आगामी वैशाखमा नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिता हुने भएको छ।
नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा आगामी वैशाख ११ देखि २५ गते सम्म एनएसएल हुने भएको हो। राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताका खेलहरू दशरथ रंगशालामा हुनेछन्।
एनएसएलमा सात प्रदेशको प्रतिनिधित्व गर्ने सात सहरका टिमबीच प्रतिस्पर्धा हुने आयोजकको भनाइ छ। आयोजकले विभिन्न प्रदेशहरूबाट प्रतिनिधित्व गर्ने सहररुको फ्रेञ्चाइज टिमको घोषणा गर्ने जनाएको छ। टिमको नाम र टिम मालिकको जानकारी यहि महिनाभित्र सार्वजनिक गर्ने बताइएको छ।
अक्सनको माध्यमबाट खेलाडी छनोट गरेर टिम बनाइनेछ। हरेक टिममा २० जना खेलाडी हुनेछन्। जसमा तीन जना विदेशी खेलाडी राख्न पाइनेछ। प्लेइङ-११ मा दुई जना विदेशी खेलाडीले मात्र खेल्न पाउने आयोजकको भनाइ छ।
अक्सनका लागि नेपालका खेलाडीलाई ए, बी, सी र डी श्रेणीमा विभाजन गरिनेछ। जसमा प्रत्येक श्रेणीको कोटा निर्धारण गरिनेछ।
एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई क्लबले रिलिज गर्ने बताए। उनका अनुसार लिग हुने समयमा अन्य प्रतियोगिता हुनेछैन।
सहिद स्मारक ए डिभिजन लिग नै नेपालको शीर्ष डिभिजनको लिग हुने एन्फाको भनाइ छ।
लिगबाट हुने नाफा नेपाली फुटबलको विकासमा खर्च हुने शेर्पाले बताए। तर एन्फा र आयोजकबीच नाफाको कति रकम फुटबलको विकासमा खर्च हुने खुलाइएको छैन।