चिलीले कोपा अमेरिका कपमा पहिलो जित दर्ता गरेको छ। शनिबार बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० ले हराएको हो।
एरिना पान्टानल कुइवा, मान्टो ग्रासो ब्राजिलमा भएको खेलमा चिलीको जितमा पहिलो हाफमा बिन ब्रेरेटनले गरेको गोल नै निर्णायक बन्यो।
खेलको १०औं मिनेटमा बिन ब्रेरेटनले गोल गर्दै चिलीलाई १–० को अग्रता दिलाए। उनले इडुआर्डा भार्गासको पासमा गोल गरेका थिए ।
त्यसपछि दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भए पनि सदुपयोग हुन सकेनन्।
चिलीले बल पोसेसनमा पकड बनाएपनि थप गोल गर्न सकेन। बोलिभियाले रक्षात्मक खेल्दै काउन्टर अट्याकमा प्रयास गरेपनि सफल हुन सकेन।
चिलीले पहिलो खेलमा अर्जेन्टिनासँग १–१ गोलको बराबरी खेलेको थियो। बोलिभियाको यो लगातार दोस्रो हार हो । यसअघि बोलिभिया पाराग्वेसँग ३–१ ले पराजित भएको थियो ।
जितपछि समूह ‘ए’ मा चिलीको दुई खेलबाट ४ अंक पुगेको छ। बोलिभिया अंकविहीन हुदै पुछारमा छ । पाराग्वेको ३ तथा अर्जेन्टिनाको १ अंक छ । उरूग्वेले एक खेल पनि खेलेको छैन। अहिले अर्जेन्टिना र उरुग्वे प्रतिस्पर्धा गर्दैछन्।