इंग्लिस प्रिमियर लिग (इपिएल)को चर्चित क्लब आर्सनलका नेपालमा रहेका समर्थकहरुको समूह ‘आर्सनल नेपाल’ स्थापना भएको १० वर्ष पूरा भएर एघारौं वर्षमा लागेको छ।
सन् २००९ मा बसन्तपुरमा भेला भएका ५० जना समर्थकबाट सुरु भएको आर्सनल नेपाल १० वर्षसम्म आइपुग्दा ३००० जनाभन्दा बढी सदस्य समेट्न सफल भएको छ।
आर्सनल नेपाल लण्डनस्थित आर्सनल फुटबल क्लबबाट आधिकारिकता पाएको फ्यान क्लब हो। यससँगै आर्सनल नेपाल आधिकारिक मान्यता प्राप्त नेपालको सबैभन्दा पुरानो फ्यानक्लब भएको छ। साधारण सभाले सर्वसम्मतिमा नयाँ कार्यसमिति पनि चयन गरेको छ।
अध्यक्षमा नविन चित्रकार पुनः चयन भए भने निरोज खतिवडालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ। यस्तै, महासचिवमा सविनकुमार श्रेष्ठ चयन हुँदा इन्जल भट्टराईले कोषाध्यक्षको जिम्मेवारी पाएका छन्।
कार्यसमिति सदस्यमा सरिता खड्गी, एलिना शाह ठकुरी, प्रशंसा पौडल र समिक्षा कट्वाल मनोनित भएका छन्। आर्सनल नेपालले वर्षभरि गरिने सम्पूर्ण कार्यक्रम संयोजनको अभिभारा आभाष आचार्य र कालिन्द सापकोटालाई साधारण सभामार्फत दिएको छ।
साधारण सभामा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, मिस एसिया प्यासिफिक नेपाल साहरा बस्नेत, वैज्ञानिक तथा कलाकार समिरमणी दिक्षित र चलचित्र निर्देशक सौरभ चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा आधिकारिक सदस्यता वितरण गर्नुका साथै सबै सदस्यलाई परिचयपत्र, जर्सीलगायत अन्य उपहार र मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा बोल्दै उपकप्तान मल्ले चाहनाका बावजुद पनि व्यस्तताका कारण आर्सनल नेपालका कार्यक्रममा उपस्थिति जनाउन नसकेको खेद प्रकट गरेका थिए । मल्ले आर्सनल नेपालको १०औं वार्षिकोत्सव विशेष जर्सी पनि सार्वजनिक गरेका थिए।