागि उपकप्तान पूजा महतोले ६३ रनको योगदान गरिन्। उनले ५७ बल खेलेर ६ चौका प्रहार गरिन्।
पूजासँग ओपनिङ गरेकी सम्झना खड्का ४ रनमा आउट भइन भने सोनी पाख्रिनले १८ रन जोड्न सकिन्।
रुबी पोद्दारले नटआउट २२ रन बनाएकी थिइन्।
बलिङमा चीनकी मा रुइकेले २ विकेट लिइन्।
समूहमा नेपालले दोस्रो तथा अन्तिम खेलमा इन्डोनेसियासँग भोलि प्रतिस्पर्धा गर्नेछ।
अर्को समूहमा थाइल्यान्ड, आयोजक मलेसिया र हङकङ छन्।
दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टोली र तेस्रो हुने एक टोली गरी तीन टोली आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्समा छनोट हुनेछ।