नविल बैंकको ३६ औं वार्षिक साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम लाभांश पारित गरेको छ।
राष्ट्र बैंकको स्वीकृति अनुसार गत आवको मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको हो। नविलले विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै आएको छ।
यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्दै संचालक समितिमा अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका छन्।
आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ।
बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब पुर्याएको छ। समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पू“जी यस वर्ष १३ अर्ब ४८ करोड नाघेको छ।
साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष उपेन्द्र पौड्यालले भने ‘नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायिक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित छौं।’
ठूलो सँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा रहेको उनले बताए। बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ। बैंकले स्थापनाकाल देखि हालसम्म २१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ।
नविल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा सेवा विस्तार गरेको छ।