जर्मन क्लब बोरुसिया डर्टमन्डले क्लब विश्वकपको अन्तिम १६ मा मेक्सिकन क्लब मोन्टेरीलाई २-१ गोलले पराजित गरेसँगै क्वार्टफइनलमा स्थान बनायो।
अब डर्टमन्डले सेमिफाइनल पुग्न स्पेनिस क्लब रियल म्याड्रिडसँग भिड्नेछ। यो खेलमा इंग्ल्यान्डका दुई दाजुभाइ बेलिङघमबीच पहिलो पटक औपचारिक प्रतियोगितामा एक अर्काविरूद्ध भिड्ने तय समेत थियो।
तर डर्टमन्डका युवा स्टार जोब बेलिङघमले दुई खेलमा पहेँलो कार्डका कारण निलम्बनमा परेपछि आफ्नै दाजु जुड बेलिङघम आबद्ध रियलविरुद्धको बहुप्रतिक्षित क्वार्टरफाइनल खेल गुमाउने भएका छन्।
मोन्टेरीविरुद्धको खेलको पहिलो हाफमा नेल्सन डिओसामाथि फल गरेपछि १९ वर्षीय जोबले पहेँलो कार्ड पाएका थिए। यसअघि समूह चरणमा उल्सान एचडीविरुद्ध पनि पहेँलो कार्ड पाएकाले क्लब विश्वकपको नियमअनुसार उनी एक खेलका लागि निलम्बित भएका हुन्।
प्रतियोगितामा दुई फरक खेलमा पहेँलो कार्ड पाएमा खेलाडीले एक खेलको प्रतिबन्ध सामना गर्नुपर्छ र यो गणना क्वार्टरफाइनलपछि मात्र सकिन्छ।
रियलले भने युभेन्टसलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।
रियलले यसै सिजन जाबी अलन्सोलाई प्रशिक्षकमा नियुक्त गरेको थियो। अलन्सोले बायर लेभरकुसेनलाई २०२३-२४ को बुन्डेसलिगा उपाधि जिताएका थिए।