कोरोना भाइरसका कारण रोकिएको स्पेनिस ला लिगा आगामी शुक्रबारदेखि सुचारू हुँदैछ।
लिग लिडर बार्सिलोनाले भने आइतबार मालोर्कासँग कोरोना भाइरसपछिको पहिलो खेल खेल्दैछ।
यो सिजन बार्सिलोनाले ला लिगासँगै युरोपियन च्याम्पियन्स लिग जित्ने लक्ष्य बनाएको छ। दुवै प्रतियोगिता जित्न कप्तान लिओनल मेसीको भूमीका महत्वपूर्ण हुनेछ।
सिजनमा उत्कृष्ट खेल देखाएमा मेसीले दुई व्यक्तिगत रेकर्ड बनाउनेछन्। उपाधि जितेमा रेकर्ड संख्या बढ्न सक्नेछ।
मेसीसामू लगातार सातौं सिजन ला लिगाको सर्वाधिक गोलकर्ता बन्ने अवसर छ।
मेसीले सिजनमा अहिलेसम्म १९ गोल गरेका छन्। उनको यो गोल रियल म्याड्रिडका करिम बेन्जिमाभन्दा ५ गोल बढी हो।
यो सिजन ला लिगाको सर्वाधिक गोलकर्ता बनेमा मेसीले बढी सिजनमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाउनेछन्। यसअघि मेसीले ६ सिजनमा सर्वाधिक गोलकर्ता बनेर जाराको कीर्तिमानसँग बराबरी गरेका थिए।
ब्राजिलियन लिजेन्ड पेलेले सन्तोस क्लबका लागि ६४३ गोल गरेका थिए। उनी एकै क्लबका लागि बढी गोल गर्ने खेलाडी हुन्।
पेलेको यो कीर्तिमान नजिक मेसी छन्। मेसीले बार्सिलोनाका लागि अहिलेसम्म ६२७ गोल गरिसकेका छन्। पेलेलाई भेट्टाउन १६ गोल टाढा रहेका मेसीले सिजनमा कम्तिमा १२ खेल खेल्न सक्नेछन्।
बार्सिलोनाले ला लिगा र युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको अवस्थामा मेसीले थप रेकर्ड बनाउनेछन्।
च्याम्पियन्स लिग जितेमा मेसी बढी युरोपियन प्रतियोगिताको उपाधि उचाल्ने दोस्रो खेलाडी हुनेछन्। उनले पाँचौ पटक उपाधि उचाल्नेछन्।
ला लिगा जितेमा मेसीले १२ वर्षमा नवौं र १६ वर्षमा एघारौं उपाधि उचाल्नेछन्।
सर्वाधिक उपाधि जित्ने म्यानचेस्टर युनाइटेडका रायन गिग्सको नाममा रहेको रेकर्ड पनि मेसीले बराबरी गर्नेछन्। मेसीले अहिलेसम्म ३४ उपाधि उचाल्दा गिग्सले ३६ उपाधि जितेका थिए।