युरो २०२० फुटबल प्रतियोगिता आजदेखि सुरू हुँदैछ।
उद्घाटन खेलमा आज मध्य रात १२:४५ बजे टर्की र इटालीबीच प्रतिस्पर्धा हुँदैछ।
खेल इटालीको रोमस्थित ओलम्पिक रंगशालामा हुनेछ।
समूह चरणका खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे, राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्।
अन्तिम १६ र क्वार्टरफाइनल खेल राति ९:४५ बजे र मध्यरात १२:४५ बजे हुनेछन्।
सेमिफाइनल र फाइनल खेल मध्यरात १२:४५ बजे हुनेछ।
प्रतियोगिता ११ देशका ११ शहरमा आयोजना हुँदैछ।
सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो।
तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारेर यहीँ जुन ११ देखि जुलाई ११ सम्म आयोजना गर्न लागिएको हो।
एक वर्ष सारेर सन् २०२१ मा प्रतियोगिता आयोजना गर्न लागिए पनि नाम 'युइएफए युरो २०२०' नै राखिएको छ।
पोर्चुगल युरो कपको साविक विजेता हो। सन् २०१६ मा उपाधि जित्ने क्रममा पोर्चुगलले फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो।
युरो कपमा पहिलो पटक भिएआर प्रयोग हुँदैछ।
कोरोना कारण युरो २०२० मा केही नियम परिवर्तन गरिएको छ। एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ। खेल अतिरिक्त समयमा धकेलिएको अवस्थामा थप एक खेलाडी परिवर्तन गर्न पाइने नियम बनाइएको छ। नियमित समयमा तीन पटक मात्र खेलाडी परिवर्तन गर्न पाइनेछ। अतिरिक्त समय एक पटक खेलाडी परिवर्तन गर्न पाइनेछ।
युरो कपमा लागि एक टिममा २६ खेलाडी राख्न पाइने नयाँ नियम बनाइएको छ। यसअघि एक टिमले २३ खेलाडी मात्र राख्न पाउथे।
युरो २०२० मा २४ टिमबीच प्रतिस्पर्धा हुँदैछ। जसमध्ये १९ टिम अघिल्लो संस्करण खेलेका छन्।
फिनल्यान्ड र नर्थ म्यासेडोनिया पहिलो पटक युरो कप खेल्दैछन्। स्कटल्यान्ड सन् १९९८ को विश्वकप पछि पहिलो मुख्य प्रतियोगिता खेल्दैछ।
अघिल्लो संस्करणमा छनोट हुन नसकेका नेदरल्यान्ड्स र डेनमार्क यसपटक युरो कपमा फर्किएका छन्।
नेदरल्यान्ड्स २०१४ को विश्वकपछि पहिलो पटक मुख्य प्रतियोगिता खेल्दैछ।
युरो कपको पूर्व विजेता मध्ये ग्रिस मात्र यो प्रतियोगिता सहभागी छैन। २००४ को विजेता ग्रिस छनोट पार गर्न असफल भएको थियो।
सन् २०१६ को युरो कप खेलेका अल्बानिया, आइसल्यान्ड, उत्तरी आयरल्यान्ड, आयरल्यान्ड गणतन्त्र र रोमानिया युरो २०२० मा छनोट हुन सकेनन्।
११ वटा आयोजक देश मध्ये सात देशले युरो कपको छनोट सिधा पार गरेका थिए। हंगेरी र स्कटल्यान्डले प्लेअफ जितेका थिए। आयोजक देश मध्ये रोमानिया र अजरबैजान भने छनोट हुन असफल भए।
समूह चरणका खेलमध्ये समूह 'ए' का खेल अजरबैजानको बाकु र इटालीको रोममा हुनेछन्। समूह 'बी' का खेल डेनमार्कको कोपनहगेन र रसियाको सेन्ट पिटर्सवर्गमा हुनेछन्।
समूह 'सी' का खेल नेदरल्यान्ड्सको आम्स्टर्डम र रोमानियाको बुचारेस्टमा हुँदा समूह 'डी' का खेल इंग्ल्यान्डको लन्डन र स्कटल्यान्डको ग्लाजगोमा हुनेछन्।
यस्तै स्पेनको सेभिया र रसियाको पिटर्सवर्गमा समूह 'ई' का खेल हुनेछन्। समूह 'एफ' का खेल जर्मनीको म्युनिखमा र हंगेरीको बुडापेस्टमा आयोजना हुनेछन्।
खेलमा सीमित दर्शकलाई मात्र प्रवेश दिइनेछ। प्रत्येक देशमा समूह चरणका तीन खेल र अन्तिम १६ वा क्वार्टरफाइनलको एक खेल हुनेछन्।
सेमिफाइनल र फाइनल लन्डनमा हुनेछ।
६ समूहका शीर्ष दुई टिम गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन्। समूहमा तेस्रो हुने मध्ये उत्कृष्ट ४ टिम पनि अन्तिम १६ मा पुग्नेछन्।
युरो २०२० का लागि दक्षिण एसियाको प्रशारण अधिकार सोनी पिक्चर्स नेटवर्कले पाएको छ। नेपाली दर्शकले सोनी टेलिभिजनबाट युरो २०२० को प्रत्यक्ष प्रशारण हेर्न सक्नेछन्।
समूह ए : टर्की, इटाली, वेल्स, स्विट्जरल्यान्ड
समूह बी : डेनमार्क, फिनल्यान्ड, बेल्जियम, रसिया
समूह सी : नेदरल्यान्ड्स, युक्रेन, अस्ट्रिया, नर्थ म्यासेडोनिया
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया, स्कटल्यान्ड, चेक गणतन्त्र
समूह ई : स्पेन, स्विडेन, पोल्यान्ड, स्लोभाकिया
समूह एफ : हंगेरी, पोर्चुगल, फ्रान्स, जर्मनी