कोरोना भाइरसका कारण विश्व फुटबलले १४.४ बिलियन अमेरिकी डलर (१६ खर्ब ९१ अर्ब ९५ करोड बढी रुपैयाँ) घाटा बेहोरेको विश्लेषण गरिएको छ।
यो रकम नेपालको चालु आर्थिक वर्षको कुल बजेट भन्दा २ खर्ब रुपैयाँ बढी हो।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनाका कारण फुटबलमा परेको असरबारे विश्लेषण गरेको हो।
फिफाले आफ्ना २११ सदस्य संघ मध्ये १५० सदस्यले आपतकालिन कोभिड सहायताका लागि निवेदन दिएका छन्।
दुई तिहाई बढी सदस्यले निवेदन दिएपछि फिफा एक्लैले मात्र समस्या समाधान गर्न नसक्ने स्थिति रहेको एक कार्यकारी सदस्यले बताएका छन्।
१४.४ बिलियन अमेरिकी डलर घाटा बेहोर्नुको प्रमुख कारण क्लब फुटबल र अन्तर्राष्ट्रिय फुटबल ठप्प हुनुलाई लिइएको छ। कतिपय देशमा फुटबल सुचारू भए पनि आर्थिक पक्षमा सोचे झैं सुधार आएको छैन।
'समग्रमा ठूलो मात्रमा फुटबलको अर्थलाई असर गरेको छ,' फिफा कोभिड-१९ सहायता योजना समितिका अध्यक्ष ओली रेनले भने,'ठ्याक्कै कति घाटा भएको भन्न सकिन्न। त्यसैले २११ सदस्यले बेहोरेको घाटाको आँकलन गरिएको हो।'
फिफाका अनुसार युरोपियन क्लबले बढी घाटा बेहोरेका छन्। ल्याटिन अमेरिकामा ब्राजिल सबैभन्दा बढी प्रभावित भएको देखिएको छ।
यसअघि फिफाले कोरोनाले असर गरेपछि १.५ बिलियन अमेरिकी डलरको राहत घोषणा गरेको थियो। जसमा एक देशले १.५ मिलियन अमेरिकी डलरसम्म पाउने उल्लेख छ।
कोरोनाका कारण नेपालमा पनि फुटबल गतिविधि ठप्प छ। बी डिभिजन लिग बीचैमा स्थिति भएको अवस्थामा छ भने सिजनको ए डिभिजन लिग कहिले हुन्छ यकिन छैन।
यस्तै फिफा विश्वकप छनोटका खेल पनि अनिश्चित बनेको अवस्था छ।