फुटबल खेल्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका नेपाली राष्ट्रिय खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को गेटमा बिहीबार आफ्नो पदक झुन्ड्याए। अनि ती पदकहरू त्यहीँ छाडेर उनीहरूले एक साताभित्र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिए।
खेलाडीहरू फुटबल खेल्नबाट वञ्चित गर्न नहुने मागसहित बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुगेका थिए।
उनीहरूले ‘ए’ डिभिजन लिगसहितका विभिन्न गतिविधि निरन्तर नहुँदा खेलाडीलाई गम्भीर असर परेको प्लेकार्ड बोकेका थिए।
उनीहरूले ‘सेभ नेपाली फुटबल, लाज लाग्दैन एन्फा?, फुटबल भन्छौँ दिनरात–खेल नहुँदा पाक्दैन भात, जीवभर फुटबल सिक्ने–खेल्न नपाए कसरी टिक्ने?, मैदानभित्र र बाहिर फेयर प्ले, एन्फाको ध्यान भ्रमण र नोट–नखेली खेलाडीले पाउँदैनन् नोट’ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।
तर एन्फा कम्प्लेक्समा प्रवेश गर्न नपाएपछि उनीहरूले विरोधस्वरूप प्राप्त पदकहरू गेटमा झुन्ड्याएर एक सातासम्म माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिए।
-1762411345.jpg)
धर्ना कार्यक्रम घोषणा भएपछि बिहानैदेखि एन्फा परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।
निर्धारित समयअनुसार एन्फा पुगेर विरोध गरेका खेलाडीको आन्दोलनमा विभिन्न सरोकारवालाहरूले पनि ऐक्यबद्धता जनाएका छन्।
एन्फा र १४ वटा शीर्ष डिभिजन क्लबबीच यसै साता भएको छलफलबाट यो वर्ष ‘ए’ डिभिजन लिग नगर्ने सहमति भएको थियो।
नेपाल फुटबल खेलाडी संघका अध्यक्ष तथा नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य विक्रम लामाले साढे दुई वर्षदेखि नेपालमा शीर्ष डिभिजन फुटबल हुन नसकेको र यसले खेलाडीहरू खेल्नबाट वञ्चित हुनुपरेकोले विरोधमा उत्रनु परेको बताए। शान्तिपूर्ण धर्नामा एन्फाले गेटभित्र छिर्नै नदिएको भन्दै उनी रुष्ट बने।
“फुटबल गतिविधि नै नहुनु ठूलो बेथिति हो,” खेलाडीहरूको भनाइ छ। विक्रम लामाले २०-२२ वर्ष घरेलु फुटबलमा बिताउँदा जम्मा ९ वटा मात्र शीर्ष डिभिजन लिग खेल्न पाएको बताए।
उनले राम्रो गर्न सक्ने उमेरमा १०-११ सिजन गुमाउनु परेको र अहिले पनि २-३ वर्षदेखि लिग नहुँदा धेरै खेलाडीले यस्तै पीडा भोगिरहेको उल्लेख गरे। “एन्फाले माग नसुने आन्दोलनको रूप बढ्दै जानेछ, तर शान्तिपूर्ण नै रहनेछ,” खेलाडीहरूले प्रतिबद्धता जनाएका छन्।
-1762411337.jpg)
आगामी पुस्ताले फुटबल खेल्ने राम्रो वातावरण पाओस् भन्ने उद्देश्यले यो आन्दोलन गरिएको लामाले स्पष्ट पारे।
अहिले राष्ट्रिय लिग मात्र गर्ने र ‘ए’ डिभिजन लिग अर्को वर्ष मात्र हुने निर्णय भएपछि हाल राष्ट्रिय टोलीमा रहेका खेलाडी समेत विरोधमा सहभागी भए।
एन्फा लिगबाट भाग्न खोजेको र यो वर्षै लिग हुनुपर्ने उनीहरूको मुख्य माग छ। आन्दोलनमा जेन-जी युवा, पूर्वखेलाडी र प्रशिक्षकहरूले पनि ऐक्यबद्धता जनाएका छन्।
नेपाली राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्टले लिग नहुँदा आफ्नै दाइसहित धेरै खेलाडी पलायन हुनुपरेको बताए। आजदेखि राष्ट्रिय टोलीको क्याम्प सुरु भए पनि पछिल्लो दुई वर्ष लिग नहुँदा धेरै दुःख भोगेको उनले सुनाए। बङ्गलादेशमा लिग खेलिरहेकाले आफूलाई भने गाह्रो नभए पनि अन्य साथीहरूको पीडा राम्ररी बुझेको उनको भनाइ छ। “मुख्य लिग नै नहुनु धेरै पीडादायी कुरा हो, एन्फाले पनि बुझ्नेछ भन्ने आशा छ,” अञ्जनले भने।
राष्ट्रिय टोलीका डिफेन्डर रोहित चन्द र गोलकिपर विशाल श्रेष्ठले फुटबल गतिविधि राम्रोसँग अगाडि बढाएर आगामी पुस्ताका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे।
विशालले ‘खेलाडीका लागि बोल्नैपर्छ भनेर एन्फाको गेटसम्म आएको’ बताए। १६ वर्ष घरेलु फुटबलमा बिताउँदा जम्मा ७-८ वटा मात्र शीर्ष डिभिजन लिग खेल्न पाएको भन्दै उनले पीडा पोखे।
खेलाडीहरू आन्दोलनमा पुग्दा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई फुटबल प्रतियोगिताका लागि काठमाडौँ बाहिर थिए। सोमबार बसेको एन्फा र क्लबहरूको बैठकबाट यो वर्ष शीर्ष डिभिजनको सट्टा राष्ट्रिय लिग मात्र गर्ने सहमति जुटेको थियो। त्यसैको विरोधमा खेलाडीहरू सडकमा उत्रिएका हुन्। पछिल्लो पटक २०७९ सालमा मात्र शीर्ष डिभिजन लिग भएको थियो। एन्फाभित्रको आन्तरिक राजनीतिका कारण त्यसयता लिग हुन सकेको छैन।